जन्मदिनमा बौद्धिक अपांग बालबालिकालाई सहयोग

घोराही, २१ असार । दाङ महिला जेसीज सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य भीमा डिसीले बौद्धिक अपांगता भएका बालबालिकालाई सहयोग सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

दाङ महिला जेसीजको आयोजनामा सोमबार एक कार्यक्रम गरी घोराही १४ स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेर डिसीले जन्मदिन मनाउनुभएको हो ।

दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा एवं विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी सहयोग वितरण गरिएको हो ।

जसमा १६ विद्यार्थीलाई पोशाक, २५ जना विद्यार्थीलाई पेन्सील, कापी र विस्कुट सहयोग गर्नुभएको हो । त्यसैगरी कार्यक्रममा डिसीले बुबाआमा र नगर उपप्रमुख हुमा डिसीलाई खादा र बिद्यालयका प्रधानाध्यापकलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभएको थियो ।  दाङ महिला जेसीजकी पूर्व अध्यक्ष डोमा पाण्डे, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ताले सामाजिक सेवा गरेर जन्मदिन मनाउनु आफैमा उत्कृष्ट काम भएको बताउनुभयो ।

कार्यक्रम संयोजक एवं दाङ महिला जेसीज सदस्य भीमा डिसीको स्वागत मन्तब्यबाट शुुरु भएको कार्यक्रममा सदस्य विन्दु डाँगी पाण्डेले आस्थापाठ गराउनुभएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो । अनेरास्ववियु केन्द्रिय सदस्य डिसी रोल्पा र रुकुकको सहइन्चार्ज समेत हुनुहुन्छ ।