स्नातक तहको पढाइ सकेपश्चात ज्ञान ज्योति मावि बम्नैमा झण्डै दुई वर्ष अध्यापन गरेको थिएँ, त्यहीँबाट मेरो शिक्षण पेसाको औपचारिक सुरुवात भएको थियो । तर त्यत्तिले मात्र हाम्रो घरगृहस्थी चलिरहेको थिएन ।
सधैँ अभाव झेल्नु परिरहेको थियो । सोही क्रममा तुलसीपुरको बाबा स्वर्गद्वारी नामको कम्प्यूटर र ट्यूशन इन्स्टिच्यूट पनि सञ्चालन गरेँ । संस्था राम्रोसँग चल्यो । नाफा राम्रो बन्दै गयो । जसले मलगायत मेरो परिवारलाई आर्थिक रूपमा माथि उकास्न ठूलो मद्दत पु¥याएको थियो । महिनामा बचत कति हुन्थ्यो भन्ने मलाइ अहिले एकीन हेक्का छैन तर राम्रै हुन्थ्यो । सोही समयमा ज्ञान ज्योति माविले विद्यालयको खर्चमा ५÷६ महिना विभिन्न कम्प्यूटर कोर्श अध्ययन गर्न काठमाडौं पठाएको थियो ।
जुन अवसर मेरो शिक्षण पेसाको इतिहासमा एउटा बलियो खम्बाजस्तै भयो । किनकि सोही ज्ञानको कारण त्यतिबेलादेखि आजसम्म मैले कक्षा ९ र १० मा कम्प्यूटर विज्ञान विषयको अध्यापन गरिरहेको छु । ज्ञान ज्योति विद्यालय परिवारलाई फेरि पनि मैले स्मरण गर्न चाहन्छु । लेखिदिनुहोला मेरो खुसी बाबा स्वर्गद्वारी कम्पयूटर एण्ड ट्यूशन सेण्टर … ।
त्यसो त जिन्दगी पानीजस्तै रहेछ, बगिरहने । सहजताको खोजीमा दैडिरहने । मेरा अन्य अविष्मरणीय खुसीका क्षण पनि धेरै छन् । जसलाई मैले चाहेर पनि भुल्न सक्दैन । डायरीमा होइन, ती क्षण मेरो मानस्पटलमै जीवित छन्, म बाँचुन्जेलसम्मका लागि । कक्षा ५ मा पढ्दा स्कूल बिदा भएपछि वर्षा याममा ग्वारखोलामा साथीहरूसँग पौडी खेल्न गएको बेला पानीमा डुबेको थिएँ । पछि स्कूलका साथीहरू आएर मलाई बचाए ।
मलाई नयाँ जीवन दिने ती विद्यार्थी साथीहरूलाई आज पनि स्मरण गर्न चाहन्छु । सायद यो पत्रिका पढ्नुहुने छ, उहाँहरूले पनि अनि मनमनै मलाई स्मरण गर्नुहुने छ भन्ने आशा पनि लिएको छु । डुब्दाखेरि शरीरमा पसेको पानी ती साथीहरूले पेट थिचेर निकालिदिएका थिए, मेरो मुखबाट ।
त्यसो त मेरो अर्को अविष्मरणीय क्षण पनि छ । बाबाको गाडी दुर्घट्ना र आमाको ठूलो उपचारको कारणले घरको आर्थिक अवस्था कमजोर भएको थियो । कक्षा ७ मा पढ्दा नै सानो–सानो किराना व्यवसायको सुरुवात गरेर परिवारलाई सवल बनाउँदै लगेको थिएँ र पछि गएर मैले सुरु गरेको व्यवसाय नै हाम्रो परिवारको लागि कोशेढुङ्गा सावित भयो, मसँगै भाइबहिनीहरूको शिक्षा, दीक्षा र लालनपालनको लागि ।
त्यो पसल पनि मेरो खुसी हो, जसले हामीलाई साँझबिहानको छाकबास र शिक्षा–दीक्षामा सघाउ पु¥याएको थियो । स्कूल पढ्दादेखि नै साहित्य सिर्जनामा रुची भएको कारण स्कूलको वार्षिकोत्सवहरूमा धेरै पटक कविता, गीत, गजल प्रतियोगितामा भाग लिएर पुरस्कार जितेको थिएँ, पछि–पछि मैले भाग लिँदा नै एउटा न एउटा स्थान आउँछ भन्ने ढुक्क जस्तो हुन्थ्यो, सबैलाई ।
