असार २५ गते सम्पन्न घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सातौँ पटक देविबहादुर डिसी निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धीहरुलाई फराकिलो मतान्तरले पछि पार्दै उनी लगातार चुनाव जित्दै आएका छन् ।
१८ वर्ष संस्थाको नेतृत्व गरिसकेका उनी पुनः तीन वर्षका लागि अध्यक्षमा चुनिएका छन् । डाँगीले दुई हजार २९४ मत ल्याएका थिए । घोराहीको बढ्दो जनसंख्या र पानीको माग एकातिर छ भने अर्कोतिर उत्तर तिरको महाभारत, चुनढुङ्गा र नदीजन्य पदार्थको जथाभावी उत्खनन्ले पानीका मुहान सुक्दै गएका छन् । यो विधेमान अवस्थामा उपभोक्तालाई पानी पु¥याउन यो समितिलाई केही चुनौती समेत छन् ।
यी सबै चुनौतीलाई आत्मसात गर्दै उपभोक्तालाई शुलभ र शुद्ध पानी पु¥याउन उनको प्राथमिकतामा छ । समग्र खानेपानीको व्यवस्थापन, योजना र चुनौतीको रुपमा केन्द्रित भएर नवनिर्वाचित अध्यक्ष देवीबहादुर डिसीसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानीको सार संक्षेप ।
गोरक्षसँगको सातावार्तामा यहाँलाई स्वागत छ ?
धन्यवाद यहाँ र यहाँको पत्रिकालाई । घोराही खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको बारेमा विचार राख्ने अवसर दिएकोमा ।
खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको हालै सम्पन्न अधिवेशनबाट सातौँ पटक अध्यक्षमा निर्वाचित हुन भएको छ । त्यो पनि लोकप्रिय मतका साथ, यो समग्र जितलाई कसरी लिनुभएको छ ?
तपाईंले भनेजस्तै म घोराही खानेपानी तथा उपभोक्ता संस्थाको असार २५ मा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको छु, त्यो पनि प्रतिष्पर्धीभन्दा धेरै मतको अन्तरले । यो जित मेरोभन्दा पनि समग्र घोराहीका उपभोक्ताको जितको रूपमा लिएको छु । चुनाव एउटा प्रक्रिया हो । त्यो प्रक्रियामा मैले भाग लिएको हो । त्यो प्राविधिक विषय हो ।
प्राविधिक रूपले मैले जिते पनि समग्र जित उपभोक्ताकै हो । उहाँहरूको म प्रतिनिधि मात्र हो ।मैले प्राविधिक रूपमा नेतृत्व गरेको हो । त्यसकारण मैले यो जितलाई उपभोक्ताको जितको रूपमा लिने गरेको छु । उहाँहरू(उपभोक्ता)लाई विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छु । मलाई जिम्मेवारी दिनुभएकोमा । अर्कोतिर ‘उपभोक्ताले मलाई छोड्नै दिँदैनन्, हामीलाई पानी खुवाउने यही ‘बुढा’ हो भन्छन् । यही नै मेरो लागि उपभोक्ताले दिने गरेको माया र विश्वास हो । मलाई यहाँ धेरै उपभोक्ताले ‘पानी बा’ नाम दिएका छन् ।
धारामा पानी आएन भने उपभोक्ताले फोन गरिहाल्छन् र समस्या समाधान गर्ने भएकाले पनि उपभोक्ताले छोड्न मन गर्दैनन् । सायद त्यो माया यो चुनावमा पनि उपभोक्ताले देखाउनुभएको छ । जीवनको अधिकांश समय खानेपानीकै क्षेत्रमा काम गरेकाले बाँकी समय पनि यही क्षेत्रमा काम गर्ने इच्छा छ । ‘मलाई अब अरू केही छैन, यहाँका बासिन्दालाई पानी खुवाउन पाए पुग्छ’ त्यो नै मेरो अन्तिम इच्छा हो । त्यो उपभोक्ताले थाहा पाएर नै मलाई विश्वास गर्दै आउनुभएको छ र पटक–पटक नेतृत्वमा पु¥याउने गर्नुभएको छ ।
संस्थाको सातौँ पटकसम्म विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएका छन् । अब घोराही क्षेत्रमा खानेपानी समस्या समधानको लागि के–के योजना छन् ?
