गाउँपालिकाको सार्वजनिक सुनाई

तुलसीपुर, २१ असार । दंगीशरण गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग तथा सामुदायिक सेवा केन्द्र बाँकेको सहजीकरणमा दंगीशरण गाउँपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सेवाग्राहीका समस्याहरुप्रति पालिकाको जबाफदेहिता भन्ने बिषयमा जिम्मेवार ब्यक्तिहरु र सेवाग्राहीबीच सार्बजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक जबाफदेहिता प्रबद्र्धन कार्यक्रमअन्तर्गत कार्यगत क्षमता स्वमूल्यांकनका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहजीकरणमा सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

दंगीशरण गाउँपालिकाका ७ वटै वडाका सेवाग्राहीबीच सेवाग्राहीका समस्या र सुझावप्रति पालिकाका जिम्मेवार निकायले उठेका प्रश्न र सुझावको उत्तर दिएका थिए । सुनुवाईमा प्रश्नकर्ता सेवाग्राही र जवाफदेहिता जिम्मेवार शाखाका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष रहेका थिए । विभिन्न क्षेत्रका ब्यक्ति र सेवाग्राहीले विभिन्न शाखाअन्तर्गतका जिम्मेवार ब्यक्तिसँग आफ्ना समस्या र गुनासो गरेका थिए ।

आर्थिक सुशासन र पारदर्शिता कायम गर्न तथा समय–समयमा पालिकामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन शैलीको अनुगमन गर्न पनि सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले ७ बुँदे प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्दै पालिकालाई आर्थिक सुशासन र पारदर्शिताको सवालमा अगाडि लैजान गम्भीर भएर लाग्ने अध्यक्ष गिरीले बताए ।

सार्वजनिक सुनुवाईको सहजीकरण साम्प्रदायिक सेवाकेन्द्र बाँकेका निर्मल आचार्यले गरेका थिए ।