सानोदेखिको साहित्य सिर्जनाप्रतिको यो रुचिले घोराही महेन्द्र बहुमुखी क्याम्पसमा आइकम पढ्दा एउटा फरक धार समायो, त्यसबेला एउटै रुचि र चाहना भएका मित्रहरूको जमात बन्यो । जुन जमातको संयुक्त प्रयासबाट विभिन्न साहित्यिक पत्रिकाहरूको जन्म भयो, जस्तैः पुष्पाञ्जली साहित्यिक पत्रिका, पानस साहित्यिक पत्रिका आदि आदि । पछि यो सञ्जाल देशैभरि बनेको थियो, म पनि त्यतिबेला ती पत्रिकाहरूको विभिन्न प्रकाशकीय पदमा रहेर काम गरेको थिएँ ।
मेरो साहित्यिक नाम चाहिँ बादल एलोन डिसी थियो । हामीले देशै भरिबाट प्रकाशन हुने साहित्यिक पत्रिकाहरूको एउटा राष्ट्रिय भेला पनि गरेका थियौँ, लुम्बिनीमा, पछि पढाइको रफ्तारसँगै त्यो यात्रा ओझेलमा पर्दै गयो तर केही साथिहरू अझै लागिरहनुभएको छ । मलाई लाग्छ, साहित्य पनि मेरो खुसी हो ।
खेलकुदको क्षेत्रमा पनि विभिन्न पलहरू बितायको छु । विसं २०५२ सालमा तेक्वान्दो खेल खेल्न सुरु गरेर दाङ जिल्ला हुँदै महेन्द्र नगर, सुर्खेतसम्म क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिइ विभिन्न मेडल र प्रमाणपत्रहरू जितेको छु । २०५८ सालमा तेक्वान्दो खेलको ब्ल्याकबेल्ट प्राप्त गरेको थिएँ । पछि विभिन्न राजनीतिक र प्राविधिक विवाद आएपछि त्यो व्याचका सबैले उक्त ब्ल्ययाक बेल्ट सदर गर्न काठमाडौं जानुपर्ने भएको थियो तर म पढाईको व्यस्तताको कारण काठमाडौं जान पाएनँ ।
काठमाडौं नयाँ बानेस्वरको नेपाल कमर्स क्याम्पसमा स्नातक तह बिबिएस पढ्ने क्रममा विभिन्न ट्यूशन इन्टिच्यूटहरूमा कक्षा ११, १२ लगायत बिबिएस तहकै ट्यूशन कक्षाहरू पढाएर आफ्नो पढाइ खर्च आफै व्यवस्थापन गर्दा साह्रै खुसी र गर्वको महसुस हुन्थ्यो । त्यहीँबाट मेरो शिक्षण पेसाप्रतिको झुकाव बढ्दै गएको थियो । काठमाडौं बसाइँकै क्रममा ब्रिटिस आर्मी, नेपाल आर्मीको लागि पनि विभिन्न प्रयास गरेको थिएँ तर विभिन्न चरणमा फालिएको थिएँ, सफल हुन सकिएन ।
कुनै बेला सरकारी कोटामा विदेश जाने सोच बनाएर विभिन्न मन्त्रालय र मन्त्री क्वाटर पनि धाएको थिएँ तर त्यो पनि सफल हुन सकेन । स्नातकोत्तरपश्चात विवाह बन्धनमा बाँधियो, त्यसबेलाका पनि अविष्मरणीय क्षणहरु छन, मेरो पूर्णरूपमा मागी विवाह थियो तर बिहेको कुरा पक्का भइसकेपश्चात दुई महिनापछिको लगनमा विवाह भएको थियो । अर्थात् २०६६ मंसिर २४ मा बिहेको पक्का–पक्की भयो र २०६६ माघ २४ मा विवाह भएको थियो ।
