मेरो खुसी : ट्रेनिङका लागि बैङ्ग्लोर जाँदा …

रूपन्देही जिल्लाको जनकपुर भन्ने गाउँको मध्यम परिवारमा जन्मिएका उनलाई अटो व्यवसायका क्षेत्रमा आउँलाझै लागेको थिएन् । घरपरिवार कृषि क्षेत्रमै संलग्न रहेकाले उनी पढाइसँगै कृषिमै संलग्न थिए । उनलाई लाग्थ्यो आफ्नो भविष्य पनि कृषिमै बित्छ । उनले पढाइसँगै कृषिमा घरपरिवारलाई सघाउने काम गर्र्दथे ।

उनी सानो छँदै बुबाको मृत्यु भयो । बुबाको मृत्युपछि घरपरिवारको आर्थिक भार ठूलो दाइमा सरेको थियो । ठूलदाइ प्रेमबहादुर फौदार क्षत्री बुटवलमा अटो व्यवसायको पसल सञ्चालन गरेर बसेका थिए । उनी पनि जनकपुरबाट बुटवल आएर पढाइसँगै दाइलाई काममा सहयोग गर्न थाले । रातीको समयमा पढाइ हुने भएकाले दिनभर उनी पसलमा बसेर काम गर्थे । बिग्रिएका गाडीहरू बनाउने, फ्यूल पम्प नोजरसम्बन्धी काम हुन्थ्यो, पसलमा । काममा दाइलाई पनि सहयोग हुने र पछि आपूmलाई पनि काम लाग्ने भएकाले गाउँमा आठ पास गरेपछि उनी बुटवल आएका थिए ।

बुटवलमा दिनभर दाइको पसलमा काम गर्ने र रातको समयमा विद्यालय जान थाले । त्यो समयमा बुटलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा रात्री पढाइ हुने गर्दथ्यो । तर कक्षा ९ नियमित रूपमै पास गरे पनि उनले एलएलसी पास गर्न भने सकेनन् । एलएलसी पास गर्न नसकेपछि दाइको सल्लाहअनुसार नेपाल अटो मेकानिकल महासंघ र घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उनी फ्यूल पम्प नोजरसम्बन्धी ट्रेनिङ लिन भारतको बैङ्ग्लोर जाने अवसर पाए ।

दाइसँग पसलमा काम गर्दै गर्दा सिक्दै थिए तर थप सिक्नका लागि बैङ्ग्लोर जाने भएपछि उनी तयार भए । त्यो पनि निःशुल्क रूपमा पहिलो पटक रेलमा चढेर । भारतको चर्चित सहर बैङ्ग्लोरमा पहिलो पटक रेलमा चढेर जाँदाको क्षण आफ्नो जीवनको पहिलो खुसीको क्षण भएको बताउँछन दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका अटो व्यवसायी ज्ञानबहादुर फौदार क्षत्री । ‘अहिले जीवनको करिब साढे चार दशक पार गरे । यो अवधिमा जीवनमा धेरै सुख–दुःखका क्षणहरू छन्’, अटो व्यवसायी ज्ञानबहादुरले भने, ‘तर पहिलो पटक भारतको ठूलो सहर बैङ्ग्लोर रेलमा चढेर जाँदाको क्षण जीवनको पहिलो खुशीको क्षण हो ।’

बैङ्ग्लोरमा ११ दिन ट्रेनिङ लिनका लागि बुटवलबाट दुईजना छनोट हुँदा ज्ञानबहादुर छनोटमा परेका थिए । तालिम लिइसकेपछि उनीमा थप हौसला थपियो । अब एक्लै पनि पसल गर्छु भन्ने हिम्मत जाग्यो । त्यो बेला उनका काइँला दाइले दाङको घोराहीमा प्mयूल पम्प नोजरसम्बन्धी पसल गर्थे । दाइको पसलमा कहिलेकाहीँ सामान लिएर ज्ञानबहादुर आउने गरेका थिए । परिवारका सबै सदस्य बुटवलतिर बस्ने भएकाले होला काइँला दाइले घोराहीमा पसल चलाउन सकेनन् । उनी बुटवल फर्किने निर्णय गरे । त्यसपछि त्यो पसल सम्हाल्न ज्ञानबहादुर करिब २०४८÷०४९ सालमा घोराही आइपुगे ।

त्यो बेला दाङमा मात्रै नभएर गाडीको मुटुका रूपमा रहेको फ्यूल पम्प नोजरसम्बन्धी काम गर्ने पसल राप्ती अञ्चलमै उनको मात्र थियो । जसले गर्दा उनले कमाइसँगै सम्बन्ध समेत बढाउँदै गए । त्यही क्रममा घोराहीसँगै जिल्ला र अञ्चलका व्यवसायीहरू संगठित भएर राप्ती अटो इन्जिनियरिङ एसोसिएशन भन्ने संस्था गठन गरे । सुरुमा ज्ञानबहादुर संस्थाको सहसचिव बनेका थिए ।

