प्रेरणाको विन्दु : भगवानसँग सम्बन्ध

  •   
  •  

एक पटक एकजना पण्डितजीले एउटा पसलेकहाँ गएर पाँच सय रूपैयाँ राख्न दिए । उनले सोचे छोरीको बिहे गर्ने बेलामा यो पैसा लिन्छु । केही वर्षपछि छोरीको विवाह हुने पक्का भएपछि पण्डितजी त्यो पसलमा आफूले राख्न दिएको पैसा लिन गए । तर पसलेले मानेन र भन्यो, ‘तिमीले मलाई पैसा कहिले राख्न दियौ ? मलाई भन, के मैले कुनै लिखत गरेको छु ?’

पंडितजी त्यो पसलेको यस्तो हर्कतले अत्यन्तै विचलित भए र ठूलो चिन्तामा डुबे । त्यो घटनाको केही दिनपछि पण्डितजीलाई याद आयो कि यस विषयमा राजालाई गुनासो गर्छु, ताकि उनले केही निर्णय गर्नेछन् र मेरो छोरीको विवाहको लागि मेरो पैसा उपलब्ध हुनेछ । त्यसपछि पण्डितजी राजाकहाँ पुगेर आफ्नो गुनासो सुनाए ।

राजाले भने, ‘भोलि हाम्रो सवारी त्यतै जाँदैछ र तिमी त्यो पसलेको पसल नजिकै उभिनु ।’
भोलिपल्ट राजाको सवारी निस्कियो । सबैले राजालाई फूलको माला लगाइदिए र कसैले आरती गरे । पण्डितजी त्यही पसलको छेउमा उभिरहेका थिए । पण्डितजीलाई देख्नेबित्तिकै राजाले उनलाई प्रणाम गरे र भने, ‘गुरूजी ! तपाईं यहाँ कसरी ? तपाईं हाम्रो गुरू हुनुहुन्छ, आउनुहोस् यो बग्घीमा बस्नुहोस् ।’

त्यो पसलेले यो सबै देखिरहेको थियो । उसले पनि राजाको आरती ग¥यो । राजाको सवारी अगाडि बढ्यो । केही टाढा पुगेपछि राजाले पण्डितजीलाई बग्घीबाट तल ओरालिदिए र भने, ‘पण्डितजी ! हामीले तपाईंको काम गर्दिसकेका छौँ । बाँकी अब तपाईँको भाग्य ।’

अर्कोतर्फ पण्डितजीको राजासँग धेरै राम्रो सम्बन्ध रहेको देखेर पसले छक्क परेको थियो । कतै राजाले मलाई दण्डित त गर्ने छैनन् ? ऊ अत्यन्तै डराएको थियो । उसले तुरुन्तै आफ्नो मुनीमलाई पण्डितजीलाई जसरी पनि खोजेर ल्याउन भन्यो । पण्डितजी एउटा रूखमुनि बसेर केही कुरा विचार–विमर्श गर्दैथिए । मुनिमले उनलाई ठूलो सम्मानका साथ पसलेकहाँ लिएर आयो ।

पसलेले पण्डितजीलाई देख्ने बित्तिकै प्रणाम गर्दै भन्यो, ‘पंडितजी ! धेरै मिहिनेत गरेर पुराना खाताहरू हेरेँ, तब खातामा दश वर्ष अघि हजुरले पाँच सय रूपैयाँ जम्मा गरेको पत्ता लाग्यो र विगत दश वर्षमा बाह्र हजार रूपैयाँ व्याज पनि बनेको छ ।

पण्डित जी ! हजुरको छोरी पनि मेरो छोरी जस्तै हुन् । त्यसैले मेरो तर्फबाट थप एक हजार रूपैयाँ लिएर छोरीको बिहेमा लगाउनुस् ।’ यसरी पसलेले पण्डितजीलाई तेह्र हजार पाँच सय रूपैयाँ दिएर बडो प्रेमका साथ बिदाई ग¥यो ।

जब राजासँग सम्बन्ध राखेर मात्रै हाम्रा समस्याहरू हट्छन् भने हामीले आफ्नो सम्बन्ध आफूसँग (जो भगवानको अंश हो) र यस संसारको राजा अर्थात् भगवानसँग जोड्यौँ भने हामीलाई कुनै समस्या हुने छैन । हामीलाई कुनै कठिनाइ वा कुनै प्रकारको अन्यायको प्रश्न उठ्ने छैन । त्यसैले सधैँ भगवानलाई धन्यवाद दिनुहोस् र उनको नजिक रहनुहोस् ।

तुफानबाबु श्रेष्ठ÷रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता