भाइरल ज्वरो, अस्पतालमा बिरामीको चाप

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, १५ साउन । गाउँका प्रायःजसो घरमा भाइरल ज्वरोले नथलिएको कमै देखिन्छन् । घर–घरमा एउटा न एउटालाई ज्वरो आएको छ, खोकी लागेको छ, स्वर बसेको छ । ‘गाउँभरि सबै बिरामी छन्, हाम्रो घर पनि मलगायत सबै यस्तै छन्’, तुलसीपुरमा उपचार गराउन आएका टीकाराम खत्रीले भने । उनीजस्तै तुलसीपुरका विभिन्न सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीहरूको उच्च चाप छ ।

एक्कासी ज्वरो आउने, चीसो महशुस हुनु, हल्का खोकी लाग्ने, शरीर दुख्नु, हातखुट्टामा सिल्का हान्नु र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, कमजोर महशुस हुने र आँखा रातो हुनेलगायतका लक्षणहरू सहित बिरामी अस्पतालमा आउने गरेको चिकित्सकहरू बताउँछन् । जिल्लामा पछिल्लो समय भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ । तुलसीपुरको प्रादेशिक अस्पताल, घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य स्वास्थ्य संस्थाहरूमा भाइरलका बिरामीहरूको उच्च चाप छ ।

अस्पताल प्रशासनले रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया र झाडापखालाका बिरामीको संख्या बढेको बताएका छन् । मौसम परिवर्तन भएसँगैै जिल्लामा भाइरल ज्वरोको संक्रमण बढेको देखिन्छ । स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । केही साता यता पहिलेको तुलनामा बिरामीको संख्यामा वृद्धि भएको तुलसीपुर सिटी अस्पतालका फिजिसियन डाक्टर रेशम गौतमले बताए ।

अस्पतालमा पछिल्लो समयमा दैनिक आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका बिरामी भएको उनको भनाइ छ । उनकाअनुसार कोरोना सँगसँगै भाइरल ज्वरोका बिरामीहरू पनि यस्तै लक्षण भएको बताए । ‘कोरोना पनि त्यसैमा छ, भाइरल ज्वरो पनि त्यतिकै छ’, उनले भने । डा. गौतमले कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको बताए ।

भाइरल ज्वरो एकप्रकारको भाइरसबाट सर्ने भएकोले यसबाट बच्न अनिवार्य रूपमा माक्सको प्रयोग गनुपर्ने, सरसफाईमा विशष ध्यान दिनुपर्ने डा गौतमको सुझाव छ । भाइरल इन्फेक्सन भयो भने स्वासप्रश्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूलाई झाडापखाला हुने र समयमै निको भएन भने निमोनिया पनि हुनसक्ने उनको भनाइ छ । त्यस्तै उनले बिरामीलाई असहज हुनेबित्तिकै अस्पतालमा आउन आग्रह गरे ।

भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एकप्रकारको सरुवा रोग हो । विशेष गरी रोग लागेका व्यक्तिको शरीरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाइ काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने, रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने भएकाले सजक रहन चिकित्सकको सल्लाह छ । भाइरल ज्वरोबाट पीडित व्यक्ति चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम गर्नुपर्ने हुन्छ ।

जथाभावी एन्टिबायोटिक नखानुहोस्

भाइरल ज्वरो आउँदा केही मानिसहरूले चिकित्सकको सल्लाहबिना ज्वरो घट्ने औषधी, शरीर दुख्यो भनेर पेनकिलर र एन्टिबायोटिकलगायतका औषधी खाने गर्छन् तर यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ । भाइरल ज्वरो एन्टिबायोटिक औषधीले उपचार हुँदैन । वास्तवमा ब्याक्टेरियालाई मार्नको लागि एन्टिबायोटिक्सको बनाइएको हुन्छ तर यसले भाइरसलाई मार्न सक्दैनन् । तसर्थ, अनावश्यक रूपमा एन्टिबायोटिक खाँदा अम्लियपन, पेट दुख्ने र कतिपय अवस्थामा कलेजो र किड्नीलाई नै असर गर्ने भएकाले जथाभावि औषधी नखान चिकित्सकहरूको सल्लाह छ ।

स्वास्थ्य कक्ष स्थापना

यसैबीच दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरू जजुर माविले चार शय्याको प्रथामिक स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले चार लाख रूपैयाँ लगानी गरेर विद्यालयमा चारवटा शय्या सञ्चालनमा ल्याएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपाने अनुसार विद्यालयमा दैनिक १५÷२० विद्यार्थी बिरामी हुनथालेपछि विद्यालयले आफैँले उपचारका लागि प्राथमिक उपचारका सामग्री तथा औषधी खरिद गरेको हो । ‘दैनिक १५÷२० जना विद्यार्थी बिरामी पर्न थालेका छन’, उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ, त्यो भएपछि विद्यार्थीलाई उपचारमा सहज भएको छ ।’

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए । विद्यार्थी सामान्य बिरामी भएपछि स्कूलमै उपचार गर्ने गरिएको छ । ‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ’, उनले भने ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौँ तर पाउन सकिएको छैन ।’ उनले प्राथमिक उपचार स्कूलमा गर्ने र थप उपचारका लागि अवस्था हेरेर अन्य अस्पतालमा पठाउने गरेको बताए ।

सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एकजना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उनको भनाइ छ ।

अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ । स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए । अहेब वा अनमी पठाए पनि आफूहरूलाई सहज हुने शिक्षक अभिभावक संघका अध्यक्ष इश्वरीप्रसाद गैरेले बताए ।

अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शुल्क तिनुपर्ने अवस्था छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ । विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान संकायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी समेत अध्ययनरत छन् ।

प्रादेशिक अस्पतालमा थपिए ८ वटा डाइलासिस मेसिन

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप ८ वटा नयाँ डाइलासिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको लागि ८ वटा लाइलासिस मेसिन र पाँच वटा गोटा पेसेन्ट मनिटर पठाइएको हो ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहको समन्वयमा डाइलाशिस मेसिन र मनिटर अस्पतालमा आइपुगेको जिन्सि शाखा प्रमुख रेश्मी अधिकारीले जाकारी दिए । केही दिनमा नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा दिने अस्पतालले तयारी गरेको छ । अहिले अस्पतालमा चारवटा डाइलासिस मेसिन सञ्चालनमा छन् । चारवटा डाइलासिस मेसिनबाट मासिक २३ जना मृगौला पीडित बिरामीहरूले सेवा लिइरहेका छन् ।्