सहसचिवपछि उनी नेपाल अटो इन्जिनियरिङ एसोसिएशनको केन्द्रीय सदस्य बने । त्यसपछि भएको राप्ती अटो इन्जिनियरिङ एसोसिएशनको निर्वाचनपछि उनी सर्वसम्मतिमै संस्थाको अध्यक्षमा निर्वाचित भए । अटो व्यवसायीहरूको छाता संगठन राप्ती अटो इन्जिनियरिङ एसोसिएशनको अध्यक्षमा निर्वाचित हुँदाको क्षण पनि आफ्नो जीवनको अर्काे खुसीको क्षण भएको ज्ञानबहादुर बताउँछन् ।

‘म व्यवसाय गर्नका लागि दाङ आएको थिए । व्यवसायका क्रममा अटो व्यवसायीहरूको छाता संगठनको अध्यक्ष जस्तो महत्वपूर्ण पदमा पुग्ने अवसर प्राप्त गरेको छु’, उनले भने, ‘व्यवसायी संस्थाको नेतृत्वमा पुग्दाको त्यो क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो ।’ राप्ती अटो इन्जिनियरिङमा दाङ, प्यूठान र रोल्पाका व्यवसायीहरू आबद्ध छन् । उनले आफ्नो कार्यकालमा राप्तीका सम्पूर्ण अटो व्यवसायीहरूलाई एकीकृत गरेर व्यावसायिक हकहितका लागि संस्थालाई बलियो बनाउने सोचमा रहेको बताउँछन् ।

सधैँ आफ्नो पेसाप्रति समर्पित र कर्मशील ज्ञानबहादुर कर्ममा विश्वास गर्दछन् । जसले गर्दा उनी जीवनमा सफल समेत हुँदै गएका छन् । ‘कर्म र पेसाप्रति समर्पित भएकाले व्यावसायिक रूपमा सफल भएको छु’, उनले भने, ‘सुरुमा आफै कामदार भएर काम गरे पनि अहिले ६÷७ जनालाई रोजगार समेत दिएको छु ।’ सुरुमा घोराहीको पुरानो बसपार्कमा लुम्बिनी डिजल्सका रूपमा पसल गरेका उनले अटोभिलेजमा एकीकृत रूपमा व्यवसाय सञ्चालन हुन थालेपछि त्यहाँ पुगेको बताए ।

त्यससँगै व्यवसायीहरूको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा सर्वसम्मतिमै निर्वाचित हुँदाको क्षणलाई पनि उनले आफ्नो खुसीका क्षणका रूपमा लिने गरेका छन् । ‘म अटो व्यवसायी भएकाले राप्ती अटो इन्जिनियरिङ एसोसिएशनको अध्यक्षमा निर्वाचित भएको थिएँ । त्यो अटो व्यवसायीहरूको संस्था थियो’, उनले भने, ‘तर अटो व्यवसायीका रूपमा मात्र होइन म घोराहीका सम्पूर्ण व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका रूपमा समेत निर्वाचित भएँ । त्यो क्षण पनि मेरो जीवनको अर्काे खुसीको क्षण हो । जुन क्षणले मलाई सधैँ खुसी बनाउने गर्दछ ।’ उद्योग वाणिज्य संघमा पनि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।

बुबा मानबहादुर फौदार क्षत्री र आमा सुमित्रा फौदार क्षत्रीको कोखबाट २०३३ साल फागुन १५ गते रूपन्देहीको सुद्धोधन गाउँपालिका–२ जनकपुरमा जन्मिएका ज्ञानबहादुर परिवारका कान्छो सन्तान हुन् । अहिले घोराही उपमहानगरपालिका–१५मा बस्दै आएका ज्ञानबहादुरका दुइ दिदी र चार दाजुहरू छन् । गाउँमा रहेको फर्साटिकर माध्यमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेका उनले कक्षा ८ सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए । त्यसपछि ९ र १० कक्षा बुटवल स्थित ज्ञानोदय रात्री माध्यमिक विद्यालयमा पढेका थिए । तर एसएलसी पास गर्न नसकेपछि उनी व्यवसायमा लागे । दाङ घोराही मिलनचोक निवासी रजनी श्रेष्ठसँग प्रेम विवाह गरेका ज्ञानबहादुरका एक छोरा र एक छोरी छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेका ज्ञानबहादुर राप्ती अटो इन्जिनियरिङ एसोसिएशनका अध्यक्ष, अटो व्यवसायीद्वारा सञ्चालित शुभम लद्युउद्यम सहकारी संस्थाका उपाध्यक्षलगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् ।

प्रस्तुती : लिलाधर वली