विनोद पोख्रेल
२०७७ चैत ५ गते
आज पनि उही पुरानै झ्याल । उस्तै आधा उदाएको सूर्य । सफा मौसम । सडकमा मानिसको पातलो उपस्थिति सवारीका साधनहरु पनि फाटफुट मात्रै । सधैको जस्तै जीवन । सडक भने यति दिनभन्दा अली बढी सुनोजस्तो । मैले मानेको मात्रै पनि हुनसक्छ । उता राजनीतिमा को बलियो वा को सही भन्ने खेल चलेकै छ । उनीहरुको त्यो व्यस्ततासँग यहाँ केही मतलब छैन । यस्त ाखेलहरु सीमित व्यक्तिहरुमा खेलिने हुन् ।
हिजो पनि खेलिएकै हो र आज पनि खेलिँदैछ । भोलि पनि यस्तो भइरहन्छ । संसदीय पद्धति मान्नेले समेत संसद चल्न नदिने अभ्यास गर्न थाले । कति नियम बनाउन बाँकी नै छ । भन्छन्– उनीहरु आफै । कति अध्यादेश खारेज गर्नुपर्ने पनि भन्छन् । तर संसद चल्न दिँदैनन् । भोलि ६ गतेको लागि संसद बोलाइएको छ । अब त सबै कुरामा शंका गर्नुपर्ने भएको छ । राजनीति यति गैरजिम्मेवार भएको मैले पहिलो अनुभव गर्दैछु ।
मैले सधै राजनीतिलाई विचार, नैतिकता, जिम्मेवारी र अनुशासनसँग जोडेर हेरेँ । पद त आउने–जाने हो । राजनीति स्थायी पक्ष हो तर यहाँ कुनै पक्षमा यी कुरा पाइएन । आफै संसद भंग गरेर निर्वाचनको मिति समेत तोक्दा पनि राजीनामा नदिने, संसद पुनःस्थापना भएपछि आफ्नो कदम गलत प्रमाणित भएको अनुभूति समेत नगर्ने, पद नछोड्ने पनि छन् भने संसद पुनःस्थापना पछि पनि विकल्प दिन नसक्ने बरु त्यही सरकारलाई समर्थन जनाउने राजनीतिक कमजोरीहरु पनि देखिए ।
जसले गल्ती गरेको भनेको हो र जसको विकल्प खोजेको हो उसैलाई फेरि समर्थन गर्नु नै थियो भने हिजो विरोध गर्नु कारण के थियो ? हुनत आम नागरिकलाई यो सरोकारको विषय होइन । तर कति गतिविधिहरु देख्दा पनि दिक्क लाग्ने हुने गर्छन् । त्यतातर्फ ध्यानै नदिने भन्दा पनि गतिविधि नै यस्ता हुने गर्छन् कि धेरै वा थोरै ध्यान गैहाल्छ ।
राजनीतिलाई कसै–कसैले ‘डर्टीगेम’ पनि भनेका छन् । यसमा साँच्चै नै जिम्मेवारी, इमान्दारीजस्ता कुरा भएनन् भने यो डर्टी गेम बन्ने रहेछ । वर्तमान नेपालको राजनीति डर्टीगेमको पराकाष्ठा जस्तो लाग्छ । यस्तो परिवेशमा अरु दलको मौनता समेत धमिलो पानीमा माछा मार्ने चाल होजस्तो लाग्छ । आफ्नो स्वार्थ पूरा गर्ने मौकाको रुपमा यसलाई प्रयोग गर्ने सोच धेरको छ ।
फौजदारी मुद्दामा जेल परेका व्यत्तिःको रिहाईको कुरा समेत उठ्छ र त्यसैलाई आफ्नो जिम्मेवारीको रुपमा व्याख्यासमेत गरिन्छ । तर शान्ति, सुरक्षा, महंगी, अनियन्त्रित बरवृद्धि, भ्रष्टाचार आदिको निराकरणका लागि जिम्मेवारी लिन कोही तयार छैन । सर्लाही माल कार्यालयमा विस्फोट गराइयो ।
त्यो सामान्य समाचार बन्यो तर चर्चाको विषय बनेन । बनेको छैन । यता एउटा समूहको हिजो र आजको भेला, थुनिएको एकजना व्यक्तिको रिहाई अहिले बढी चर्चामा छन् । कहिलेकाहीँ त सबै नागरिकलाई भागबण्डा अनुसारको कार्यकर्ता बनाउन प्रयास गर्ने वर्तमान राजनीतिलाई नै विदा गर्ने उपाय खोज्न मन लाग्छ ।
