आफूलाई बदल्न नसक्नेबाट के आशा गर्नु

केपी सुवेदी
देश र समाज बदल्न सबैभन्दा पहले आफैलाई बदल्नुपर्छ । आफू जहाँको तही बसेर अगाडिको दृश्य केवल देख्न सकिन्छ । प्राप्त गर्न असम्भव हुन्छ । आफूलाई नहेरेर अरुको दोष खोजी गर्ने खराब बानी मानिसको कमजोर पक्ष हो । यस्तो बानीले मानिस स्वयम् अगाडि बढ्न सम्भव छैन भने देश र समाजलाई बदल्ने कोरा सपनामा कुनै तागत हुँदैन ।

राजनीति भनेको पनि झुटो, प्रपञ्च मात्र रहेछ । जसले धेरै ढाँट्न सक्छ, जसले धेरै ढोङ गर्नसक्छ त्यसैको मान सम्मान र नेतृत्व स्वीकार गर्ने राजनीतिक संस्कार बसेपछि साँचो कुरा र सम्भव हुनसक्ने विचारको कुनै मान्यता छैन । राजनीतिको खास जिम्मेवारी नपाउँदाको अवस्था र अलिकति जिम्मेवारी पाइसकेपछि हुन आउने अन्तर जे पाउँछौँ त्यसले राजनीतिप्रति वितृष्णा र आशाप्रति खिन्नता जन्माइरहेको छ ।

प्रायः सबै राजनीतिक दलमा आबद्ध युवा नेताहरु जनताको भरोसा बनेर उदाउँछन् तर व्यक्तिगत इच्छा पूर्तिको आकांक्षा जब जाग्न थाल्छ त्यसपछि नेतृत्वको बसमा परेर विवेकको लिलामिमा पर्छन् । नेपाली कांग्रेसका केही युवा नेताहरु नेतृत्वको सामुन्ने यसैगरी विवेक शून्य बनेका उदाहरण हुँदाहुँदै पनि पार्टीको नीति, विचार र समकालीन भूमिका निर्वाह गर्न सफल देखिएको छ तर कम्युनिस्ट पार्टीहरुका युवा भनिने व्यक्तिहरु पद र व्यक्तिगत सुविधाका लागि सबै चीज बन्धकी राख्न तयार देखिन्छन् ।

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी तीनवटै मुख्य कम्युनिस्ट घटकहरु सत्ता भनेपछि हुरुक्क हुँदा रहेछन् । यिनीहरु कुनै बेला एउटै पार्टीमा अटाएका थिए । त्यो पार्टी नै छिन्नभिन्न हुने गरी नेतृत्वले तछाडमछाड गरिरहँदा त्यसको मुकदर्शक मात्र बनिरहेको देखियो । अहिले उनै नेताको वरिपरि लुटपुटिएर सत्य माथि पर्दा हाल्ने नेतृत्वको ढाल बनिरहेको देखिन्छ । नेकपा नामको पार्टी पद र पैसा दुबै चीजको भागबन्डामा नमिल्दा चारवटा पार्टीमा रूपान्तरित भएको छ ।

एकातिर पार्टी फुटेर चार टुक्रा परेकोमा सबै टुक्रा पुनर्गठन भइरहेको सन्दर्भमा उनीहरुको एकता अथवा बामएकता, विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व यिनीहरुले गरिरहेको कुरा यदि पत्याउनुपर्ने र नेपाली जनताले एउटै विशाल कम्युनिस्ट पार्टी बनेको देख्नपाउने आशा कति दिन पालेर बस्ने ? यिनीहरुको एकताको अझै केही औचित्य र सम्भावना छ भनेर कल्पना नगरेकै ठिक छ ।

बामपन्थी एकताको हविगत देखेर पनि त्यसबाट तर्सिरहने कांग्रेस नेतृत्वप्रति धिक्कार छ । एउटा लोकतान्त्रिक विचारको नेतृत्व गर्दै स्थापनाकालदेखि लोकतान्त्रिक मूल्य मान्यताको रक्षामा पहरेदार बनेको नेपाली कांग्रेस यतिखेर लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचनमा ताजा जनमत लिन जाने कुराको निर्णय गर्न डराइरहनु शोभनीय छैन ।

