नारायणप्रसाद श्रेष्ठ
दुई–चारवटा किताब पल्टाउँदैमा मानिस ज्ञानी बन्दैन र ज्ञानी बन्दैमा मानिस परिपूर्ण पनि हुँदैन । अर्धज्ञानीले यस्तो कुरा सोच्नु पनि हुँदैन कि म ज्ञानी छुँ । किनकि ज्ञानी उसलाई भनिन्छ जसले भित्र र वाह्य आवरणमा समभावको वातावरण बनाउन सक्छ । नम्रता र शिष्टताअनुकूल जीवनलाई अरुको सहयोगी बनाउन सक्छ ।
कर्म र व्यवहारमा एकरुपता कायम गरी पवित्र मनको उद्वेगलाई अरुको भलाइ खातिर संकल्पित हुन्छ । त्यसैले भनिन्छ पनि– ज्ञानी महादानी, ज्ञानी सधैँ झुक्न जानेको हुन्छ, अज्ञानी सधैँ ठाडो भएर देखिएको हुन्छ । अर्को कुरा थोरै ज्ञान प्राप्त गर्नु भनेको आफैलाई अज्ञानताको अन्धकारमा धकेल्नु पनि हो । जसले आफूलाई ज्ञानीको उपमा दिइ अरुप्रतिको उसको भावना गलत प्रवृत्तिउन्मुख हुन्छ भने ऊ सधैँ घृणाको पात्र बन्न पुग्छ ।
ज्ञान हासिल गरी व्यवहारमा परिणत गर्न सक्दैन भने ऊ स्वार्थी कहलाउँछ । ज्ञानी छ, बोलीमा नम्रता छ, कुरा गर्ने शैलीमा मिठास छ तर पनि उसको आन्तरिक व्यवहार गलत प्रवृत्ति उन्मुख छ भने त्यो व्यक्तिले कहिल्यै पनि अरुप्रति सम्मान दिन जान्दैन । घमण्ड र अहंकारलाई कहिल्यै त्याग्न पनि सक्दैन । हुनसक्छ क्षणिकतामा त्यो व्यक्तिप्रतिको भावनामा सकारात्मक भाव जागृत होला तर जब असलियत पत्ता लाग्छ तब ऊ सबैको घृणाको पात्र बन्न पुग्छ ।
जब उसको असलीपन मानिसले बुझ्न थाल्दछ त्यसपछि उसप्रतिको सोच नकारात्मक बन्दै जान्छ । कालान्तरमा त्यो व्यक्ति आफै नष्ट भएर पनि जान्छ । त्यसैले ज्ञानी बनी ढोङ रच्नुभन्दा मौनता कायम गरी प्रकृतिलाई स्वीकारेर अघि बढ्ने दृढता कायम गर्नु पर्छ । वाह्य आवरणमा देख्दा ज्ञानी देखिने र अन्तरसत्य बुझ्दा अज्ञानी हुनु भनेको आफूले आफैलाई धोका दिनु हो । आफ्नो विचार र कर्मलाई गुम्राह गरी आफै पतन हुनु हो । तसर्थ, ज्ञान र विवेकलाई यो मेरो जीवनको सत्मार्ग हो भनी विवेकको कसौटीमा निखारी कर्म र व्यवहारमा एकरुपता कायम गर्न सक्नु पर्छ ।
ज्ञानी र विवेकी आत्माको पहिलो कर्तव्य भनेको उसको आचरणभित्र रहेको काम, क्रोध, लोभ, मोह र अहंकारको बलि चाढाउनु हो । पशु बलि दिइ आत्मसन्तुष्टिको अनुभूति गर्नु भनेको अरुको आत्मालाई रुवाइ आफूलाई खुसी बनाउनु हो । अरुलाई तड्पाएर, रुवाएर धर्म कमाउँछु, आध्यात्मिक ज्ञानी बन्छु भनी अहंकार गर्नु भनेको पतनको मार्गमा आफूलाई घसिट्नु हो । बलि दिनु छ भने आफ्नो स्वभावभित्र रहेको क्रुरतालाई तिलाञ्जली दिइ निःस्वार्थ भाव जागृत गर्न सक्नुपर्छ ।
पशु बलिको सट्टा आफूभित्र लुकेको पशुवत व्यवहारको बलि दिनुपर्छ । अन्तरनिहित गलत मानसिकताभित्र लुकेको अहंकारलाई बलि दिनुपर्छ । भावनामा बगेर विचार शून्य भइ मरेतुल्य जीवन जिउनु भनेको आफ्नो अस्तित्व आफै समाप्त पार्नु हो । अरुलाई होच्याउनु, आलोचना गर्नु भनेको आफैलाई होच्याउनु र आलोचना गर भनेर दिएको सन्देश हो । जसले जसरी सोच्दछ त्यसरी नै उसले कर्म र व्यवहार पनि गरिरहेको हुन्छ ।
