गोरक्ष समाचारदाता
बेलझुण्डी, २५ असार । बेलझुण्डीमा गत १९ गते बाह्रौ राष्ट्रपति रनिङ शिल्ड विजेताहरूलाइ बधाई दिन र प्रोत्साहन गर्न दशवटै तहका जनप्रतिनिधि जुटेनन् । एक जना वडाध्यक्ष, एक जना पूर्व राष्ट्रियसभा सदस्य र एक जना जिल्ला समन्वय समितिका उपप्रमुखको मात्रै झिनो सहभागितामा विजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरियो ।
उपस्थितिको हिसाबले झिनो उपस्थिति त छँदै थियो, त्यसमा पनि मनसुनी वर्षातका कारण प्रमुख अतिथि कोमल वलीले समेत पाराफिट मुनिको कभर्ड वेमा मन्तव्य दिइन् । भनिन्, ‘हामीले खेलकुदको महत्वलाई राम्ररी बुझ्न जरुरी छ, यसको महत्व राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छ ।’ रिमझिम वर्सातका बीच सवै मेडल विजेताले तक्मा कार्यक्रम स्थलमै पाउन सकेनन्, प्रमाणपत्र पाउनेले पनि भिजेका प्रमाणपत्रले चित्त बुझाउनु प¥यो ।
दाङ जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखलाई समेत बधाई तथा पुरस्कार वितरण समारोहमा आमन्त्रण गरिए पनि उनीहरूले खेलकुद क्षेत्रलाई महत्व दिएनन् । एकजना खेलाडीले भने, ‘खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नु भनेको छ, डनहरूलाई चन्दा दिनुजस्तै मान्छन् स्थानिय सरकार …।’
तुलसीपुरको गोरखा माविले लगातार तीन पटकसम्म राष्ट्रपति कप जितेर शिल्ड कब्जा ग¥यो तर स्थानीय सरकारले आफ्नो पालिकाको विद्यालयले शिल्ड कब्जा गरेकोमा धन्यवादको एक शब्द पनि बोलेन । खेलाडीहरू जति हौसिए पनि स्थानीय सरकारले अपनत्व लिन नसक्दा उनीहरूको हौसलाले सार्थकता पाउन कठिन छ ।
शुक्रवार प्रदेश स्तरकै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दाङमै शुभारम्भ भयो तर यसमा एकजना प्रदेश सरकारका राज्यमन्त्री प्रमुख अतिथि बनेर उद्घाटन गर्नुबाहेक प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको सम्मान गर्न सकेन, दाङको स्थानीय सरकारले ।
घोराही र तुलसीपुर उपमहानगरपालिकाको करिब बोर्डर क्षेत्र बेलझुण्डी रङ्गशालामा आयोजना भएको प्रदेश स्तरीय खेलकुद प्रतियोगितालाई न घोराहीका जनप्रतिनिधिले मान्यता दिन सके न त आयोजना स्थलको स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले नै, न स्थानीय प्रशासन र प्रहरी अधिकारीहरू खेल जगतलाई हौसला दिन कार्यक्रम स्थलमा आउन भ्याए ।
दाङ जिल्लाको केन्द्रविन्दु मानिने बेलझुण्डी रङ्गशालामा यो प्रतियोगिता भइरहँदा पालिकाका जनप्रतिनिधिहरू भने राष्ट्रपतिको नामसँग जोडिएको प्रदेश प्रतियोगितालाई महत्व नदिएर पालिकाका बजेट सक्ने विभिन्न सम्मान कार्यक्रममा सरिक भएका छन् ।
‘खेल क्षेत्रलाई बुझ्ने सरकार भैदिएको भए योमध्य वर्सातको झरीमा बल्ल प्रदेश प्रतियोगिता गर्नुपर्ने थिएन, सामान्यतया खेलकुदको के स्याडुल छ भने स्थानीय तहको खेल फागुनमै सक्ने, बैशाखसम्म प्रदेश प्रतियोगिता र यो समयमा राष्ट्रिय प्रतियोगिता हुनुपर्ने हो’, एक जना खेल प्रशिक्षकले कार्यालयको हलमा भनिरहेका थिए । खेलकुद क्षेत्रलाई बुझ्नसक्ने जनप्रतिनिधि नहुँदा यो समस्या भएको छ । दाङमा मात्रै नभएर पछिल्लो दुई दशकयता धेरै पालिकामा खेलप्रतिको उत्साह निकै कमजोर छ ।
