जङ्क फुडमा निषेधसंगै विद्यार्थीलाई घरकै खाजा

शिवराज खनाल
लमही, १५ साउन । राप्ती गाउँपालिकाले विद्यालयमा खाजाको रूपमा जङ्क फुडलाई प्रयोग गर्नबाट निषेध गरेसँगै विद्यार्थीले घरमै बनाएको खानेकुरा खाजाको रूपमा प्रयोग गर्न थालेका छन् । पालिकाले विद्यालयको चेमना–गृह र विद्यालय हाताभित्र जङ्क फुड विक्रीवितरणमा रोक लगाएको छ । जङ्क फुडमा रोक लगाएसँगै विद्यार्थीले घरमै बनाएको खानेकुरालाई खाजाको रूपमा प्रयोग गर्न थालेका बताएका छन् ।

आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा अध्ययनरत विद्यार्थी प्रतिमा आचार्यले आजभोलि घरमै बनाएको खानेकुरा खाजाको रूपमा प्रयोग गरेको बताइन । ‘विगतमा खाजामा धेरै जसो चाउचाउ, कुरकुरे, आलु–चिप्स खाने गरेकी थिएँ तर अहिले खाजाको रूपमा घरमा बनाएको रोटी, चना, अण्डालगायतका खानेकुरा खान थालेकी छु’, उनले भनिन् ।

गाउँपालिका भित्रका सबै विद्यालयमा जङ्क फुड निषेध गरेको अवस्था छ । राप्ती गाउँ कार्यपालिकाको असार १९ गते बसेको कार्यपालिका बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायतले सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिकका फूल, खादा आदि तथा कोल्ड–ड्रिङ्क, जङ्क फुडहरूको प्रयोग नगर्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयनको चरणमा छ । विद्यालयहरूले त्यो निर्णय पालन गर्न सुरु गरेको विद्यालयले जनाएका छन् ।

विद्यालय हाताभित्र जङ्क फुड विक्रीवितरण रोकिएको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए । उनकाअुनसार अब विद्यार्थीलाई घरमै बनाएका खाजा खान निर्देशन गरिएको छ । जङ्क फुडका सट्टा स्थानीय स्तरमा उत्पादन हुने फलफूल, अन्न, अण्डा, तरकारी तथा दाल, सागसब्जी, गोभी, काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजा मात्र प्रयोग गरिने भएको छ ।

पालिकाभित्र ३१ वटा सामुदायिक र १५ वटा संस्थागत गरी ४६ वटा विद्यालय छन् । स्थानीय उत्पादनको बजारीकरण गर्न र स्वस्थ जीवन यापनको लागि जंकफुडलाई निषेध गर्नुपरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । विद्यालयमा जङ्क फुड निषेध गर्ने अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी र अभिभावकको बीचमा जनचेतना कार्यक्रम अभियानकै रूपमा चलाउने समेत उनले बताए ।