Goraksha

National Daily

कोरोना सचेतना : एक्सनमा विजौरी उवासंघ, कालोबजारी गरे कारवाही

विजौरी, २३ चैत । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रहगर्दै उपभोक्ताहरुको खाद्य अधिकारलाई समेत व्यवस्थित गर्ने उदेश्यले आइतवार विजौरी उद्योग वाणिज्यसंघ एक्सनमा उत्रिएको छ । त्यसक्रममा उद्योगवाणिज्य संघको कार्यक्षेत्रभित्रका बजार अनुगमन गरिएको छ । विजौरी उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय प्रहरी तथा सन्चारकर्मीहरुको संयुक्त टोलिले विजौरी उद्योग वाणिज्यसंघ माताहतका बजार क्षेत्रको अनुगमन गरिएको हो । त्यसक्रममा उपभोक्तालाई चर्को मुल्यमा सामान विक्रिवितरण गरेको पाइएमा तत्काल कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
अनुगमनका क्रममा विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, उपाध्यक्ष वालकृष्ण रेग्मी, महासचिव विदुर गौतम, सदस्यहरु रेश्मीराज खड्का, शिव खत्री, इलाका प्रहरी कार्यालय हेमन्तपुरका प्रमुख सइ इन्द्र पाल, पत्रकार महासंघ दाङका सदस्य राकेश बस्नेत, पत्रकारहरु शुनिल पोख्रेल, खेमराज रिजाललगायतको टोलि सहभागी थिए । अनुगमनका क्रममा बजारमा तोकिएको समयमा मात्र दैनिक उपभोग्य सामाग्रिहरुको बेचविखन गर्ने, यसरी बेचविखन गर्दा भिडभाड नहुनेगरी सामाजिक दुरी कायम गर्ने, किनमेलमा आउंदा सवारीसाधनको प्रयोग नगर्ने विषयमा उपभोक्ता र व्यापारीहरुलाई सुझाव दिइएको थियो ।
त्यसैगरी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बजार सरसफाइमा ध्यान दिने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, तोकिएको मुल्यमा दैनिक उपभोग्य सामाग्रिहरुको विक्रिवितरण गर्ने, सामान लुकाएर कालोबजारी नगराउनेलगायतका विषयमा व्यवसायीहरुलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक उपभोग्य अत्यावस्यक सामाग्रिहरु वाहेक अन्य व्यवसाय लकडाउन अवधिभर बन्द गर्न समेत व्यवसायीहरुलाई आग्रह गरिएको थियो ।
लकडाउन अवधिभर अनलाइन मिटिङ
यसैबीच विश्वव्यापी महामारीकै सन्दर्भमा विजौरी उद्योग वाणिज्यसंघले लकडाउन अवधिभर अनलाइन मिटिङ गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्ने उदेश्यले भेटघाट र जमघटलाई अन्त्यगर्न अनलाइन मिटिङगर्ने निर्णय भएको विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगीले बताए ।
कार्यसमितिका सवै पदाधिकारी एवं सदस्यहरुको फेसबुक पेज खोलिसकिएको जानकारी दिंदै अध्यक्ष योगीले सवैले तोकिएको समयमा अनलाइनमा आएर अआफ्ना धारणा व्यक्त गर्ने व्यवस्थापन मिलाइएको बताएका छन् । ‘आवस्यक परेको समयमा भिडिओ कन्फेरेन्स समेत गर्न उद्योग वाणिज्यसंघ प्राविधिक रुपले तयार छ’, योगीले भने । संघको यसअघिको बैठकले विजौरीको मुख्य बजारलाई लक्षित गरी फ्रि वाइफाइ सेवा समेत सन्चालनमा ल्याइसकेको विजौरी उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिएका छन् । उद्योग वाणिज्य संघको कार्यालयमा जोडिएको फ्रि वाइफाइले कम्तिमा एक किमिको दुरी क्याच गर्ने बताइएको छ ।
लकडाउन अवधिभर भाडा मिनाहा
यसैबीच विजौरी उद्योग वाणिज्यसंघको हालै बसेको कार्यसमिति बैठकले गरेको निर्णयसंगै तुलसीपुर उपमहानगरपालिका—१८ दुधरास निवासी नेपाल प्रहरीका सवइन्स्पेक्टर बसन्त कुमार वली र सोहि स्थानका विकाश ठकुरी लकडाउन अवधिभरको भाडा नलिने बताएका छन् । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै र नेपाल सरकार लगायत विभिन्न संघसंस्थाको आग्रहलाई मनन गर्दै सटर भाडा मिनाहा गरिएको सइ वलीले बताए । उनीहरुले व्यवसायीक प्रयोजनका लागि भाडामा लगाइएका दुइ÷दुइ वटा सटरको भाडा मिनाहा गरेका हुन् ।
त्यसैगरी विजैरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेम नाथ योगी, उपाध्यक्ष वालकृष्ण रेग्मी(सम्भु), महासचिव विदुर गौतम, सदस्य रेश्मीराज खड्कालगायतका घरधनीहरुले लकडाउन अवधिभरको भाडा मिनाह गर्ने बताएका छन् ।