पारदर्शीता र इमानदारिताले फेरि विजयी बनायो : नगर प्रमुख चौधरी

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा घोराही उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी फेरि नरुलाल चौधरीलाई आएको छ । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार हेमराज शर्मालाई पराजित गरी भारी मतले चौधरी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा अनुमोदन भए । घोराही उपमहानगरपालिकालाई समृद्धितर्फ लैजानका लागि फेरि उनी कटिबद्ध भएर लागिरहेका छन् । त्यसका लागि नीति तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षका लागि बजेट समेत अनुमोदन भइसकेको छ । आगामी कार्यकालका लागि घोराही उपमहानगरपालिकाका प्राथमिकताका सन्दर्भमा गोरक्षकर्मी खेमराज रिजालले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग गरेको कुराकानीको सार संक्षेप ।

 दोस्रो कार्यकाल हाँक्दै हुनुहुन्छ, बधाई ।

 तपाई सहित गोरक्ष दैनिक पत्रिका परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । साथै अमूल्य मत दिएर पुनः दोस्रो कार्यकालका लागि निर्वाचित गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई यस लोकप्रिय पत्रिकामार्फत् आभार एवम् धन्यवाद ज्ञापन गर्दछु ।

 तपाईंका मुख्य कुन–कुन विकासे एजेण्डाले फेरि विजयी बनायो जस्तो लाग्छ ?

 जनताको मप्रतिको विश्वास, नरुलाल चौधरीले राम्रो गर्छ र फेरि पनि एक कार्यकाल विजयी बनायौँ भने अधुरा कामहरूलाई सम्पन्न गर्न सक्छ भन्ने नै होला । म पारदर्शी छु, इमानदर भएर जनताको सेवा गरेको छु । नगरलाई ५ वर्षको अवधिमा चिनाउने दर्जनौँ कामहरू गरेको छु । नगरलाई अझ समृृद्ध र सुन्दर बनाउन एक कार्यकाल मेरो नेतृत्व मतदाताहरूले चाहानुभयो भन्ने लाग्छ ।

सडक पूर्वाधार, सिंचाइ, फोहरको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षामा आमूल परिवर्तन गरेका छौँ । अघिल्लो कार्यकालमा गरेका कामहरूको संरक्षण, प्रबद्र्धन गर्दै कृषि, उद्यम, रोजगार, पर्यटन क्षेत्रहरूमा पनि परिवर्तन गरेर नगरबासीको आय आर्जनमा परिवर्तन ल्याउने योजना छ । समग्रमा नगरबासीले हामीले गरेका कामको राम्रोसँग मूल्याङ्कन गर्नुभएको छ ।

नगरबासीको अपेक्षाअनुसार सबै क्षेत्रमा काम गर्न नसकेका हौँला तर बिगार्ने र गलत ग¥यो भन्ने काम गरेका छैनौँ । हामी इमानदार, पारदर्शी र जनताको सेवक भएर ५ वर्ष बितायौँ र फेरि पनि मेरो उम्मेदवारीलाई जनताले अनुमोदन गर्नुभयो भन्ने लागेको छ ।

 अघिल्लो कार्यकालका अधुरा कार्यक्रमलाई निरन्तरता दिँंदै हुनुहुन्छ वा यो कार्यकालमा तपाईंका खास–खास नयाँ योजनाहरू छन् ? छन् भने बताइदिनुस् न ?

 अघिल्लो कार्यकालमा हामीले नगरको विकास र समृद्धिका लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अघि सारेका हौँ । त्यसको दिगोपनासँगै नयाँ कामको सुरुवात गरेर नमुना नगर बनाउने उद्देश्य लिएर हामी अघि बढेका छौँ । अबको ५ वर्षमा हामीले थप दर्जनौँ नयाँ काम जो नगरबासीको दैनिकी र सरोकारसँग जोडिने गरी अघि बढाउने योजनामा छौँ ।

हामीले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने र अभिभावकको विश्वास जित्ने गरी नमुना विद्यालय बनाउने कामको थालनी गर्छौँ । गाउँ र सहर जोड्ने सडकहरूलाई बहुवर्षीय ठेक्का, टेण्डरमार्फत् कालोपत्रे गर्ने कार्यक्रमको थालनी गरेका छौँ । कृषिलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्न बिउमा ८० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ । रोजगार, उद्यम र व्यवसाय सञ्चालनका लागि तालिम केन्द्रको स्थापना गर्छौँ ।

