आठ महिनामा बालक जन्मिन्नन् तर मन्त्री जन्मिन्छन्

मधुसूदन सुवेदी
हाम्रा देशका राजनेता, सरकारी सांसद, मन्त्री तथा प्रधानमन्त्रीले सधैँ के सोच्छन् भने हामी जहिले पनि देश र जनताका लागि काम गर्ने मान्छे हो । देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता, सांसद, मन्त्री, दल, शक्ति, व्यक्ति, मोर्चा, संगठन, पार्टी, यदि यो देशमा छ भने पद र प्रतिष्ठाको लागि लड्न र भिड्न कुन देशले भन्यो र कहाँका जनताले भने ?

आफ्नै पार्टीभित्र अन्तरद्वन्द्व र अन्तरसंघर्ष मच्चाउन कुन देश र कसका जनताले भने ? एउटा दल वा पार्टीको दल वा पार्टीसँग कुकुर र बिरालोको सम्बन्ध स्थपित गर्न कुन देश र कहाँका जनताले भने आफ्नै पार्टी छुक्राएर, भाँचेर तोडेर, मोडेर, च्यातेर, चिथोरेर, निचोरेर टुक्रे र बुक्रे बनाउन कुन देश र जनताले भने ? राष्ट्रिय दलहरुका बीचमा सौता, सौतीको भुत्ल्याउने खेल खेल्न कुन देश र कहाँका जनताले भने ?

पार्टी–पार्टीमा मेलमिलापको नीति त्यागेर एकअर्काा अलाप, विलाप र सत्तोसराप गर्न कुन देश र कहाँका जनताले सिकाए ? देश चक्रिय प्रणालीमा चलाउने र मन्त्री पद बाँडेर भागबण्डा गरेर खाने नीति कुन देश र कहाँका जनताले भने ? आठ–आठ महिनामा मन्त्री फेरबदल वा मन्त्री जन्माएर सबैको पालो पु¥याउने मन्त्रीले देश र जनताको काम गर्न सक्छ ? यो कुन देशको विश्लेषण हो ? यो कुन देशका जनताको चाहना हो ?

हाम्रोजस्तो विकासोन्मुख देशमा जन्मिएका व्यक्ति तथा शक्तिलाई एउटा कुनै मन्त्रालयभित्रको कर्मचारी चिन्न, जान्न, बुझ्न, थाहा पाउन, देख्न, भोग्न र सुन्न मात्र एक वर्ष लाग्दछ भने आठ महिनामा उसले के गर्न सक्छ ? यो चाला, यो माला, यो ढङ्ग, यो शैली, यो तरिका, यो उपाय, यो योजना, यो रीति, यो भाँती र यो क्रियाप्रक्रियाले देश र जनता सप्रिन्छन् ? खाली ओठे भक्ति गरेर मात्र हुन्छ ? सैद्धान्तिक बाटो अँगाल्नु पर्दैन ?

अस्तिदेखि हिजासम्म र हिजोदेखि आजसम्म सरकारभित्र भएको उपलब्धि के हो ? खाली मन्त्री फेर्ने, हेर्ने, सर्ने, छेर्ने र बेर्ने मात्र होइन ? यी चाल र गतिले देश र जनताको लागि काम गरेको ठहर्छ ? भन्न लाज मान्ने कि नमान्ने ? गर्न त लाज भएन भएन कमसेकम भन्न त लाज मान्नु पर्ने ? यतिबेला चुनावी मन्त्री भनेर के भनेको हो ? मन्त्री पनि सुनाकी, चुनावी, विकासे, योजना, कामदारे, भारदारे भन्ने हुन्छ र ?

