नारायणप्रसाद श्रेष्ठ
विगत वर्षको तुलनामा यस वर्ष धान खेती केही कम भएको समाचारमा सुन्न आएको छ । धन, जनको क्षति भएको खबर छैन । हुन त साउन महिना सिङ्गै छ । वर्षाले कस्तो रुप लिने हो, अनुमान गर्न सकिन्न तर दैविक विपत्ति नपरोस् यही हाम्रो कामना ।
अब केही दिनपछि ०७८÷०७९ समाप्त हुँदै ०७९÷०८० सुरु हुँदै छ ।आवको अन्तिम महिना असारलाई मानिएको छ । सम्पन्न हुन नसकेका विकासका धेरै काम यही महिना सम्पन्न गरिने परम्पराले यस वर्ष पनि प्राथमिकता पाएको छ । विकासले वर्षा भनेन, यसले आफ्नो गति यसै महिना बढाएको छ । योजना सम्पन्न भए बजेट खर्च बढ्ने नै भयो । ११ महिनासम्म हुन नसकेको विकास खर्च, प्रगति विवरण देखिने गरी यो महिना ह्वात्तै बढेको छ । पुँजीगत खर्च बढ्नु राम्रो पक्ष हो तर असारे विकासले कत्तिको दिगो रुप देखाउने हो वा होइन ? यो भविष्यले बताउला ।
आर्थिक प्रणालीलाई चुस्त र दुरुस्त बनाइ सुशासन कायम गरेर राष्ट्रिय विकासमा सबैको सहभागिता सहयोग र सद्भाव कायम राख्नु र विकासले फड्को मार्ने उद्देश्य बोकेर वर्षौँदेखि अभ्यास गरिँदै आएको आर्थिक वर्ष कायम राख्नु यो राम्रो पक्ष मानिन्छ । आ.व. ०७८÷०७९ वर्ष यही असारमसान्तदेखि सकिँदै छ । पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च, केन्द्र, प्रदेश र स्थानीयको यस महिना बढी ध्यान खिचिएको पनि छ ।
विकासको पूर्वाधार निर्माण गर्न लागि परेको जनशक्तिलाई व्यवस्थित गर्दै राष्ट्रिय राजनीतिमा सुशासन कायम गरेर विकासको प्रत्याभूति देखाइ आम जनसमुदायमा सेवा पु¥याउनु यो राम्रो पक्ष मानिन्छ । राष्ट्रिय राजनीतिमा अनुशासन कायम गर्दै पुँजीगत खर्च बढाउनुमा विकास खर्च बढ्नु र यसै अनुकूल विकास अवधारणालाई सम्पन्न गर्नु सबैको दायित्व पनि हो । यस वर्ष छुट्याएको बजेट यसै वर्ष खर्च गरिसक्नुपर्ने प्रावधान आर्थिक वर्षको अन्त्यमा खर्चको मात्रा बढ्नु, सम्पन्न योजनाको भुक्तानी हुन बाँकी रकम खर्च हुनु स्वाभाविक पनि मानिन्छ ।
जनइच्छानुसार आवश्यकता पहिचान गरी विकासका लागि छुट्याइएको योजना फरफारक गर्ने, सम्पन्न गर्ने कार्यमा सबैको ध्यान पुग्नु यो पनि राम्रो पक्ष मान्नु पर्छ । माग र आपूर्तिमा सन्तुलन कायम गर्न तथा आगामी वर्षका लागि गरिने योजना छनोटदेखि बजेट व्यवस्थापन गर्दै जाने, चालु आर्थिक वार्षको बजेट अर्को वर्ष खर्च गर्न नपाइने कानुनी प्रावधान राखिनु आर्थिक कार्य प्रणालीलाई चुस्त दुरुस्त राख्नु पनि हो । यसलाई सकारात्मक पक्ष मानिन्छ ।
नियम र प्रक्रिया पु¥याइ खरिद नियम ऐन अनुसार कार्ययोजना बनाइ योजनालाई चुस्त, दुरुस्त र सम्पन्न गर्नु यो पनि राम्रो पक्ष मानिन्छ । यस वर्षमा गरिने कार्ययोजनाले प्राप्त गरेको सफलता र समस्याको मूल्यांकन गरी आगामी वर्षको लक्ष्य र उद्देश्य निर्धारण गर्दै नीति अवलम्बन गर्नु आफैमा वैज्ञानिक पनि मानिन्छ । देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था तथा जनजीविकाका लागि आवश्यक पूर्वाधारको समीक्षा गर्दै विकासका अवधारणा तयार गर्न यसले सघाउ पु¥याएकै हुन्छ ।