सबै वडाका बस्तीलाई बाह्रैमास सवारीका साधन चल्न सक्ने गरी सडकको मर्मत सम्भार र स्तर वृद्धि गर्छौँ । नगर स्तरीय १५ बेडको अस्पताल निर्माण गर्छौँ । मातृशिशु स्वास्थ्य सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँछौँ । नगरभित्रका नागरिकको निःशुल्क मोतियाविन्दुको निःशुल्क अप्रेशन गर्ने, सबै बिरामीलाई निःशुल्क रगत, सुत्केरीलाई खुत्रुके कार्यक्रम, ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।

समग्रमा भन्दा नयाँ योजनामा शिक्षामा परिवर्तन, गुणस्तरीय सडक निर्माण, स्वास्थ्य सेवालाई थप विस्तार, कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्ने, बिउमा अनुदान, कृषि उपकरणमा अनुदान दिएर नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र रोजगारी सिर्जना गर्ने कार्यक्रम रहेका छन् ।

 घोराही उपमहानगरपालिकालाई बाहिरबाट हेर्दा तालतलैयाले बढी परिचित बनायो अनि सामुदायिक सिंचाइ एवं वातावरणमा पनि यसको राम्रो प्रभाव देखियो, आगामी दिनमा कृत्रिम पोखरीलाई फेरि थप गर्ने योजनामा हुनुहुन्छ ? बनेका तालतलैयालाई तारबार गरी सुरक्षित व्यवस्थापनको योजना के छ ?

 आगामी दिनमा पनि कृत्रिम जलाशय बनाउने योजना राखेका छौँ । पानीबिना कृषि मात्रै होइन मानवीय जीवन समेत संकटमा देखिएकाले पानीको स्रोत बढाउने योजनालाई हामीले यस वर्ष पनि निरन्तरता दिएका छौँ । अहिले हाम्रो नगरमा नयाँ पुराना गरी झण्डै ४५ बढी जालशय रहेका छन् ।

अहिले ती जलाशयबाट सिंचाइ, पानीको स्रोत वृद्धि, माछा पालन, पर्यटन प्रबद्र्धन, वातावरण हरियाली प्रबद्र्धन भएको छ । सिंचाइका कारण अहिले किसानले मौसमी र बेमौसमी कृषि उत्पादन बढाउनुभएको छ । यसकारण पनि जलाशयको महत्वलाई हामीले बुझेका छौँ । हेर्नुस्, तालमा तारबार गर्ने कुरा के हो भने सकभर हामीले दिमागमै यो चिज खतरा छ, यसले मानिसको ज्यान लिन्छ, यहाँ पस्नु हुँदैन भनेर बुझ्नु पर्छ ।

जति तालतलैयामा मानिसको डुबेर मृत्यु भएको छ त्यो सबै पैडीखेल्न जाँदा र नुहाउन जाँदा भएको छ तर ती तालहरू पौडी खेल्न, नुहाउन, लुगा धुनका लागि बनाइएको होइन भन्ने बुझ्ने गरी हामीले बोर्डहरू लेखेका छौँ । तैपनि हामीले यस वर्ष त्यस्ता जोखिम क्षेत्रका तालको वरिपरि तारबार गर्ने गरी बजेट विनियोजन गरेका छौँ । सकेसम्म सुरक्षित नै गर्छौँ ।

 तपाईंको पालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेटमा भौतिक विकासलाई अत्यधिक प्राथमिकतामा राख्यो, मानव संसाधनको विकासमा निति तथा कार्यक्रम र बजेटले अलि कमजोर सम्बोधन ग¥यो कि ? जस्तो कि लैङ्गिक हिंसा, बालश्रम, बेसहारा बालबालिका, छाडा चौपायाको व्यवस्थापन, सडक मानवमुक्त अभियानका सन्दर्भमा अलि खुलेको देखिएन नि?