अरुको ज्यानलाई तीर्ण बराबर मानेर आफ्नो स्वार्थ पूरा गर्ने मानवीय चिन्तन बढाउनु भनेको मानव प्रवृत्तिमा हुर्केको गलत संस्कृति र संस्कार हो । अरुको ज्यान जोखिममा राखी कार्य गर्नु भनेको आफ्नो भावना र विचारमा गलत प्रवृत्ति घुसाउनु हो । जीवन सबैको लागि सधैँको लागि मायाको बन्धनमा बाँधिएको हुन्छ । कुनै कसैलाई पनि कुनै किसिमको क्षति पुग्नु भनेको उसको आत्मालाई रुवाउनु हो । पशु बलि दिनुको सट्टा अन्तरआत्माभित्रको कुतत्वलाई बलि दिनु पर्छ ।
कुनै पनि धर्मग्रन्थमा पशु बलि दिनुपर्छ भन्ने लेखिएको छैन । रावण प्रवृत्तिलाई नष्ट गर्न देवी भगवतिले कहीँकतै पुराण्मा रगत पिएको कथा देखाउनु भनेको प्रवृत्तिमा भएको गलत विचार मलाई देऊ तिमी स्वच्छ र पवित्र बन भनी दिन खोजिएको सन्देश हो । शिवले जसरी विष पिएर आफू नीलकण्ठ नामले चिनिएको पुराणमा लेखिएको छ, त्यसरी नै माता भगवतीले पनि नरसंहार गरेको होइन, मानव स्वभावमा भएको क्रुरता, व्यभिचार र दूराचार र अत्याचारलाई भित्रैबाट निकाली खतम गरेको हो भनी बुझ्न सक्नु पर्छ ।
युद्धमा भगवानले मरेकालाई जीवित गराएको जुन दृश्य देखाउन खोजिएको छ, त्यो भनेको रावण प्रवृत्तिउन्मुख मानिसको आत्माभित्र रहेको गलत मानसिकतालाई निकाली नयाँ जीवन दिएको हो भनी बुझ्न सक्नु पर्छ । तसर्थ, अरुको अपमान गरेर तथा विचारको हत्या गरेर धर्म कमाउँछु, आफ्नो स्वार्थ पूरा गर्छु भन्ने भावनालाई परित्याग गरी जीवन र जगतमा आफूले निर्वाह गर्ने सकारात्मक भावप्रतिको आस्था बलियो बनाउनु पर्छ ।
अर्को कुरा पढेलेखेको व्यक्ति सबै ज्ञानी हुन्छन् भन्ने भ्रम पनि पाल्नु हुँदैन । किनकि अज्ञानी र घमण्डी खोज्नु छ भने त्यही पढेलेखेको मानिससँग हुन्छ । ऊ के, किन र केका लागि भनी चिन्तन गर्न जान्दछ, ऊ सधैँ आफ्नो स्वार्थ पूरा गर्नेतर्फ केन्द्रित हुन्छ, कसरी कमाउने, कसरी इज्जत प्रतिष्ठा कायम गर्ने, प्रभूत्व कसरी जमाउने र ऊभन्दा म कसरी योग्य छु भन्नेमा मात्र उसको ध्यान केन्द्रित रहन्छ । त्यो विचारले उसलाई घमण्डी मात्र बनाउँदैन अहंकारी पनि बनाउँछ ।
त्यसैले भनिन्छ– स्वार्थी, अज्ञानी र अहंकारी खोज्नु छ भने अर्धज्ञानी आत्मालाई चिन्नु पर्छ भनिएको हो । किताब पढ्दैमा कोही विद्वान बन्न सक्दैन । ज्ञानी र विद्वत त्यही व्यक्तिलाई भनिन्छ जसले समभाव र न्यायको सिद्धान्तअनुसार बाँच र बचाऊभित्र आफूलाई समर्पण गर्न सक्छ ।
अनुभवले खारिएको व्यावहारिक जीवनशैलीभित्र नम्रता र सेवाभावमा समर्पित हुनसक्छ, त्यो व्यक्ति नै ज्ञानीको चोटीमा पुग्न सक्छ । ज्ञानी त्यो हो जसले संसारलाई चलायमान गराउने संस्कृति र संस्कारअनुकूल आचरणमा विज्ञता हासिल गरेको हुन्छ । तसर्थ, समय र परिस्थितिअनुकूल आफूलाई परिवर्तन गर्दै कोही कसैलाई क्षति नपु¥याइ समान दृष्टिकोण र भाव राखी अगाडि बढ्नु पर्छ भनिएको हो ।
