२० वर्षमा २९८७४ युनिट रगत खपत

  •   
  •  

अमरराज आचार्य
दाङ, १३ साउन । २० वर्षको अवधिमा जिल्लामा ३० हजार ३ सय ६० युनिट रगत संकलन भएको छ भने २९ हजार ८ सय ७४ युनिट रगत वितरण भएको छ ।

रक्त सञ्चार केन्द्र घोराहीका अनुसार २०५९ सालदेखि २०७९ असार मसान्तसम्ममा त्यो मात्रामा रगत संकलन भएको हो । जिल्ला पहिलोपटक सदरमुकाम घोराहीबाट व्यवस्थितरुपमा रगत संकलन तथा वितरणको काम सुरुवात भएको थियो ।

आजभोलि जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट रगत संकलनको काम हुने गरेकोछ । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहज रुपमा रगत प्राप्त गर्न सक्ने वातावरण भने भएको छैन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका नागरिकलाई निःशुल्क रगतको व्यवस्था गरेको छ । उपमहानगरपालिको चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममा निःशुल्क रगतको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

त्यो अनुसार रक्त सञ्चार केन्द्र घोराहीसँग सम्झौताको काम शुरु भएको छ । घोराही र तुलसीपुरमा पहिलेबाट नै संकलन गरिँदै आएको पनि लमही अघिल्लो वर्षदेखि सुरु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ हजार २ युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले बताए । ५ हजार ५२ युनिट रगत वितरण गरिएको थियो । घोराहीमा २ हजार ६ सय ७० युनिट संकलन भएको थियो भने २ हजार ७ सय ७५ युनिट वितरण भएको थियो ।

तुलसीपुरमा १ हजार ३ सय ४५ युनिट संकलन भएकोमा १ हजार २ सय १३ वितरण गरिएको थियो भने लमहीमा ९ सय ७ युनिट संकलन गरिएको र १ हजार ६४ युनिट वितरण गरिएको थियो । सबैभन्दा बढी बि पोजेटिभ रगत संकलन भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७ मा जिल्लामा २ हजार ५ सय ४६ युनिट संकलन गरिएको थियो भने २ हजार ५ सय ६१ युनिट वितरण गरिएको इञ्चार्ज न्यौपानेले बताए ।

आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार २ सय ५१ युनिट रगत संकलन भएको थियो भने २ हजार ३ सय १ वितरण गरिएको थियो । अहिले रक्तदाताहरु संघसंस्थाहरुमार्फत खोजी गरिने गरेको छ । संघसंस्थामार्फत अगाडि बढ्दा धेरैलाई समेटिने भएकाले संघसंस्था प्राथमिकता दिने गरेको इञ्चार्ज न्यौपानेले बताए । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहजरुपमा रगत प्राप्त गर्न सक्ने अवस्था भने भएको छैन ।

रक्त सञ्चार सेवा दिवसमा सम्मान

यसैविच ५६औँ रक्त सञ्चार सेवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ । घोराहीमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान सबैभन्दा जीवनदान भएकाले यसको महत्व बुझाउन सक्नुपर्ने बताएका थिए । खेर जाने रगतले कसैलाई बचाउन सक्ने भएकाले यो ठूलो दान भएको उनीहरुको भनाइ थियो । रक्तदानका बारेमा बुझाउन सकेमा रगत दान गर्नेहरुको संख्या वृद्धि हुँदै जाने सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकको सहयोगले नागरिकलाई बचाउन सकिने बताए । रगतको महत्वका बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिकाले सबै नागरिकलाई निःशुल्क रगत प्रदान गर्ने उनले बताए । बिरामीलाई सहजताको लागि रक्त सञ्चार केन्द्रसँग सम्झौता भइसकेको उनले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डम्बर कुँवर, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति नारायण आचार्यको अध्यक्षतामा भएको थियो । मिनराज शर्मा पण्डितको स्वागत मन्तव्यबाट सुरु भएको रक्त सञ्चार सेवा दिवस २० वर्षमा २९८७४ युनिट रगत खपत कार्यक्रमको सहजीकरण रेडक्रसका मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।
तुलसीपुरमा रक्तदान

यसैबीच ५६औ रक्त सञ्चार सेवा दिवसको अवसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीले रक्तदान कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी दाङका कोषाध्यक्ष खुसल तर्तालको प्रमुख आतिथ्य एवं रोटरी डिष्ट्रिक ३२९२ जोन २६ का एजी तुफानबाबु श्रेष्ठको विशिष्ट आतिथ्यता भएको कार्यक्रममा पूर्ब अध्यक्ष बिमल रिजाल, रेडक्रस दाङका सदस्य हरिहर पौडेल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नारायण गौतमलगायतले रोटरी क्लबले समाजमा गरेका सामाजिक कामहरुको प्रशंसा गरका थिए ।

सो अबसरमा रोटरियनहरु तुफानबाबु श्रेष्ठ, मोहन भण्डारी, रोट्रयाक्ट नारायण गौतम, प्रवेश श्रेष्ठ, रिसव रिजाल, रिमा चौधरी र झबिन्द्र ज्ञवालीलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण रोट्रयाक्ट क्लबका महासचिव आकाश सिंहले गरेका थिए ।