रोल्पाको लिवाङमा पहिलो पटक तेक्वान्दो खेलसम्बन्धी जिल्लास्तरीय प्रतियोगितामा खेलाडीहरूले डेमो प्रदर्शन गरेको देख्दा वीरेन्द्रलाई खेलप्रति रूचि बढेको थियो तर तेक्वान्दोमा लाग्दा लड्नुपर्ने खेल भएकाले खेल्नलाई घरबाट अनुमति थिएन । वीरेन्द्रको जिद्धिले खेलमा लागे तर खेल सिक्नका लागि खेलाडीले लगाउने कपडा किक्ने पैसा थिएन । जसले गर्दा उनले केही समय ड्रेसबिनै खेल सिकेका थिए ।
खेलमा लाग्नलाई घरपरिवारको सुरुमा सहयोग थिएन । खेलभन्दा बुबाआमाको चाहना राम्रोसँग पढेर सरकारी जागिर खाओस् भन्ने थियो तर वीरेन्द्रको चाहना भने खेलप्रति बढ्दै गयो । जसले गर्दा लिवाङमा रहेको होलीभिजन बोर्डिङ स्कूलमा कक्षा २ मा पढ्दै गर्दा खुत्रुकेमा जम्मा गरेको पैसाले डे«स किनेर २०७३ सालदेखि तेक्वान्दो खेल सिक्न थालेका वीरन्द्रले ७ वर्षको अवधिमा साना–ठूला गरेर ३० बढी प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
उनले १५÷१६ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् भने रजत र कास्य करिब ४÷६ वटा प्रतियोगितामा पदक जितेका छन् । सानै उमेरदेखि तेक्वान्दो खेल क्षेत्रमा राम्रो क्षमता प्रदर्शन गरिरहेका उनले त्यहीअनुसार मेडल समेत जित्न सफल भएका छन् । केही दिन अघि मात्रै भारतको जम्मु–काश्मिरमा भएको ‘काश्मिर इन्टरनेशलन तेक्वान्दो च्याम्पियनसिप–२०२२’ मा स्वर्ण पदक जित्दाको क्षण आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण भएको तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगी बताउँछन् ।
जुन पदकले उनलाई दाङदेखि काश्मिर पुग्दाको दुःख भुलाउनुका साथै आफ्नो खेल जीवनमा सफलताको खड्किलो लगाउने काम गरेको बताए । उक्त प्रतियोगितामा वीरेन्द्रले सिनियर ५४ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
‘काश्मिरमा तेक्वान्दोको इन्टरनेशल प्रतियोगिता हुन थालेको खबर पाएपछि हामी सहभागी भएका थियौँ । काश्मिर जाँदा ट्रेन छुटेकाले धेरै दुःख पायौँ । दुई दिनमा पुग्नुपर्ने ठाउँमा पाँच दिन लगाएर खेलका लागि पुगेका थियौँ’, उनले भने, ‘जसले गर्दा पर्याप्त तयारी गर्न पाएको थिएन तर प्रतियोगितामा खेल्दा स्वर्ण जित्न सफल भएँ । त्यो क्षण मेरो सबैभन्दा खुसीको क्षण हो । प्रतियोगिता सानो भए पनि मैले पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा स्वर्ण पदक जितेको थिए ।’
सुनवलबाट जाने ट्रेन छुटेपछि उनीहरू गाडीबाट सुनवलदेखि–दिल्लीबाट पञ्जाव–जम्मु हुँदै पाँच दिन लगाएर काश्मिर पुगेका थिए । वीरेन्द्रले गएको मंसिर महिनामा भएको भारतकै दिल्लीमा भएको ‘इण्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिता’मा पनि रजत पदक जित्न सफल भएका थिए ।
२०७४ सालमा लिवाङमा भएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक वीरेन्द्रले गोल्ड मेडल जितेका छन् । जिल्ला स्तरीय प्रतियोगितामा पहिलो पटक गोल्ड–मेडल हात पारेपछि उनी सोही वर्ष भएको उपराष्ट्रपति कप चिल्डे«न रनिङ शिल्ड प्रतियोगितामा जिल्ला–प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए । १८ वर्षमुनिका खेलाडीहरू मात्र सहभागी हुन पाउने भक्तपुरमा भएको उक्त प्रतियोगितामा वीरेन्द्रले सकेजति क्षमता प्रदर्शन गर्न सकेनन् ।