राष्ट्रको आर्थिक अवस्था कुन गतिमा गएको छ ? राजस्व परिचालन कसरी भएको छ ? जनशक्तिको उचित व्यवस्थापन भएको छ कि छैन ? जनताको क्रय शक्ति के–कसरी वृद्धि भएको छ ? हिजो, आज र भोलिको अवस्था कसरी सुदृढ गर्न सकिन्छ ? यी लगायत आर्थिक हिसाबले राष्ट्र कति सम्पन्न भयो ? आर्थिक क्षेत्र कति पारदर्शी भयो ? भ्रष्टाचार र शोषणको अवस्था अन्त्य भयो वा भएन ? राजनीतिक क्षेत्रलगायत राष्ट्रिय चिन्तकहरुमा पलायनवादी सोच बढ्यो वा बढेन ? आदि कुराहरुको समीक्षा गर्न आर्थिक वर्षको सुरु र अन्त्य हुने परिपाटी आफैमा राम्रो र विज्ञानसम्मत पनि छ ।
समीक्षा र मूल्यांकन गरी राष्ट्रिय विकासका लागि योजना निर्माण थालिनु, सुनौलो भविष्य निर्माणमा सघाउ पुग्नु पनि हो । यति हुँदाहुँदै पनि असार मसान्तलाई नै आर्थिक वर्षको अन्तिम महिना मानी आसारको वर्षे झरीमा निर्माण कार्य गर्नु कति उपयुक्त होला ? यो निकै पेचिलो बहस भएर वर्तमानमा देखापरेको छ ।
विकास जनताको आवश्यकता पूरा गर्ने उद्देश्यले गरिएको हुन्छ । समृद्ध राष्ट्र र सुखी नेपालीको नारासँग जोडिएका विकासका हरेका पक्षमा समयसीमा निर्धारण गर्नु यो स्वाभाविक विषय हो । एक आर्थिक वर्षको योजना, सोही आर्थिक वर्षमा सम्पन्न हुनु भनेको विकासले अर्को नयाँ चरण सुरु गर्ने अवसर पाउनु पनि हो । एउटै योजना लगातार पाँच–दश वर्षसम्म निर्माण चरणमा रहनु भनेको राज्यकोषको दुरुपयोग हुनु हो । भ्रष्टाचार र कमिशनतन्त्रले प्रभाव जमाउनु हो । यसले न त विकासशक्तिमा नयाँ आधार तयार गर्न सक्छ न त राष्ट्रिय विकासको आधार मजबुत बनाउन सक्छ ।
तसर्थ, विकासको गतिलाई जनताको घरदैलोमा पु¥याउने इच्छाशक्ति बढाउनु छ भने असारेझरीमा हुने विकासलाई रोक्न जरुरी छ । किनकि असार महिना भनेको खेतीपाती लगाउने विशेषतः धानखेती लगाउने समय हो । यसबेला सबै नेपाली आफ्ना खेत गहरामा हलो र गोरुसँगै आफ्नै पसिना बगाइरहेका हुन्छन् । समयमै धान नलगाए आफ्नो वर्षदिनको खाना, चाचा रोकिन्छ भन्ने डरले बिहान सबेरैदेखि राती अबेरसम्म खेतमै नारिएका हुन्छन् हाम्रा पाखुराहरु ।
सरकारले समेत असार पन्ध्रलाई धान दिवसको रुपमा मनाउँदै आएको छ । यो महिना सडक, बाटो बनाउने होइन, प्रकृतिको वरदान प्राप्त नेपाली माटोमा सून फलाउने कार्यमा लाग्ने समय हो । यो कुरा स्वयम् सरकारले पनि स्वीकारेको छ । यी कुरा स्वीकार्दास्वीकार्दै पनि नेपाल सरकार स्वयम् असारे झरीमा विकासका काम गर्न गराउन लागि परेको छ । नीति निर्माण गर्ने समयमा भएको बजेट सक्याउने ध्याउन्नमा बालुवामा पानी खन्याए सरी सरकार बजेट खर्च गर्दै छ । के यस अवस्थाभन्दा अगाडि विकासको गति बढाउन अरु महिना सरकारले देखेको छैन ?