२०७७ चैत ६ गते
स्वास्थ्यको हिसाबले सामान्य नै छु । तर पनि आजभोलि मनलाई सन्तुष्टि दिने गरी लेख्न नसकेको जस्तो लाग्छ । धेरै भयो साहित्यको बारेमा नलेखेको । राजनीतिबारे सायद लेखिसकेँ । कति दोहो¥याउने जस्तो पनि लाग्छ ।
मानिसको दिमागमा धेरै वा थोरै प्रभाव पार्ने केही काम या कुराहरु मात्रै भए पनि भयो भने नयाँ शैली वा नयाँ विषयजस्तो लाग्छ, लेख्न मन लाग्छ । नत्र यस्तो स्थिति पनि आउँदो रहेछ कि जम्मै कुराको दोहोरिने मात्रै डर हुनेरैछ । सायद यसले नियमित लेख्नेले दोहोरिए पनि दैनिकीको रुपमा लेख्ने गर्छन् । हिजो बिहान उठेदेखि सुत्ने बेलासम्म जे–जे भयो त्यही वर्णनात्मकरुपमै लेख्यो । न विषयको चिन्ता न लेखाई लामो वा छोटो हुने डर ।
कहिलेकाहीँ त ४–६ लाइनमै पनि सकिने । कहिले २–४ पन्ना पनि हुने ।मैले त्यो चाहेन । व्यक्तिको दैनिकी उस्तै–उस्तै गरी बित्ने हो । परिवेश र स्थान फेरिएपछि मात्रै केही फरक पर्ने हो । म अब यी कुराहरु पिरिने वा फेर्ने स्थितिमा छैन । अनि को को दैनिकी लेख्नु ! भावना व्यक्त गर्ने कुरामा विषयको चिन्ता पनि हुँदैनन् । ठेगान पनि हुँदैन ।
म अहिलेसम्म भावनाप्रति इमान्दार छु । एउटा गल्ती भने भएको जस्तो लाग्छ । यो एक पन्नाको सीमा नराखेको भए सजिलो हुन्थ्यो कि भन्ने लाग्छ । तर सबै कुरामा खुला हुँदाहुँदै पनि कुनै सीमा त लगाउनै पर्छ भन्ने निर्णयको भरमा यही एउटा सीमा लगाएको छु । त्यति मैले व्यवस्थापन गर्न सक्नैपर्छ । यति क्षमता त ममा हुनैपर्छजस्तो लाग्छ ।
लेख्नपर्ने भन्ने मानसिकता अब एउटा बाध्यकारी कामजस्तै भएको छ । के गर्ने भनेर सोच्न नै छोडिसकेको छु । लेख्ने हो लेख्नपर्छ । बिहान उठेर फ्रेस हुने र लेख्ने । फ्रेस हुन जति आवश्यक छ, लेख्न पनि त्यत्तिकै आवश्यक छ भन्ने मेरो मानसिकताले स्वीकार गर्नैपर्छ । मानिस भावनाविहीन हुनै सक्दैन । भावना फरक–फरक हुन्छन् । जुन दिनमा लेख्न लायक भावना हुँदैन अथवा बढी नकारात्मक भावनाहरु हुन्छन्, त्यसदिन अलि अप्ठ्यारो लाग्छ ।
त्यसको पनि कारण छ । मैले आफ्नो बारेमा जति लेखे पनि अरुको बारेमा नलेख्ने निर्णय गरेको छु । बढी नकारात्मक कुरा नलेख्ने निर्णय गरेको छु । कसैले जीवनमा या जीवनपछि समेत आलोचनाको पात्र बनाउने गरी कुनै विषय नलेख्ने निर्णय गरेको छु । गर्न त आफ्नो बारेमा पनि सकेसम्म थोरै लेख्ने निर्णय गरेको हो तर यो निर्णयमा म अड्न सकेनजस्तो लाग्छ ।
अझ बिरामी भएपछि त बढी आफ्नै बारेमा नै अभिव्यक्त भएको छजस्तो लाग्छ । तैपनि धेरै निर्णयहरु मानेकोमा सन्तुष्ट नै छु । व्यक्तिगत असन्तुष्टिहरु अभिव्यक्त गर्न नपरेको वा नगरेकोमा पनि सन्तुष्ट छु । कति कुरामा चित्त बुझ्दैन । तर आफूले केही गर्न नसकेपछि चुप लाग्नु र जे–जस्तो छ त्यसैमा चित्त बुझाउनु राम्रो हुन्छ ।