घोराही बजार र गाउँहरूमा पानीको अभाव हुन थालेको छ । मुहान सुक्दै जान थालेपछि खानेपानी थप स्रोत विकल्प खोज्नुपर्ने भएको छ । अब बबई नदीको पानी ल्याउनुपर्ने भएको छ । ‘बबईबाट लिफ्टिङ गरेर घोराहीबासीलाई पानी खुवाउने योजना अघि सारेका छौँ । त्यो सफल हुनेमा विश्वास लिएको छु । यसमा सफल भइयो भने घोराहीमा पानीको समस्या समधान गर्न धेरै काम हुनेछ ।
हाल घोराही खानेपानी उपभोक्ता समितिमा सात हजार ३०० भन्दा बढी उपभोक्ता छन् । यो संख्या हरेक वर्ष बढ्दो छ र त्यहीअनुसार पानीको खपत पनि बढ्दो छ । घोराहीमा दैनिक ४० लाख लिटरभन्दा बढी पानी आवश्यक पर्छ । ‘हरेक वर्ष पानीका उपाभोक्ता बढेका छन् । त्यसकारण अन्य योजनाको काम समेत भइराखेको छ ।
यसैगरेर केही ओभरहेड टेङ्कीको निर्माणको काम समेत भइराखेको छ । यी टेङ्कीको काम पूरा भएमा यसले पनी खानेपानी समस्या समधानको लागि भूमिका खेल्न सक्छन् । यसैगरेर कटुवा खोला र सेवार खोलामा समवलको काम समेत भइराखेको छ भने पानी जम्मा गर्नको लागि कटुवाखोलामा मिनी हाइड्याम बनाउने योजना छ ।
समग्रमा बबई लिफ्टिङ, कटुवा खोला र सेवा खोलामा समवल र मिनी ड्याम निर्माण र केही नयाँ टेङ्की निर्माणको योजना छ । ती योजनाहरूको काम थालनी भइराखेको छ । यो निर्माण पूरा भएमा लामो समयसम्म यहाँका उपमोक्तालाई पानी खुवाउन कुनै पनि समस्या हुँदैन । त्यो दिशामा काम गर्न दृढ छौँ ।
घोराही क्षेत्रमा खानी पु¥याउनको लागि जुन ‘भिजन र प्लान’ बनाएर काम समेत सुरु गर्नुभएको छ, यसका केही चुनौती छन् कि छैनन् ?
हामीले घोराही क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न केही योजनाहरू अघि सारेका छौँ । त्यसमा काम समेत सुरु भएको छ तर ती योजना पूरा गर्न धेरै रकम लाग्छ । त्यो रकम संस्थासँगै छैन । त्यो नै सबैभन्दा धेरै चुनौती छ तर पनि काममा हात हालेका छौँ । ऋण लिएर काम सुरु गरेका छौँ । भोलि त्यो रकम तिर्न नसकेमा समस्या हुन्छ । त्यतातिर पनि ध्यान दिनुपर्छ ।
बबई लिप्mिटङ मात्र ६५ करोडको योजना हो । त्यो योजनाको काम ऋणमा लिएर गर्ने हो । अन्य योजना सम्पन्न गर्नको लागि पनि चुनौती छ । समग्रमा अन्य चुनौतीभन्दा पनि आर्थिक चुनौती बढी हो तर सबै क्षेत्रको सहयोग र सहकार्यले ती चुनौतीलाई चिर्दै अघि बढ्ने विश्वास लिएको छु । साथै पछिल्लो समयमा चुनढुङ्गा उत्खनन् मुहान जोगाउने सन्दर्भमा चुनौतीका रूपमा छ ।
मुहान क्षेत्रमा यस्ता सम्भावित उत्खनन्को स्वीकृति रोक्न नसक्दा धेरै समस्या छ । वातावरणमा बढिरहेको तापमानका कारण वर्षातको दर कम हुँदै गएको, अव्यवस्थित सहरीकरणले परेको पानी पनि संश्लेषण हुने क्रम कमी भएको तथा पानी सोस्ने चुनढुङ्गालगायत वनजंगल पनि विनाश हुँदै गएकाले मुहान जोगाउनु नै अहिलेको मुख्य आवश्यकता देखेको छु ।
खानेपानीको मुहान संरक्षणमा के गर्न आवश्यक छ ?