जसले गर्दा काश्य पदकमा चित्त बुझाउन बाध्य भए । ‘खेल क्षेत्रमा लागेको लामो समय भएको थिएन । सोही कारण पनि हुनसक्छ । पहिलो पटक सहभागी भएको राष्ट्रिय स्तरको प्रतियोगिता काश्य पदकमै चित्त बुझाउनुपर्ने अवस्था भएको थियो’, उनले भने, ‘यद्यपि पहिलो पटक रोल्पाबाट १८ वर्षमुनिका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने म पहिलो खेलाडी भएको थिए । जसले गर्दा खुसी थिए ।’ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता र उपराष्ट्रपति कम चिल्डे«न प्रतियोगितामा उनले ४१ केजी तौल समूहको खेलमा प्रतिष्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा थर्ड भए पनि मलाई खेल क्षेत्रमा लाग्न सबैले हौसला प्रदान गर्नुभयो । देशभरका सात प्रदेशसँगै तीनवटा विभागीय टिम सहभागी भएको प्रतियोगितामा थर्ड हुन पाउँदा समेत खुसी लागेको उनी बताउँछन् । ‘प्रतियोगिता स्वर्ण जित्ने लक्ष्य भए पनि सकिनँ तर थर्ड शिल्ड जित्न सफल भएको थिएँ’, उनले भने, ‘पहिलो पटक सहभागी भएको राष्ट्रिय प्रतियोगितामा काश्य हुँदा पनि म खुसी भएको थिएँ ।’ उक्त प्रतियोगिताले आपूmलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन् । तेक्वान्दो खेलमा भविष्य खोजिरहेका वीरेन्द्रलाई नेपालको राष्ट्रिय टिममा परेर ओलम्पिक खेल खेल्ने जीवनको लक्ष्य र सपना छ । त्यहीअनुसार उनले मिहिनेत समेत गरिरहेका छन् ।
२०६० साल मंसिर २२ गते बुबा गोकर्णप्रसाद डाँगी र आमा इन्द्रमाली डाँगीका जेष्ठ सुपुत्रका रूपमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा जन्मिएका थिए । वीरेन्द्रका एक भाइ विवेक र बहिनी शर्मिला रहेका छन् । २०६८ सालदेखि गाउँमै रहेको वीरेन्द्र माध्यमिक विद्यालयबाट औपचारिक पढाइ प्रारम्भ गरेका वीरेन्द्र पढाइमा राम्रा थिए । जसले गर्दा उनी कक्षा २ देखि ४ कक्षासम्म प्रथम भए । बाल्यकालमा लगातार तीन वर्षसम्म प्रथम हुन पाउँदाको क्षण जीवनको अर्काे खुसीको क्षण भएको उनी बताउँछन् ।
‘पढाइमा सानैदेखि राम्रै थिए । जसले गर्दा गाउँमा रहेको विद्यालयमा कक्षा २ देखि ४ सम्म प्रथम भएको थिएँ’, उनले भने, ‘वार्षिकोत्सवका अवसरमा विद्यालयमा हुने कार्यक्रममा पुरस्कार ग्रहण गर्दाका धेरै खुसी लाग्थ्यो ।’ कक्षा ४ पास गरेपछि गैरीगाउँबाट वीरेन्द्र लिवाङ झरे । उनले लिवाङमा रहेको होलीभिजन सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षा २ मा भर्ना भएर पढाइ सुरु गरे । बोर्डिङ स्कूलमा ५ कक्षासम्म पढेपछि ६ कक्षादेखि १० सम्म लिबाङमा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।
२०७६ सालमा एसइई ‘बी प्लस’ गे्रडमा पास गरेपछि उनी घोराही झरेका थिए । घोराहीमा रहेको इमेज कलेजमा भर्ना भएर अमिन परेका वीरेन्द्रले पढाइसँगै तेक्वान्दो खेललाई समेत अघि बढाइरहेका छन् । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङमा आबद्ध वीरेन्द्र विभिन्न प्रतियोगितामा सहभागी भएर पदक समेत जित्दै आएका छन् ।
प्रस्तुती : लिलाधर वली