पार्टीको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सिद्धान्तबाट चिप्लिसकेका छन् । उनलाई पार्टीको नीति, विचार र सिद्धान्तभन्दा पद भएपछि केही नचाहिने देखियो । पार्टीलाई संस्थागत रुपमा र विधिसंगत रुपमा चलाउनु पर्छ भन्ने विचारबाट पूरै विचलित भइसकेका छन् । पार्टीको कमिटी र विभागहरु गठन गर्न, सबैलाई समेटेर सहयोग लिने जिम्मेवारी उनकै हो ।

पार्टीको विधिविधान आफूलाई अनुकूल हुने गरी प्रयोग हुने तर पार्टीका सीमित लोभी र लाछी सदस्यहरुलाई साथ लिएर अरु बाँकी इमानदार नेता कार्यकर्ताको तेजोबध गर्ने व्यक्ति पार्टी प्रमुख स्वीकार्य हुँदैन । कि सहयोग गर नत्र अर्को पटक सभापति छोड्दिन भनेर कसलाई धम्की दिएको ? यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताभन्दा एमाले र सत्ता गठबन्धनका साझेदार प्यारा बन्न पुगेका छन् ।

सायद उनलाई के भ्रम हुन सक्छ भने कम्युनिस्टहरुलाई रिझाइराखे ँभने अर्कोपटक प्रधानमन्त्री बन्छु, त्यसपछि त्यसैको शक्ति प्रयोग गरेर फेरि पार्टी सभापति हुन्छु । आफ्नो खल्तीका केही व्यक्तिले साथ दिए पुग्छ भन्ने लागिरहेको जस्तो बुझियो तर दुवै शक्तिशाली पद कांग्रेस भएका कारण प्राप्त भएकोमा द्विविधा छैन ।

कम्युनिस्टहरुको सदासयता खोजिरहेका प्रधानमन्त्री देउवा कम्युनिस्टका ठूला गल्तीमा पनि आँखा चिम्लिने किन गर्छन् भन्ने प्रश्नले चित्त बुझ्दो जवाफ खोजिरहेको छ । यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवासँग छ तर दिन चाहँदैनन् । कारण एकमात्र पदलोलुपता हो । होइन भने राष्ट्रप्रति बेइमानी गर्ने जनार्दन शर्मालाई हटाउन किन एमालेलाई हिरो बनाउन परेको ? आफ्नो पार्टीको आवाजलाई बेवास्ता गरिरहेका प्रधानमन्त्री एमालेले सदन अवरुद्ध गरेपछि मात्र निर्णय गरेका थिए ।

अहिले अर्को काण्ड अगाडि आएको छ । संवैधानिक अतिक्रमण हुने गरी एमाले कार्यकर्ता भएर देशको अर्थतन्त्रको मियो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल पदबाट निलम्बन गरेर छानविन थाल्नु पर्छ ।

दोषी ठहरे हदैसम्मको सजाय दिने र निर्दोष ठहरिए ससम्मान पुनर्वहाली गर्ने । अपराधीहरु पार्टीको आडमा ठूला अपराधहरु पनि सजिलै लुकाउन सक्छन् । उनीहरुसँग कानुन हातमा लिएर प्रशासनलाई आफ्नो अनुकूल प्रयोग गर्न सक्छन् । यस्ता कुरामा कसैले चर्को दबाब नदिइ आँखा खोल्न नचाहने सरकार राष्ट्रको हितमा निर्णय गर्न सक्तैन ।

परिवर्तनको गुड्डी हाँक्ने आफूलाई युवाको ढुकढुकी भनेर चिनाउने केही एमाले युवाहरुले जनार्दन शर्मालाई दोषी देखे तर एमाले भएका कारण गभर्नर अधिकारीलाई दोषी देख्न सकेनन् । अर्को पार्टीको सदस्य त्यस्तै अवस्थामा विवादमा आएको भए फेरि संसद अवरुद्ध हुने थियो होला ।

युवाको अनुहार हेरेर केही परिवर्तनको आशावादी बन्दै संसदमा पठाइएका अनुहारमा अलिकति जिम्मेवार र युवाको प्रतिनिधि पात्र कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापा देखिन्नन् । उनीहरुको भूमिका सकेसम्म खुम्च्याउने प्रयास नेतृत्वले नगर्ला भन्न सकिन्न तर जतिसुकै नियन्त्रित प्रणाली डिजाइन गर्न खोजे पनि पुरानो नेतृत्व असफल हुँदैछ र त्यसको पदचाप नछोड्ने नयाँ भनिनेहरु पनि उनीसँगै विस्थापित हुने लक्षण देखियो ।