दाङ, २१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वको लागि संयुक्त प्यानलले उपभोक्ताले तिर्ने पानीको न्यूनतम शुल्क घटाउनेदेखि धारा जडान लाग्ने शुल्क कम गर्ने प्रतिबद्धता–पत्र सावर्जनिक गरेको छ । सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर संयुक्त प्यानलले गरिब, दलित सावर्जनिक स्थान र सुकुम्बासी टोलमा जोडिएका सामुदायिक धाराको शुल्क मिनाहा गर्ने योजनासमेत प्रतिबद्धता–पत्रमा ल्याएको हो ।
उपभोक्ताले तिर्ने पानीको न्यूनतम शुल्क घटाउनेदेखि विशेष ठाउँ र बस्तीमा जडान गरिएको धाराको शुल्क मिनाहा गर्ने हाम्रा प्रतिवद्धता छन्’, संयुक्त प्यानल अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद भुसालले भने– ‘घोराहीको खानेपानी संस्थामा धेरै समस्या छन् । ती पक्षलाई सुधार गरेर उपभोक्तालाई स्वच्छ, सुलभरुपमा खानेपानी पुराउने नै मुख्य योजना हो ।’
उनका अनुसार धारा जडानमा लाग्ने शुल्क घटाउने, सावर्जनिक धाराको विस्तार गर्ने, ठाउँ–ठाउँमा बास, सुविधासहितको सावर्जनिक शौचालयको व्यवस्था गर्ने योजना छ । यो समूहले सावर्जनिक गरेको प्रतिवद्धतामा नियमितरुपमा धारा चेक गर्ने तथा मिटर रिडिङ गरी अभिलेख राख्ने, खानेपानीको बढ्दो मागलाई पूरा गर्न बबई लिफ्टिङ कार्यक्रमलाई समयमा पूरा गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने उल्लेख छ ।
घोराही खानेपानी संस्थाले खानेपानीको बढ्दो मागलाई सम्बोधन गर्न बबई लिफ्टिङ योजनाको काम थालेको छ ।सो योजनाको लागि घोराही उपमहानगरपालिकाले समेत नयाँ आर्थिक वर्षको लागि १ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
त्यसैगरेर संयुक्त प्यानलले सावर्जनिक गरेको प्रतिबद्धतामा स्थानीय सरकारसँगको समन्वयमा वैज्ञानिक ढल निकास, नगरभित्रको सरसफाई हेर्नका लागि उपमहानगरपालिकासँग समन्वय गरी अलगै युनिट बनाउने, सामग्री खरिदलाई पारदर्शी बनाउने, स्वच्छ खानेपानी तथा सरसफाई सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्ने, टोलहरुमा पुगेर नियमितरुपमा खानेपानीको परीक्षण, उपभोक्ताको घरसम्म ट्याङ्करबाट दिइँदै आएको सेवालाई कम शुल्कमा थप सुविधा दिने, खानेपानीलाई वैज्ञानिक तरिकाले विस्तार गर्ने र मुहान संरक्षण गर्न दीर्घकालीन योजना बनाउने छन् ।
घोराही क्षेत्रमा खानेपानीको समस्या छ । त्यसको लागि मुहान संरक्षण गर्न योजना बनाउन आवश्यक छ’, अध्यक्षका उम्मेदवार भुसालले भने । पत्रकार सम्मेलनमा नेकपा एमालेका दाङ इन्चार्ज तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले खानेपानीको समस्या समधानको लागि उपमहानगरले समेत योजना अघि सारेको बताए । ‘घोराहीमा खानेपानीको धेरै माग छ । त्यो सम्बोधनको लागि बबई लिफ्टिङको लागि नयाँ आर्थिक वर्षको लागि उपमहानगरबाट १ करोड रुपैयाँ व्यवस्थापन गरेको छ’, उनले भने ।
त्यसैगरेर खानेपानीका मुहान संरक्षण र सरसफाई समेत विशेष अभियान सञ्चालन गर्न इन्चार्ज चौधरीको सुझाव छ । पत्रकार सम्मेलन संयुक्त प्यानल चुनाव परिचालन कमिटीका संयोजक गेहेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । असार २५ गते हुने खानेपानीको चुनावमा यो समूहबाट भुसालले नेतृत्व गरेका छन् । भुसाललाई नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राजमो र राप्रपाको साथ छ ।
भुसाल समूहबाट वरिष्ठ उपाध्यक्ष नरबहादुर बुढाथोकी, महिला उपाध्यक्ष लक्ष्मीदेवी सिंह ठकुरीे, सचिव दीपककुमार श्रेष्ठ र कोषाध्यक्ष सानुनाराण अधिकारी उम्मेदवार छन् । त्यसैगरेर सदस्यहरुमा महेशकुमार न्यौपाने, सुनिलकुमार बानियाँ, हरिप्रसाद खरेल र महिला सदस्यका लागि ज्योति रोकामगर, देवकला पाण्डे र लक्ष्मी अधिकारी उम्मेदवार छन् । घोराही खानेपानी संस्थानमा ६ हजार ९ सय बढी मतदाता छन् ।