जो व्यक्ति ज्ञान, बुद्धि र विवेकअनुकूल आचरण र व्यवहारमा सफल हुन्छ त्यही व्यक्ति नै महान् हुन्छ । उसको इज्जत र प्रतिष्ठा सधैँ उचो रहन्छ । जसरी सुनलाई जति टुक्रा बनाए पनि त्यसको महत्व त्यत्ति नै रहन्छ, त्यसरी नै असल मान्छेलाई जति गाली गरे पनि र उसको इज्जतमा हिलो छ्याप्ने कोसिस गरे पनि उसको प्रतिष्ठामा कहिल्यै कमी आउँदैन । बोल्ने र कराउने थाक्न सक्छ उसको प्रतिष्ठा कमजोर हुँदैन ।
अर्को कुरा जसले आफ्नो गल्ती कहिल्यै स्वीकार्दैन र अरुलाई गलत देखाउने कोसिस गर्छ, त्यस्ता मानिससँग सम्बन्ध गाँस्नु भनेको आफ्नो आचरण र व्यवहारमा व्यवधान पु¥याउनु हो । त्यसैले संगत गुणाको फल भनिएको हो । मित्र उसलाई बनाउनु पर्छ जसले गल्तीमा सिकाउने, दुःखमा सम्झाउने, खुसीमा रमाउने र प्रगतिका लागि उत्प्रेरित गराइरहनेसँग हुनुपर्छ ।
त्यसैले प्रत्येक कदम–कदममा मानिसले मानिसप्रतिको धारणामा आउने परिवर्तनलाई आत्मसात गरी सत्य सधैँ एउटै धरातलमा हुन्छ । म र मेरो व्यवहारले कोही कसैलाई कुनै किसिमको आँच आउने काम मबाट हुनु हुँदैन भनी दृढ र निश्चित बुद्धि बनाएर अरुको लहलहैमा होइन, आफ्नै स्वविवेकीय इच्छाशक्तिको माध्यम आफूलाई गतिशील बनाउनु पर्छ । ज्ञानी छु भन्दैमा मात्तिनु पनि हुँदैन र केही गर्न सकिनँ भनी आत्तिनु पनि हुँदैन ।
मनभित्रको पशुवत व्यवहारमा आउने परिस्थिति भनेको सामाजिक पर्यावरण, रहनसहनले ल्याउने परिवर्तन हो । त्यसलाई त्यसरी नै बुझी समाज हाम्रो आदर्श हो, यसले हामीलाई सही र गलत दुवै बाटो अवलम्बन गर्न अभिप्रेरित गरिहरहेको हुन्छ भनी आफूभित्रको सत्यलाई सर्वे भवन्तु सुखिन को सिद्धान्तभित्र प्रतिपादन गर्न सक्नु पर्छ । समाज हामीबाटै शुद्ध, स्वच्छ र पवित्र बन्न सक्छ भनी आहार, विहार, संस्कार र संस्कृतिप्रतिको हाम्रो धारणा सकारात्मक प्रवृत्ति उन्मुख बनाउनु पर्छ ।
मानव आचरणभित्र बालापनदेखि लुकेर रहेको स्वार्थी चिन्तनलाई त्यागी सबैप्रति आदर र सम्मान दिन जान्नु पर्छ । मानिसभित्र जे हुन्छ त्यही विचार उसले बाहिर ल्याउने हो । विचार वाह्य आवरणले सिकाएको ज्ञानलेभन्दा अन्तरहृदयभित्र लुकेको सत्यले बाहिर ल्याउने पद्धति हो । तसर्थ, पहिले आफू स्वयम्ले आफैलाई धोका दिएको त छैन भनी चिन्तन गर्नुपर्ने हुन्छ । त्यसका लागि आफ्ना हरेक कर्म र व्यवहारलाई विश्वास र भरोसायोग्य बनाउने कोसिस गर्नुपर्छ ।
अरुलाई होच्याएर, खसामा गरेर, धम्क्याएर केही गराउँछु भन्ने मानिसकता छ भने त्यसलाई जरैदेखि उखेल्ने कोसिस गर्नु पर्छ । आफ्नो भुल भए स्वीकार्ने परिस्थितिको जन्म गराइ म उसको लागि ऊ मेरो लागि भन्ने मान्यताभित्र शुद्ध आचरण र व्यवहार देखाउने कोसिस गर्नु पर्छ । त्यहाँ नै जीवनको सफलता सम्भव हुन्छ ।