एथ्लेटिक्स, भलिबल, कराँते, तोक्वान्दो, कवड्डी तथा उसु गरी जम्मा ६ विधामा राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता हुँदै आएको छ । स्थानीय तहमा प्रशिक्षक नभएका कारण यी सबै खेल सबै जिल्लामा भने अझै हुने अवस्था छैन ।
दाङको जिल्ला स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा उसु खेल समावेश भएको थिएन । किनकि उसु खेलाउनका लागि दाङ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षक नै व्यवस्थापन हुन सकेको छैन तर अहिले यही बेलझुण्डी रङ्गशालामा उसु प्रतियोगिता समेत सम्पन्न हुँदैछ । किनकि अन्य जिल्लामा उसु खेल पनि हुने भएकाले त्यहाँका खेलाडीहरू यहाँ सहभागी हुनेछन् ।
दुई वर्ष अघि राष्ट्रिय खेलकुद प्रतियोगिता पनि यही रङ्गशालामा भएको थियो । अहिले प्रदेश स्तरीय प्रतियोगिता पनि यहीँ हुँदा जिल्ला अहिले खेल पर्यटनजस्तै बनेको छ । जुन होटेलमा पुगे पनि एक न एक जना खेलाडीकै बसाइँ छ ।
आयोजक संस्था प्रदेश खेलकुद परिषद्काअनुसार खेलाडी र अफिसियल गरी कम्तिमा एक हजार तीन सय जना करिब एक साता दाङमा बस्ने छन् । यद्यपि, खेलकुद प्रतियोगिता भने तीन दिन मात्रै हुने आयोजकले जनाएको छ । यो प्रतियोगिताले दाङ जिल्लाका होटलहरू भरिभराउ छन् । बेलझुण्डी क्षेत्रमा होटल र खाजाघर नभए पनि चना चट्पटे र चाउचाउ बिस्कुटको व्यापार भने बढेको छ ।
रङ्गशालाभित्रै अस्थायी रूपमा यस्ता व्यवसाय सञ्चालन भएका छन् । यसलाई पनि एउटा समृद्धिको आधार मान्न सकिने तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष टेकराम खड्काले बताए । आफूहरूले खेलाडीहरूलाई अन्य नागरिकभन्दा सहुलियत दिएर कोठा व्यवस्थापन गरेको पनि उनको अभिव्यक्ति थियो ।
बेलझुण्डी रङ्गशाला आसपास अहिले ठूला बसदेखि साना सवारी साधनको पार्किङले भरिभराउ भएको छ । स्थानीयको व्यापार व्यवसायमा पनि केही दिनका लागि सुधार आएको छ ।
खेल क्षेत्रमा पुनर्जागरण आवश्यक : प्रमुख अतिथि श्रेष्ठ
यसैबीच प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रवार बेलझुण्डी रङ्गशालामा उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका राज्यमन्त्री अर्जुन श्रेष्ठले सो प्रतियोगिताको उद्घाटन गरे । वर्सातको झरीबीच उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठले चाहेजति बोल्न पाएनन्, किनकि सक्रिय मनसुनका कारण सहभागीहरूको भागदौड सुरु हुन थालेको थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले दाङ जिल्ला भौगोलिक हिसाबले खेलकुद प्रतियोगिताका लागि अत्यन्तै उपयुक्त जिल्ला भए पनि खेलाडीहरूलाई यो अवसर प्राप्त हुन नसकेको बताएका छन् ।
त्यसका लागि प्रदेश सरकार अब थप क्रियाशील भएर खेल क्षेत्रमा पुनर्जागरण ल्याउने बताए । सुस्ताएको खेल क्षेत्रलाई पुनर्जागरणमा ल्याउन खेलाडीहरूको वृत्ति विकासलगायतका कार्यक्रम ल्याउन आवश्यक रहेको पनि उनको अभिव्यक्ति थियो । खेल मानव स्वास्थ्यसँग जोडिएको विषयसँगै यही क्षेत्रले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्ने अभिव्यक्ति दिए ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास समितिका कोषाध्यक्ष कोशिस खड्काले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।