तुलसीपुरको वडास्तरीय बजेटको सिलिङ्ग ७० लाख

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, १७ असार । तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा आर्थिक बर्ष २०७९÷०८० को बजेट कार्यक्रममा वडास्तरीय सिलिङ्ग ७० लाख तोकेको छ । आगामी बर्षका लागि सबै वडाहरुले सोही बजेटमा वडास्तरीय योजनाहरु बनाएर पठाउनुपर्ने कार्यपालिकाले निर्णय समेत गरेको छ ।

असार १७ गतेसम्ममा योजना शाखामा योजनाहरु पठाउनका लागि योजना छनोटका लागि विभिन्न वडाहरुले योजना तर्जुका लागि बैठक भेलाहरु गरिरहेका छन् भने केहीले सकेको बताएका छन् । थोरै बजेटमा धेरै जनताको विकास निर्माणका कुराहरु समेट्नुपर्ने भएकाले अहिले वडाका जनप्रतिनिधिहरुलाई सकस परेको छ ।

भर्खरै नवनिर्वाचित जनप्रतिनिधिहरुप्रति जनताको आकांक्षाहरु धेरै भए पनि सीमित स्रोतमा सीमित रहेर बजेट अनुसार योजना बनाउनुपर्ने बाध्यता जनप्रतिनिधिहरुको रहेको छ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० लागि कुल बजेट १ अर्ब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको छ । गत बर्ष करिब १ करोड ३० लाख वडा बजेटमा योजनाहरु बनाएका वडाहरुलाई यस बर्ष विकास निर्माणमा जनताका आकांक्षा धेरै भएको र बजेट थोरै भएकाले समस्या भएको बताएको छ ।

‘जनताको मागहरु अर्बौका छन् तर यहाँ ७० लाखमा योजनाहरु बनाउनुपर्ने बाध्यता छ’, वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले भने । उनले धेरैजसो योजनाहरु बस्तीस्तरबाट सडक निर्माण, नाला खानेपानी र सिँचाइसम्बन्धी भएको भन्दै ७० लाख बजेटलाई बाँडफाँड गरी योजना बनाएको बताए । उनले यस बर्षको वडा बजेट लक्षित कार्यक्रमलाई मात्र सीमित हुने बताए ।

अध्यक्ष ढकालले गतबर्षको भन्दा आधा पनि बजेट वडामा नआएको बताए । ‘यो बर्ष ठूला र माग बमोजिमका योजना केही हुँदैनन्, साना–साना योजनाहरुमा हामीहरुले बजेट बाँडफाँड गरेर योजना बनाएका छौं’, उनले भने । गत बर्ष बजेटको सिलिङ्ग धेरै तोकेको र राजश्व सोचेजस्तो नउठेकाले उपमहानगरलाई आर्थिक भार पनि त्यतिकै छ ।

त्यस्तै योजना छनोट कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तुलसी थापाले थोरै बजेटमा धेरै काम गर्नुपर्ने भएकाले जनताका मागहरु सबै पूरा नहुने बताए । ‘अहिले बजेट थोरै छ, सबै योजना पूरा हुँदैनन् यो बर्ष नभए अर्को बर्ष हुनेछ’, उनले भने । थापाले उपमहानगरपालिकाको यथार्थ अवस्था सबैलाई थाहा भएको भन्दै आफूहरुले चाहेर पनि केही हुन नसक्ने सो कार्यक्रममा बताएका थिए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले यस बर्ष बजेटको सिलिङ्ग थोरै देखिए पनि यसलाई वडास्तरीय बजेट घटेको भन्न नमिल्ने बताए । उनले गत बर्ष करिब १ करोड ३० लाख वडाको बजेट भए पनि काम भने ७०÷८० लाखकै भएको बताए । उनले अहिलेको बजेट यथार्थमा टेकेर बनाएको समेत जानकारी दिए ।

उनले पहिलेका बर्षहरुमा पनि ६५÷७० लाख बजेट आफूहरुले पाउने गरेको बताए । ‘गत बर्ष अलि बजेटको भोलुम बढेको थियो अहिले यथार्थमा बनाएका छौँ, यसलाई घटेको भन्न मिल्दैन’, वडा नं. १८ का वडाध्यक्ष समेत रहेका प्रवक्ता वलीले भने ।