मान वजीवनको मुख्य आधार नै पानी हो । पानीका स्रोत वर्षेनी घटिरहेको विषयलाई हामीले देखे नदेखेझैँ गरिरह्यौँ भने महासङ्कट अवश्यम्भावी छ । बाजा बजाएरै आइरहेको यो दशाप्रति हामी सबै गम्भीर बन्नुपर्छ ।
पानीका मुहान संरक्षणमा हामीले केही योजना बनाएर काम थालेका छौँ । पानीका मूल नसुकाउनका लागि विकास निर्माणका गतिविधि गर्दा जस्तो कुनै बाटो बनाउँदा या पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन । त्योप्रति हामीले खबरदारी गर्दै आएका छौँ । अब यसमा उपभोक्ता पनि सचेत बन्नु पर्छ । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ ।
पानी संरक्षणका ठाउँ–ठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना भएमा धेरै राहत हुन्छ, यसमा स्थानीय सरकारले विशेष रूपमा काम गर्नसक्छ । जल आपूर्ति प्रणालीलाई अक्षुण राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलाई पिउन तथा सिंचाइका लागि पानीको आपूर्ति हुन्छ । यसतर्फ हामीले योजना बनाएर काम गर्नेछौँ ।
अन्त्यमा केही भन्नु छ ?
फेरि पनि धन्यवाद ! यहाँ र यहाँको पत्रिकालाई । घोराही क्षेत्रको खानेपानीको बारेमा यो विचार राख्ने अवसर दिएकोमा । हामी एउटा लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर संस्थाको नेतृत्व गर्ने ठाउँमा आएका छौँ । यो जिम्मेवारी दिने घोराही क्षेत्रका उपभोक्तालाई विशेष धन्यवाद व्यक्त गर्दछु ।
निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्न चाहन्छु । विशेष गरेर प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ, मानव तथा जीवित प्राणीका लागि खानाको करिब तीन भाग बढी पानी प्रयोग हुन आवश्यक छ । नेपालको कूल क्षेत्रफलको २.६ प्रतिशत पानीले ओगटेको छ । मानव जीवनका लागि पानी अपरिहार्य छ । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु¥याउँछ ।
मानव जीवनको मुख्य आधार नै पानी हो । पानीका स्रोत वर्षेनी घटिरहेको विषयलाई हामीले नदेखेझैँ गरिरह्यौँ भने महासङ्कट अवश्यम्भावी छ । पानीका मूल नसुकाउनका लागि विकास निर्माणका गतिविधि गर्दा विशेष ध्यान दिनु पर्छ । जल आपूर्ति प्रणालीलाई अक्षुण राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलाई पिउन तथा सिंचाइका लागि पानीको आपूर्ति हुन्छ ।
साथै पछिल्लो समयमा चुनढुङ्गा उत्खनन् मुहान जोगाउने सन्दर्भमा चुनौतीका रूपमा छ । मुहान क्षेत्रमा यस्ता सम्भावित उत्खनन्को स्वीकृति रोक्न नसक्दा धेरै समस्या छ । वातावरणमा बढिरहेको तापमानका कारण वर्षातको दर कम हुँदै गएको, अव्यवस्थित सहरीकरणले परेको पानी पनि संश्लेषण हुने क्रम कमी भएको तथा पानी सोस्ने चुनढुङ्गालगायत वनजंगल पनि विनाश हुँदै गएकाले मुहान जोगाउनु नै अहिलेको मुख्य आवश्यकता छ ।