गोरक्ष समाचारदाता
दाङ, २५ असार । घोराही उपमहानगरपालिकालाई घोराहीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको हो ।
घोराहीलाई जिल्लाको नवौँ पालिकाको रूपमा घोषणा गरिएको हो । असारमसान्तसम्म जिल्लाका सबै पालिकालाइ पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिसक्ने लक्ष्य लिएको छ । उपमहानगरपालिकामा बसोबास गर्ने सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका खोप पाएको प्रमाणित भएको छ ।
नेपाल सरकारले १३ वटा सरुवा रोग लाग्नबाट बच्नका लागि विभिन्न ७ प्रकारका खोप सबै बालबालिकालाई निःशुल्क लगाउने नीति लिएको छ । वडा खोप समन्वय समितिले आ–आफ्नो वडाका सबै बालबालिकालाई पूरै खोप लगाएको प्रमाणित गरेसँगै उपमहानगरपालिकाले खोप सुनिश्चितता तथा दिगोपनाका लागि जिल्ला खोप समन्वय समितिमा आग्रह गरेको थियो । खोप समन्वय समितिले पनि तथ्यगत विवरण प्रमाणीकरणसँगै घोराही उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिकाका रूपमा घोषणा गर्दै प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माले बालबालिकालाई खोप मौलिक हक भएको भन्दै सबैलाई नछुटाइ खोप लगाउन आग्रह गरे ।
‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरेको छ, त्यसमा बालबालिकालाई अनिवार्य खोप पनि मौलिक अधिकार भित्रकै कुरा हो’, प्रमुख शर्माले भने, ‘नेपाल सरकारको स्वास्थ्य रणनीतिलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य क्षेत्रसँगै स्थानीय जनप्रतिनिधिको पनि अहम् भूमिका रहन्छ ।’
उनले नेपाल सरकारले लिएको यो लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का लाग्नुपर्ने समेत बताए । स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उनले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनका लागि नेपाल सरकारले ल्याएको अभियानलाई सबैले आत्मसात गर्न उनले आग्रह गरे ।
नगर प्रमुख नरुलाल चौधरीले स्वस्थ नागरिक नहुँदासम्म देश समृद्ध हुन नसक्ने बताए । ‘स्वस्थ नागरिक भए मात्र देशको विकास हुन्छ’, उनले भने । यसका लागि राज्यले स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढेको उनको भनाइ रहेको थियो । खोप सुनिश्चिता मात्र ठूलो कुरा नभइ गुणस्तरीय हुनुपर्ने नगर प्रमुख चौधरीले बताए । ‘यसका लागि उचित व्यवस्थापन गर्न जरुरी रहेको छ’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले घोषण पछि पनि निरन्तरता हुने बताए । ‘यो निरन्तर चल्ने प्रक्रिया हो’, प्रमुख शाहीले भने । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, स्वास्थ्य उपसमितिका संयोजक मधुसूदन शर्मा, लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख नारायण शर्मा, महिला स्वयम्सेवीका घोराही उपमहानगरपालिकाका अध्यक्ष विना खनाल, स्वास्थ्य कार्यालय दाङका खोप कार्यक्रम अधिकृत किशोर आचार्यलगायतले भनाइ राखेका थिए । जनस्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ठाकुर खनालले गरेका थिए ।