असारको झरीमा विकास गर्नाले सरकारले के उपलब्धि हासिल गर्छ ? असारमा खर्च बढाउनु भनेको विकासका प्रत्येक कार्यहरु गत्तिलो नबन्नु र जनतालाई अल्मल्याउनु मात्र होइन र ? कतै आफ्नो स्वार्थ पूरा गर्ने अवसर भनेर सरकार स्वयम् लागेको त होइन ? प्रश्न उठिरहेको छ । यो कतै कमिशनको खेल त होइन ? नत्र विकास गर्ने गराउने मामिलामा असारे विकास टिकाउ हुँदैन भनी सबै नेतृत्वकर्ताले भन्दै आएका पनि छन् । तैपनि लागिपरेकै छन् । यही काम जेठ २५ सम्म सम्पन्न गरेको भए विकास टिकाउ त हुने थियो ।
बुद्धि कहिले फिर्ने हो ? दुनो गाईझँै विकासको नाममा बजेट भ्याउने ध्याउन्नमा हाम्रो चिन्तन त बढेको होइन ? त्यसैले समयमै यसको निराकरण गर्न जरुरी छ । राजनीतिलाई विकाससँग जोड्ने हो भने विकास जे–जस्ता गर्छौँ टिकाउको गर्न जरुरी छ । जनचाहना अनुसार हुन जरुरी छ । होइन भने विकास गर्छौं भन्ने नारा अब राख्नु हुँदैन । विगत केही वर्षदेखि असारे विकासले समृद्ध नेपाल बन्नसक्दैन भन्ने आवाज उठाइँदै छ ।
स्वयम् नीति निर्माणकर्ताहरु पनि यसमा सहमत छन् तर पनि निर्माण तहमा पुग्दा उनीहरुको विचार किन परिवर्तन हुन्छ ? यो गम्भीर चिन्तनको विषय बनेको छ । जनताको सामू आउँदा यो वर्ष असारे झरीले विकास गर्न दिएन, यो परम्परा पनि ठिक होइन भन्ने तर आफू स्वयम् निर्माणकर्ताको रुपमा प्रस्तुत हुँदा यस्तो अवस्था आउने किन ? पद र प्रतिष्ठा कायम गरी अकुत सम्पत्ति कमाउने ध्याउन्नमा नेता लागेका त होइनन् ? यो सर्वत्र चर्चाको विषय बनेको छ ।
यसरी निहित स्वार्थतर्फ नेतृत्व केन्द्रित हुँदै जाने हो भने हाम्रो अवस्था कस्तो होला ? हाम्रो स्वतन्त्र अस्तित्व कसरी समृद्ध होला ? एउटै योजना निर्माणमा वर्षौँ लाग्ने हाम्रो नीति त्यस नीतिलाई अनुकरण गरी क्षणिक खुसी र आशक्तिमा रमाउने हाम्रो प्रवृत्तिमा कहिले सुधार होला । तसर्थ, समय र परिस्थितिको मूल्यांकन गरी कमसेकम हामी जे गर्छौँ टिकाउ र समृद्धिका लागि गरौँ भन्ने संकल्प हामीले किन नगर्ने ?
विकासको गतिमा छलाङ लगाएका छिमेकी मुलुकलगायत विश्वरंगमञ्चलाई हेर्ने हो भने नेपाल र नेपालीको अस्तित्वभन्दा पछि अस्तित्व कायम गरेका मुलुकले जसरी विकास गरी राष्ट्रलाई समुन्नत ढङ्गले अगाडि बढाएका छन्, के नेपालीमा त्यस्तो धीरता र वीरता नभएको हो त ? युगको परिवर्तनसँगै बढेको हाम्रो राजनीतिक परिदृश्यले असारेझरीमा विकास गर्न अनुपयुक्त हुन्छ भन्ने मानसिकता किन जन्मन सकेन ?
यो के हाम्रो दायित्व होइन र ? हामी किन पछाडि परेका छौँ ? के हामीले पछाडि फर्केर हेर्ने प्रयास ग¥यौँ ? तसर्थ राष्ट्रलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनु छ भने हाम्रो परम्पराभित्रको कार्ययोजनालाई हामी सबैले एउटै आवाजका साथ निर्मूल गरी नयाँ परिवेश उद्घाटन गर्न हामी सबे लागिपरौँ । अब राष्ट्रले खोजेको विषय यही हो, चेतना भया ।