साहित्यकार यम रेग्मीका तीन गजल

  •   
  •  

(१) पवन हुँ ! रुक्न नपरोस्
हिमाल हुँ ! झुक्न नपरोस्

जे–जे गरुन् अरु जिन्दगीमा
सरिता हुँ ! सुक्न नपरोस्

स्वार्थको रङले होली खेलिरहेछन्
सजल हुँ ! चुक्न नपरोस्

अग्निको रापमा लोभिएर
पत्थर हुँ ! फुक्न नपरोस्

विश्व रोएको छ, पूर्णताले पनि
रजनी हुँ ! घाम ढुक्न नपरोस् ।
–––––––––––––––––––––––––––––––––––––––––––––––––––रचना कालः २०७०।४।२३
(२) महलले छाप्रो जलाउनै पर्छ र ?
चलाखले लाटो चलाउनै पर्छ र ?

दिनझैँ रात पनि चाहिन्छ त
झरेकालाई गलाउनै पर्छ र ?

को काट्न सक्छ शिंहलाई यहाँ ?
सिधा रूखलाई ढलाउनै पर्छ र ?

हाँसी रहेछन् जून र रवि निरन्तर
निर्धा तारालाई दलाउनै पर्छ र ?

रूदैछ वर्सात, मर्दैछ शिशिर
वसन्तले मात्रै पलाउनै पर्छ र ?
––––––––––––––––––––––––––––––––––––––––––––––––––––रचना कालः२०७१ ।७ ।२७
(३) बादललाई घाम नभन मित्र
रावणलाई राम नभन मित्र

आमा खाने माकुरा हुन् यी
हरामलाई बाम नभन मित्र

जनता खरानी पारी राज गर्ने
अंगारलाई श्याम नभन मित्र

नीति हुन्छ गीता गाउनुको पनि
कुकर्मलाई पुण्य काम नभन मित्र

स्वार्थले निथु्रक्क भिजेर गलेका
कागजलाई खाम नभन मित्र ।
रचना कालः २०७१।३।१२