बालाराम खड्का
तुलसीपुर, १ साउन । असार र साउन महिना वृक्षारोपणको उपयुक्त समय हो । वर्षायामलाई वृक्षारोपण गर्ने समयका रूपमा लिने गरिन्छ । हरेक वर्षजसो निजी, सरकारी तथा गैरसरकारी संघसंस्था र निकायलाई यो सिजनमा विरूवा लगाउने चटारो नै हुन्छ ।
वृक्षारोपण कार्यक्रमलाई कतिले त आफ्नो वार्षिक कार्यक्रम राखेका छन् । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ । पछिल्लो समय विरूवा रोप्ने काम फेशनकै रूपमा देखापरेको छ । प्रत्येक वर्ष वन डिभिजन कार्यालयहरूले वृक्षारोपणका लागि लाखौँ विरूवा वितरण गर्छन् । ती विरूवा वन क्षेत्र तथा खाली स्थानमा रोपिन्छ पनि तर यसरी रोपिने विरूवा कति बाँचे र कति मरे भन्ने एकीन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् ।
एक पटक विरूवा रोपेपछि फेरि अर्को वर्ष त्यही ठाउँमा विरूवा रोप्ने प्रचलन बढ्दै गएको छ । केही समय पहिले तुलसीपुरमा एक घर एक विरूवा अभियान सुरु भएको थियो । त्यसले केही हदसम्म सार्थकता भने पाएको छ तर सबै विरूवा भने बचाउन सकेको अवस्था छैन ।
रूख रोप्ने अनि जोगाउने दायित्व सबैले लिनुपर्ने जानकारहरू बताउँछन् । ‘विरूवा रोपेर मात्र हुँदैन त्यसलाई बेला–बेलामा हेरचाहर स्याहार गर्नसके मात्र वृक्षारोपणले सार्थकता पाउँछ’, स्थानीय वयोवृद्ध यमनाराय केसीले भने । उनले वृक्षारोपण गर्नु राम्रो पक्ष भएको भन्दै वृक्षारोपण गर्नका लागि नभइ त्यसलाई सार्थकता दिन भएको बताए । जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ न त लगाएका विरूवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण वर्सेनी रोपिने लाखौँ विरूवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् ।
विरूवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ । डिभिजन वन कार्यालय दाङले सर्वसाधारणलाई यस वर्ष पनि घरघरमा विरूवा दिन सुरु गरेको छ तर ती विरूवा कसले कसरी संरक्षण गर्छ गर्दैन त्यसको भने कुनै निकायले नियमन गर्दैन । जसले गर्दा राज्यको लगानी पनि खेर जाने गरेको छ ।
वनविज्ञहरूकाअनुसार विरूवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसको लागि उपभोक्ता र आम नागरिक समेत सचेत हुनुपर्ने उनीहरू बताउँछन् । मानव र वृक्षबीचको सम्बन्ध अनादिकालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो ।
जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लाश जलाउन यही दाउराको आवश्यक हुन्छ । यसैगरी बाँचुञ्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरू गर्दछ ।
वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ । वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पूरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिँदै आएको पनि पाइन्छ । हिन्दू धर्मअनुसार वर–पिपल स्वामीलगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ ।
अहिलेको बदलिँदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरू पु¥याइरहेको हुन्छ । वृक्षारोपण गर्नका लागि जिल्ला वन कार्यालय तथा जिल्ला भूसंरक्षण कार्यलयहरूले निःशुल्क विरूवाहरू समेत उपलब्ध गराइरहेका छन् । त्यस्तै व्यक्तिहरूले पनि किनेर निजी लगानीमा वृक्षारोपण गर्ने प्रचलन छ ।
वृक्षारोपण कार्यको लागि सुरुमा स्थान छनोट गरी हावापानी, भौगोलिक अवस्था र माटोको गुणस्तर आदि ध्यानमा राखी आवश्यक प्रजातिहरू छनोट र आवश्यक संख्या एकीन गर्नु पर्दछ । वृक्षारोपण क्षेत्र छनोट गरेपछि चिस्यान भएको बेलामा खाल्डो खन्नुपर्छ तर यहाँ वृक्षारोपणकै दिन खाल्डाहरू खनेर विरूवा रोप्ने प्रचलन छ । यसले गर्दा पनि विरूवा लगाएको नजाग्ने समस्या बढेको स्थानीय बताउँछन् ।
जलवायु परिवर्तन र वन विनाशका कारण पछिल्लो समयमा विभिन्न असरहरू देखिन थालेसँगै जलवायु परिवर्तनलाई अनुकूलन गराउन पनि वृक्षारोपण भने महत्वपूर्ण हुने बताएको छ । ‘वृक्षारोपण गर्नु सबैका लागि सराहनीय कार्य हो तर रोपेर मात्र हुँदैन त्यसलाई हुर्काउनु पर्छ’, पूर्व वनकर्मी ध्रुव गौतमले भने । उनले रोपिएका विरूवाहरू संरक्षण सम्बद्र्धन गोडमेल गर्न ध्यान दिन पनि सबैलाई आग्रह गरे । ‘सबै ठाउँमा त्यस्तो देखिन केही ठाउँमा राम्रो पनि छ, केही स्थानमा भने विभिन्न कारणले वृक्षारोपण गरे पनि विरूवाहरू नजाग्ने अवस्था देखिन्छ’, उनले भने ।
लायन्सको वृक्षारोपण
लायन्स क्लव डिस्ट्रक्ट ३२५ एन को पहिलो गर्भनर सिवी चन्दको विशेष आह्वानमा शनिवार विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अन्तर्गत् लायन्स क्लव अफ स्वर्गद्वारी तुलसीपुर–४ रक्षाचौरले वृक्षारोपण कार्यक्रम गरेको छ । लायन्स क्लवले गुरू जजुर मावि रक्षाचौरको तुलसीपुर–३ रानागाउँमा रहेको कृषि विज्ञान भवन परिसर, राप्ती आँखा अस्पताल परिसर भगवती मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो । लायन्स क्लव अफ स्वर्गद्वारीका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा लायन्सका डिस्ट्रिक्ट ३२५ एनअन्तर्गत् एरिया नं. २ का एरिया चिफ ध्रुव गौतमको आतिथ्यमा कार्यक्रम भएको थियो ।
वृक्षारोपण कार्यक्रममा लायन्स क्लव स्वर्गद्वारीका पूर्व अध्यक्षहरू पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले वृक्षारोपण गरेर मात्र नहुने भन्दै त्यसलाई संरक्षण गर्नुपर्ने बताएका थिए । उनीहरूले विरूवालाई गोडमेल तथा हेरचाह गरे मात्र त्यसको संरक्षण हुने बताएका थिए । विभिन्न प्रजातिका १ सय ५० वटा विरूवाहरू रोपिएको थियो ।
यसैबीच लियो क्लव अफ दाङ तुलसीपुरले पनि लायन्स भवन र लियो क्लव परिसरमा वृक्षारोपण गरेको छ । विभिन्न प्रजातिका विरूवाहरू लायन्स भवन परिसरमा रोपिएको लियो क्लवमा अध्यक्ष निर्मल खड्काले जानकारी दिए । लायन्स क्लवका गभर्नरको आह्वानमा आफ्नो क्षेत्रमा सबै क्लवहरूले विभिन्न स्थानमा वृक्षरोपण गरेको एरिया चिफ ध्रुव गौतमले बताए ।