मन्त्री भनेको मन्त्रालय सम्हाल्ने हो र तत्मन्त्रालयसम्बन्धी आड परेको सम्पूर्ण काम देश र जनतालाई केन्द्रमा राखेर काम गर्न हो । मन्त्रीलाई ठाउँ लगाउन नसक्ने नेतृत्वले कसरी देश हाँक्छ ? यसरी आठ–आठ महिनामा मन्त्री फेर्दा लाग्छ यो देशको विकास र समृद्धि भन्ने खाली झुठा नारा मात्र हो ? देश र जनतालार्य केही हुनेवाला छैन । जे हुन्छ दल, पार्टी, संगठनलाई हुन्छ । आजको नीतिमा जवाफ दिनोस् र भन्नेस् हिजोका कुरामा मन्त्री बाहिरिँदा कुन जिल्लाको विकास भयो र आजका मन्त्री भित्रिँदा कुन जिल्लाको विकास हुनेवाला छ ? हामीलाई जाने र आउने व्यक्तिसँगको मतलव होइन ।

हामीलाई के हो भने यदि यो देशका नेताले बारम्बार, पटक–पटक, दोहो¥या–तेहे¥याइ भनेको कुरा देश र जनताका लागि विकास र समृद्धि भन्ने मूलनाराले भने यो गतिविधिले त्यो मिशन पूरा हुन्छ ? खाली शक्ति केन्द्रित, व्यक्ति केन्द्रित, पार्टी केन्द्रित र संगठन केन्द्रित राजनीति चलाउने अनि देश र जनतालार्य भनेर अनाहकमा देश र जनतालाई साक्षी राख्न पाइयो ? काम गर्नै व्यक्ति र शक्तिको चाहनामा अनि साक्षी राख्ने देश र जनतालाई ? यसो गर्न पाइन्छ ?

देशको राज्यसत्ता सम्हालेको कुनै पनि दल वा पार्टीले एक वर्षभित्रमा आफ्ना मन परेका ४ जना, ६ जना, ८ जना, १० जना वा १५ जनालाई मन्त्री पदमा पु¥याउँछु भनेर योजना बनायो भने देशको विकास हुन्छ ? आजका मितिमा प्रत्येक दल तथा पार्टीमा यही विषयमा छलफल, वादविवाद, योजना, भेटघाट, उठबस किन चलाइँदै छ र किन उचालिँदै छ ? आजका मितिमा मन्त्री पदका लागि छलफल नभएको कुनै दल र पार्टी छ ? मन्त्रीकै लागि पार्टी तोडिँदै छ, फोडिँदै छ, भाँचिँदै छ र टुक्रिँदै छ । यो सब देश र जनताका लागि हो ?

कुन मुखले भन्ने र बोल्ने हिम्मत गर्छन् ? नितान्त दलगत पार्टीगत, व्यक्तिगत र गुटगत कुराका लागि राज्य सत्ता चलाउने र मन्त्री बनाउने अनि त्यही विषयको बारेमा सफाइ दिनुप¥यो भने देश र जनताका लागि भन्ने ? यो राजनीति यसरी अबको केही समय चल्ने हो भने नेपालमा दलीय व्यवस्थामाथि ठूलो खतराको संकेत देख्न सकिन्छ ? नेपालमा संसदीय व्यवस्था चलेको ६४ वर्ष चलिरहँदा र यसको विषयमा रहेर छलफल र समीक्षा गरिरहँदा यो संसदीय व्यवस्था नै देश र जनताका लागि नुनको भारी नबन्ला भन्न सकिन्न ।

देश र जनतालाई यो सुन्दर संसदीय व्यवस्थालाई नुनको भारी बनाउने काम स्वयम् राज्यसत्ता हाँक्ने पार्टी तथा दलले गर्दै छन् । आठ–आठ महिनामा मन्त्रिमण्डल फेर्ने, भ्रष्टाचार भए गरेको नहेर्न, एकले अर्कौलाई नटेर्ने, चित्त नबुझे घाँटीमा पासो बेर्ने, चित्त बुझे घुमिफिरी हेर्ने र मन्त्री पदका आकांक्षीका नाम खेर्ने, यो र यस्तै बानी, आदत, अभ्यास, कसरत र गतिविधिले अबको यात्रा हरेकलाई निकै महँगो खर्चिलो, चुनौतीपूर्ण र खतराजनक स्थितिमा छ ।

आजै के होला भन्दा पनि भोलि पक्कै पनि अप्रिय नतिजा आउनेमा शंका गर्न सकिन्न । यदि दल र संगठनले यो गतिविधिलाई नसच्याउने हो भने यो महामारीले संसदीय व्यवस्थाको अन्त्य गर्छ ।