 त्यसो होइन, हामीले समग्र विकासका इन्डिकेटरलाई राम्ररी पहिचान गरिसकेका छौँ । भौतिक विकास र मानव विकासलाई सँगसँगै लैजाने हाम्रो योजना हो । सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएका छौँ । आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक विकास उत्तिकै महत्वपूर्ण पक्ष हुन् । उद्यम, व्यवसाय र रोजगारका लागि विशेष ध्यान दिएका छौँ । यसैगरी पूर्वाधारतर्फ सडक, भवनलाई पनि आवश्यकताका आधारमा प्राथमिकता दिएका छौँ ।

सामाजिक विषय पनि तपाईंले भने जस्तै निकै महत्वपूर्ण विषय हो । जबसम्म समाजको विकास हुँदैन तबसम्म अन्य क्षेको विकासको कुनै अर्थ हुँदैन । बजेट कार्यक्रमहरू आवश्यकतामा आधारित छन् । हामीले लैङ्गिक हिंसा नियन्त्रित नगर बनाउने गरी कार्यक्रमहरू अघि बढाएका छौँ । बालमैत्री नगर अघिल्लो कार्यकालमा घोषणा गरेका छौँ ।

बेसहारा बालबालिकालाई भोलानाथ योगीज्यूले सञ्चालन गर्नुभएको आश्रममा राखेर बस्ने, खाने र पढ्ने व्यवस्था गरेका छौँ । छाडा पशुचौपायालाई वडा नं. २ को चाक्लीघाटमा व्यवस्थापन गर्न सफल भएका छौँ । सडक मानवमुक्त घोषणा गरिसकेका छौँ । अहिले त्यस्ता बेवारिसे मानिस हाम्रो नगरमा हुनुहँुदैन । केही त्यस्ता व्यक्तिहरू उपचार गरेर परिवारमा पुनःस्थापित भइसक्नु भएको छ । तपाईंले जे–जे गर्नुभएन कि भनेर प्रश्न उठाउनुभयो त्यो काम हामीले यस अघिकै कार्यकालमा व्यवस्थापन गरिसकेका छौँ ।

 फोहर व्यवस्थापनमा तपाईंको पालिकाले एउटा नयाँ अभ्यास थालेको थियो, प्राङ्गारिक मल उत्पादनदेखि बायोग्यास बनाएर जनताका घरमा पु¥याउने तर अझै जनताको चुलोमा ग्यास बलेन नि ?

 फोहर व्यवस्थापनका लागि दिगो योजनाअनुरूप हामी अघि बढेका छौँ । अहिले गल्ने फोहरबाट ग्यास, मल उत्पादन भइरहेको छ भने नगल्ने फोहरलाई उपभोक्ताबाट खरिद गरेर विक्री गर्ने योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । अब हामीले नगरको फोहरलाई पैसामा बदल्ने काममा सफल भएका छौँ । शून्य ल्याण्डफिल साइट बनाउने हाम्रो योजना हो ।

सबै नगरबासीलाई हामीले भनेका छौँ कि अब फोहर होइन पैसा हो । यसबारे अभियान थालेर यसको पुनः प्रयोगबारे पनि नगरबासीलाई जानकारबनाउनेछौँ । मल तथा ग्यास पनि उत्पादन भइरहेको छ तर पाइपलाइन विस्तारमा केही ढिलाइ भएको छ । पाइप गाडेर वडा नं. १६ र १० मा ग्यास पाइपबाट वितरण गर्ने योजना छिट्टै पूरा हुने छ भन्ने विश्वास छ ।

 अन्त्यमा, आगामी कार्यकालमा तपाईंले नगरबासीबाट पनि केही अपेक्षा राख्नुभा छ कि ?

 अघिल्लो कार्यकालमा पनि सबै नगरबासी र सरोकारवालाले भरपुर सहयोग गर्नुभयो र अबको कार्यकालमा पनि मैले सबै क्षेत्रसँगको सहकार्य र सहयोगको अपेक्षा गरेको छु । विशेष गरी टोल विकास संस्थाहरू हाम्रा जग भएकाले त्यस तहका व्यक्तिलाई योजना बुझाउन सक्यौँ भने हाम्रा कार्यहरू सफल र दिगो हुन्छन् ।

सबै कामहरूमा जनताको साथ लिएर अघि बढ्ने र सबै योजनाहरू जनताको हुन् भनेर बुझाउन सक्यौँ भने हामी सफल हुने छौँ । आम नगरबासीको सफलता नै नगरको सफलता हो भनेर पनि भन्न छाहन्छु ।