बिहेको पक्का–पक्कीपश्चात त्यही दुई महिनाको अन्तरालमा हामी दुईजनाको लभ परेको थियो, अर्थात डेटिङ जाने, घुम्ने डुल्ने र एकअर्कालाई चिन्ने मौका मिलेको थियो । त्यस्तै अर्को अविष्मरणीय पल विवाहको दिनमा भएको थियो, विभिन्न प्राविधिक कारण हाम्रो बिहे रातीको समयमा भयो । माघको जाडो त्यसमा पनि रातको समयमा म दुलाहालगायत सवै जन्ती परालको कुरुट्टेमा रात बिताएका थियौँ र बिहान उठ्दा त मलगायत सबैजना विवाहमा गएका जन्ती भन्दा लडाइँ हारेर आएका लाहुरेजस्ता देखिन्थ्यौँ ।
विसं २०६३÷०६५ मा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरदेखी स्नातकोत्तर एमबिएससम्मको अध्ययन पूरा गरिसकेर पुनः ज्ञान ज्योति मावि तुलसीपुरमा कक्षा ११ र १२ को लेखाशास्त्र विषय अध्यापन गर्न सुरु गरियो र त्यहाँको शेयर सदस्य, सञ्चालक समिति सदस्य हुँदै २०६६ देखि २०६७ सम्म दुई वर्ष इनोभेटिभ ज्ञान ज्योति स्कूलको प्रधानाध्यापक हुने अवसर मिल्यो । त्यो अवसर पनि मेरो जीवनको एउटा बलियो आधारस्तम्भ बन्यो । किनकि एउटा शिक्षणसम्वन्धी मात्र ज्ञान भएको व्यक्तिमा त्यो अवसरले प्रशासनिक ज्ञान हासिल गर्ने मौका दियो ।
त्यसपश्चात आजसम्म म विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरूमा विभिन्न पदमा रहेर काम गरेको थिएँ र गरिरहेको छु । माथि उल्लिखित खुसीका क्षणहरू हुन्, तुलसीपुर उपमहानगरपालिका निवासी डम्बर डाँगीका । बुबा नवराज डाँगी र आमा पद्मा डाँगीका २ छोरामध्ये ज्येष्ठ सुपुत्र । अञ्जु वली उनकी जीवनसंगीनी हुन् । विसं २०४१ मंसिरमा साविक उरहरी गाविस जस्पुरमा जन्मिएका डाँगीको प्राथमिक शिक्षा अमर मावि उरहरीमा भयो । महेन्द्र मावि तुलसीपुरबाट २०५७ सालमा एसएलसी ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट आइए पूरा गरेका डाँगीले काठमाडौंको मीन भवनस्थित नेपाल कमर्स क्याम्पसबाट बिबिएससम्मको अध्ययन पूरा गरे । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमबिएस अध्ययन पूरा गरेका डाँगी ले विसं २०६९ देखि २०७७ सम्म गोरखा मोडेल कलेज तुलसीपुरको क्याम्पस प्रमुख भएर काम गरे ।
हाल गोरखा माविमा संकाय प्रमुखका रूपमा कार्यरत छन् । डाँगी शिक्षा, व्यवसाय मात्र होइन, सामाजिक क्षेत्रमा पनि जोडिएका सक्रिय युवा हुन् । उनी २०७२ देखी २०७५ सम्म तुलसीपुर नगर जेसीजको क्रमशः कोषाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, पिआरओ, हँुदै अध्यक्षको उपविजेतासम्मको यात्रा गरे । हाल उनी प्रजातान्त्रिक उद्यमी व्यवसायी सँघ तुलसीपुरको कार्यसमिती सदस्य समेत रहेका छन् ।
प्रस्तुती : बालाराम खड्का