पत्र–साहित्य : चिठ्ठी

खगराज न्यौपाने

श्रीयुत भाइ रमेश,

शुभाशीर्वाद

तिमीले यसपटक पठाएको पत्र समयमै प्राप्त भयो । देशभित्र भएका गतिविधिको विषयमा जानकारी चाहेका रहेछौ । त्यति टाढा अमेरिकामा अध्ययनार्थ बसेको समयमा पनि देश र देशबासीप्रति चासो देखाएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरुले आफ्नो अध्ययन पूरा गरेर नेपाल अनुपर्ने भएको छ । हाम्रो देश नेपाल अहिले संकटको अवस्थामा छ । म तिमीलाई सबै कुरा जानकारी गराउँछु ।

भाइ रमेश ! प्राचीनकालदेखि हाम्रो देश कृषिमा आधारित छ । भौगोलिक अवस्था र पर्यावरणले पनि कृषिलाई अनुकूलता प्रदान गर्दै आएको हो । आज पनि हाम्रो देश कृषिमा आधारित छ या भनौँ नेपालको मुख्य पेसा कृषि भएको छ । पुराना दिनमा नहरको व्यवस्था थिएन, मलखादको पनि व्यवस्था थिएन तर पनि नेपालले धान भारत, बंगलादेश, थाइलैण्ड आदि देशमा निर्यात गर्दथ्यो । खाद्यान्न आयत गर्ने अवश्यकता नै पर्दैनथ्यो ।

आज ठाउँ–ठाउँमा सिंचाइका लागि नहरको व्यवस्था छ, रासायनिक मल, कृषि प्राविधिकको पनि व्यवस्था छ । तर पनि नेपालको करोडौँ मूल्य बराबरको खाद्यान्न आयात गरिरहेको छ । देशमा कति जमिन कृषियोग्य छ, त्यसका लागि कति बिउ, मल चाहिन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्ने हो तर सधैँभरि देशमा बिउ, मलको अभाव भइरहन्छ ।

समयमै मलखादको व्यवस्था कृषकलाई गरिदिनु पर्छ भन्ने कर्तव्यबोध सरकारलाई भएको जस्तो देखिँदैन । जानकारहरु भन्छन् कमिशनको लोभले गर्दा यस्तो भएको हो । यदि यस्तो ो भने सत्तामा बस्नेले पदअनुसारको आचरण गर्न नसक्ने भए सम्बन्धित कृषिमन्त्रीले राजिनामा दिनुपर्छ भन्ने आवाज आइरहेको छ तर पदमा बस्नेले सुनिराखेका छैनन् ।

रासायनिक मलको कारखाना खोल्ने विषयमा सम्बन्धित पदाधिकारी वा विभाग वा मन्त्रीहरले वास्ता गर्नेतर्फ चासो दिएको देखिँदैन । जनता मलको अभावमा छटपटाइरहेका छन् । भारतबाट महँगोमा किनेर ल्याएको मल कब्जा गरेर सरकारले बहादुरी देखाइरहेको छ । बजारमा मलको कालोबजारी, कमिशनमा जिम्मेवार निकाय रमाइरहेछ ।

सरकार अन्धो छ, देख्दैन । त्यसैले जिम्मेवार निकाय कमिशनमा डुबेको छ कि ? भाइ रमेश ! हाम्रो देशमा चिनी कारखानाको काम गजबको छ । किसानले उँखु खेती गर्छन् । त्यही उखु उधारोमा किनेर कारखानाले चिनी बनाउँछ र विक्री गर्छ तर किसानले उँखुको मोल पाँच सात वर्षसम्म पनि पाउँदैनन् । आफ्नो ५÷७ वर्षको उखुको मोल लिनका लागि आन्दोलन गर्नु पर्छ ।

ती किसानहरुको अवस्था कति पीडादायी छ ? सम्झँदा पनि दिक्क लागेर आउँछ । त्यसैले उखु खेती क्रमशः किसानले छाड्दै छन् । कति किसान त आन्दोलनको क्रममा परमधाम गइसकेका छन् । सरकारले मिल मालिकसँग उखुको रकम अशुल पनि गरिदिएको छैन । त्यसैले चिनीमा नेपाल क्रमशः परनिर्भर हुँदै जान थालेको छ ।

भाइ रमेश ! अब आयल निगमका विषयमा कुरा गरौँ । व्यापार गर्दा सधौ मुनाफातर्फ ध्यान जाने गर्छ । वस्तुको खरिद मूल्य, ढुवानी, भन्सार, कर सबै मिलाएर जति हुन्छ त्यसमा केही प्रतिशत नाफा राखेर सामान बेच्ने गरिन्छ । ायल निगमले १५÷१५ दिनमा इन्धनको मूल्य वृद्धि गरिरहेको छ ।

तर पनि आयल गिम सधैँ घाटामा गइरहेको छ । जनता भन्छन् यस्तो आयल निगमलाई राखिराख्न आवश्यक छैन । बरु आयल निगम सधैँका लागि बन्द गरिदिए हुन्छ । चुहिने भाँडो राखेर काम छैन । बरु आयल निगमको इन्धनो कारोबारीको काम व्यापारीहरुलाई दिनु पर्छ । यसो गर्दा सरकारलाई अर्बौं रुपैयाँको घाटाबाट बचाउन सकिन्छ ।

भाइ रमेश ! मैले मेरा मनमा लागेका केही कुरा तिम्रा सामू राखे । बाँकी कुरा अर्को पत्रमा लेख्ने वाचा गर्दै यो पत्रको बिट मार्न चाहन्छु

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने