नारायणप्रसाद श्रेष्ठ
मानिस आफैमा ज्ञानी हुँदैन । ज्ञान हासिल गर्न लगन र परिश्रम तथा इच्छाशक्तिको आवश्यक पर्दछ । ज्ञानमा तल्लीन रहन साधनाको जरुरी हुन्छ । जहाँ आत्मविश्वास र दृढसंकल्पका साथ दीक्षा लिने आत्मशक्तिको बोध हुन्छ त्यहाँ जीवनले प्राप्त गर्ने उद्देश्य सार्थक हुने सम्भव हुन्छ । साधना गर्छु भन्दैमा विचलित मन र भावबाट प्रेरित भइ देखावटी र बनावटी साधना गरियो भने त्यो प्रत्युत्पादक बन्न सक्छ ।
ज्ञान हासिल गर्न त्यसभित्रको सत्यतालाई ग्रहण गर्ने क्षमता राखी एकचित्त रही वाह्य वातावरणबाट पार्ने असरबाट अलग रहेर संसारलाई आफ्नो वशमा पार्ने गरी गर्न सक्ने क्षमता प्रदर्शन गर्न सक्नु पर्छ । यसको लागि साधनारत भएर अभ्यास गर्ने बानीको विकास गर्न जरुरी छ । मानिस जब शुद्ध र पवित्र मनले साधना सुरु गर्दछ तब ज्ञान र वैरागको अर्थ र परिभाषा बुझी उसले उत्तम गति प्राप्त गर्न थाल्दछ । जब मानिस एकाग्र भइ आफूलाई आफ्नो कर्म क्षेत्रमा समर्पण हुन सुरु गर्दछ तब मूलशिक्षाको ढोका आफै खुल्दछ ।
शिक्षा, दीक्षाबाट नै मानिसले वैदिक अनुराग र पराभक्तिको अर्थ र परिभाषा बुझ्न सक्षम हुन्छ । जप, तप र नियमनले साधना गरियो भने, विक्षिप्त मनलाई हटाइ एकाग्र भएर साधना गरियो भने यसको परिणाम शक्तिशाली हुनसक्छ । मानिस आफैमा सृष्टिको सर्वोत्कृष्ट सचेत आत्मा हो । यति भएर पनि भौतिक सुख र वासनामा निर्लिप्त भएको यस अवस्थामा ज्ञान, वैराग्य र विवेकले पनि चैतन्य मनको यथार्थ बुझ्न नसकिरहेको अवस्था देखिन्छ । भावनामा बगेर मानिसले आफूभित्रको शक्तिलाई भुलिरहेको छ ।
विवेक शून्य भएर यताउति भड्किरहेको पाइन्छ । जब विवेक शून्य अवस्थामा रहन्छ तब जीवनले लिनुपर्ने गतिमा वक्ररेखा सुरु भइ मन, वचन र कर्म विचलित रहने स्थिति आउँछ । अर्काे कुरा वासनाभित्र लुकेको क्षणिकता र सुखको लालचप्रति मानिसको चाहना बढ्नु भनेको मनमा विक्षिप्त भाव जागृत हुनु पनि हो । त्यसैले भागवत् गीताका प्रणेता वेदव्यासले प्रेम यौनीमा भड्किरहेको मानिसलाई उनीहरुले गरेको आचरणमा सुधार ल्याउन जसरी १८ हजार श्लोकको ग्रन्थ तयार गरे, सुकदेवको माध्यम आत्मा शुद्धिको बाटो अपनाउन सबैलाई अकृष्ट गराउन खोजे ।
यसलाई बुझ्ने हो भने साधना केवल क्षणिक स्वार्थभित्र नलुटपुटिइ विचारको यथार्थभित्र मुखरित भएको हुनुपर्छ भन्ने सत्य बुझ्न सकिन्छ । जबसम्म वेद र शास्त्ररुपि वृक्षको ज्ञानरुपि अमृतफल प्राप्तिको अर्थ बुझ्न सकिँदैन तबसम्म यसले आत्मालाई आडम्बरी विलाषीतिरको रसस्वादनतर्फ केन्द्रित गर्दै जान्छ । मन दिग्भ्रमित भइ वृक्षमा फलेको फल आँखा तरी मर भन्ने उखानको चरितार्थ हुने स्थिति आउँछ ।
यसैगरी जब ज्ञान, ध्यान र साधनाको अर्थ र परिभाषालाई बुझ्न सकिँदैन तबसम्म विश्वास र श्रद्धामा हलचल पैदा भइरहन्छ । तसर्थ, मानिसको पवित्रताभित्र हुर्कन खोजेको अस्वाभाविक चिन्तनलाई वाह्य वातावरणले पार्ने असरप्रति सावधान रही वेद र गीताको सारभूत तत्वले सिकाउन खोजेको सत्य बुझी साधना गर्नु जरुरी हुन्छ । साधनाले नै उत्तम गति प्राप्त हुन्छ र जीवनले सही र स्पष्ट गति निर्धारण गर्छ । कर्म र सुकर्मको ज्ञान बढ्न गइ नित्य र निरन्तर बदलिरहने परिस्थितिको मुकाविला गर्दै विक्षिप्त मनको द्वार बन्द गरी पवित्र विचारको सागरमा प्रवेश गर्ने अवसरको सिर्जना गर्न सक्छ ।
त्यसैले प्रत्येक कर्मले नयाँ विचार र भावनाको अंकुर पलाउने परिस्थिति जन्माउँछ भन्ने सत्य बुझी आफूलाई समर्पर्ण गर्नु पर्छ । जीवन साधन हो साध्य होइन । यसलाई साध्य बनाउने भनेको मानवीय सोच, चिन्तन, कर्म र साधना हो ।
साधना र कर्मको फल दुई प्रकारले उपलब्ध हुनसक्छ । एउटा तत्काल देख्न सकिने र अर्का लामो समयपछि देखिने र ग्रहण गर्न सकिने हुन्छ । एउटा क्षणभंगुर हुन्छ भने अर्का चीरस्थायी र सदावहार हरेको हुन्छ । खाना खाऔँ भोक मेटिन्छ, पानी पिऔँ प्यास मेटिन्छ, छाता ओढ एक झर पानी रोक्छ, झुठ बोल्नुस क्षणिक स्वार्थ र आनन्द आउँछ, मादक पदार्थ सेवन गरौँ तुरुन्त नसा लाग्छ, स्वेटर र ज्याकेटजस्ता न्यानो कपडा लगाऔँ वाह्य वातावरणको चीसो शरीरमा पस्न पाउँदैन ।
चाकडी र चाप्लुसी गर्नुस्, सबैले तपार्इँको कुरा पत्याउँछन् । यी र यस्तै किसिमका कर्मले मानिसको मन, बुद्धि र विवेकलाई क्षणिकतातर्फ लगेर ऊ प्रफुल्लित भइरहेको हुन्छ तर यो दिगो होइन । किनकि क्षणिकताले चेतनालाई आफूतिर आकृष्ट गरी जीवन र जगतबारेमा अर्कै किसिमको रुप देखाउन सक्छ । एकातर्फ यस्तो उपलब्धता प्राप्त हुन्छ भने अर्कातर्फ चिरस्थायी र सदाबहार फल दिइरहने साधनाको फल पाइन्छ । जस्तो आँपको विरुवा रोप्नुस् त्यसले तत्काल फल दिन सक्दैन । यसलाई हुर्कन र बढ्न लामो समय लाग्छ । जब फल दिन सुरु गर्छ तब यसले जीवनपर्यन्त दिइरहन्छ ।
निरन्तरता यसको विशेषता भएर प्रस्तुत हुन्छ । त्यस्तै वर र पिपलको विरुवा रोप्नुस्, यसले जब फल दिन खोज्छ, यसले कोही कसैलाई पक्षपात गरी समान दृष्टि र समान भावमा फलसँगै शीतलता पनि दिइरहन्छ । जसरी बटवृक्षले यस्तो अवस्था सिर्जना गर्छन्, त्यसैगरी साधनामा समर्पित भइ असल कर्म गर्नेले पनि आफू र आफ्नो जीवनपर्यन्त पनि सामाजिक सद्भाव र सहयोग बाँडिरहेका हुन्छन् । यसरी एक पक्षले क्षणिकतातर्फ धकेल्छ भने अर्कोले चिरस्थायी र निरन्तरतातर्फ आकृष्ट गरिरहेको हुन्छ ।
त्यसैले मानिसले गर्नुपर्ने कर्म र जिम्मेवारी पनि कर्मप्रधान साधना गरी अगाडि बढ्ने कर्म गरी समर्पित हुनु पर्छ । इज्जत र प्रतिष्ठा कायम गर्ने गरी कर्मशील भएर प्रस्तुत हुन सक्नु पर्छ । यसको लागि अरु कोही कसैलाई कुनै किसिमको व्यवधान नपु¥याइ सहज गतिमा सत्यको धरातलमा रहेर कर्मशील बन्नु पर्छ । यदि जसले साधनालाई अनादर गरी क्षणिक लोभ र मोहमा फसी आफूलाई प्रस्तुत गर्छ भने उसको जीवनको हरेक मोडमा क्षणिक स्वार्थ र भक्ति त होला तर त्यो उसको लागि अभिषाप बन्न सक्छ ।
तसर्थ, प्रकृतिको स्वष्तिक फल र गुणलाई जानी शुद्ध र पवित्र मनले कर्मयोग, ध्यानयोग, ज्ञानयोग, भक्तियोग र सहयोगलाई बुझेर यसको रसस्वादन गर्नेतर्फ साधनारत हुन जरुरी छ । तब मात्र अन्तरमनको पवित्रता शुद्ध भइ उसको हरेक कदमले सफलता चुम्न पुग्दछ । त्यसैले कर्मयोगको सकारात्मक चिन्तनले अन्तस्करणमा रहेको सत्यलाई पहिचान गरी ज्ञानयोगको माध्यमबाट बुद्धि र क्षमतामा वृद्धि गर्नु पर्छ । त्यसको लागि आफ्नो धर्म, संस्कृति र संस्कारले सिकाएको उद्यमशील कर्मतर्फ साधनारत रहनु पर्छ ।
ज्ञानी सदा खुसी, अल्पज्ञानी सदा दुःखी भन्ने मान्यतालाई आदर्श मान्ने संस्कृतिले जति हाम्रो जीवनको उद्देश्य हासिल गर्न र समाधान गर्न हामीलाई प्रोत्साहित गरेको हुन्छ, अनुशासित र मर्यादित कर्मशील बन्न उत्साहित गरेको हुन्छ । त्यसैगरी निरन्तर रुपले साधनारत रही आफ्नो स्वविवेकलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । मानिस स्वयम् विवेकशील र विलक्षण प्रतिभाको धनी भएर पनि जुन किसिमको अवाञ्छित गतिविधि वर्तमानमा भइरहेको छ, यो प्राप्ति र अप्राप्तिभित्रको स्वार्थपरक चिन्तनका कारणले भएको हो ।
तसर्थ, आफ्नो कर्मले ल्याउने परिणतिको ख्याल गरी हिड्न नजान्ने दौड्न खोज्ने प्रवृत्ति त्यागी विश्वास र भरोसायोग्य बन्न साधनारत रहन सिक्नु पर्छ । आत्मसन्तुष्ट भइ शान्तिको उद्घोष गर्न सगुन साकार र निर्गुण निराकार (सगुन निराकार) भइ जीवनको उद्देश्य प्राप्तिप्रतिको असल साधनायुक्त बन्नु पर्दछ । यो जीवनको आवश्यकता पनि हो ।