दंगीशरण, १३ साउन । दाङको दंगीशरण गाउँपालिकाले करको दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार करको दरमा हेरफेर गर्दै यसअघि लिदै आएको नागरिकता सिफारिस शुल्क १५० लाई हटाएर निःशुल्क गरेको छ ।
गाउँपालिकाले नागरिकता, अपाङ्गता परिचयपत्र सिफारिसलगायत ६ प्रकारका सिफारिसहरुलाई निशुल्क गरिएको पालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । ०७८÷७९ मा घर बाटो सिफारिस पहिले प्रतिकित्ता क बर्ग १५०० ख बर्ग १००० ग बर्गको ८०० घ बर्गको ६०० ङ बर्ग को ५०० र च बर्गको ३०० रुपैयाँ कायम गरेको थियो ।
थोरै प्रति कित्ता गर्दा सेवाग्राहीले धेरै शुल्क तिर्नुपरेको जनगुनासो बढेपछि अहिले प्रतिकठ्ठाको आधारमा शुल्क निर्धारण गरिएको दंगीशरण गाउँपालिका राजस्व प्रमुख किरण पोख्रेलले जानकारी दिएका छन् । अहिले आर्थिक बर्ष २०७९÷८० बाट घर बाटो सिफारिस ५ कठ्ठासम्म ५००, १० कठ्ठासम्म ८००, १५ कठ्ठासम्म १०००, १ बिगाहासम्म १२००, र २ बिगाहादेखि माथि जतिसुकैको २००० कायम गरिएको छ ।
दंगीशरण गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड ३५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करको दरमा हेरफेर गरिएको दंगीशरण गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ८० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ३० लाख ७६ हजार ४ सय ३० रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख किरण पोख्रेलले बताए ।