सकारात्मक उर्जा तनाव व्यवस्थापनको मन्त्र

  •   
  •  

भूवन पोख्रेल
तनाव हाम्रो दैनिक क्रियाकलापबाट सिर्जना हुने जीवनको एउटा हिस्सा हो । हामी विभिन्न कारण जस्तै प्रियजन गुमाएको, सम्बन्ध बिग्रेको, नोकरी छुटेको आदिले तनावको शिकार भइरहेका हुन्छौँ । वास्तवमा तनाव हाम्रो जीवनको दैनिकी बनिसकेको छ, तथापि यो तनाव लिन्छु भनेर लिने र तनाव हटाउँछु भनेर हटाउन सकिने कुरा होइन ।

तनाव एक किसिमको भोगाइ रहेछ । तैपनि तनावलाई व्यवस्थापन गरी यसबाट हुने नकारात्मक असर कम गर्न सके स्वस्थ जीवन जिउन सकिन्छ । सामान्य अर्थमा तनाव भनेको कुनै पनि व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक र व्यवहारजगत अवस्था हो । जसलाई चुनौतीका रुपमा अनुभूति गरिन्छ ।

मानिसको दिमागले जब कुनै अवस्थाको सामना वा परिवर्तीत परिवेशअनुसार आफूलाई समायोजन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, त्यसबेला तनाव पैदा हुन्छ । कुनै पनि व्यक्तिले आफूले अपेक्षा गरेभन्दा विपरीत अवस्थाको सामना गर्नुपर्ने अवस्था आउँदा त्यहाँ तनाव देखा पर्दछ । यस प्रकारको अवस्था तनावको अवस्था छ ।

यस अवस्था आउँदा मानिस डराउने, अत्तालिने, हतास हुने, रिसाउने, नसोचेको व्यवहार देखाउने जस्ता गतिविधिहरु देखिन्छन् । अधिक कार्यभार, साधन र स्रोतको पर्याप्तता, जागिरको स्थायित्व नहुनु, जीवनको लक्ष्य पूरा नहुनु आदि तनाव सिर्जनाका प्रमुख कारण हुन् ।

सामान्यतया तनावलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेरिन्छ तर सबै अवस्थामा तनावले नकारात्मक नतिजा मात्र प्रस्तुत गर्दैन, यसको सकारात्मक मूल्य पनि रहेको छ । जब व्यक्तिका चाहना पूरा हुँदैनन् तब उ तनावमा हुन्छ । तनावले व्यक्तिलाई क्रियाकलाप गर्न प्रेरित गर्दछ तब काम गर्दछ । व्यक्तिका आवश्यकता पूरा भइ सन्तुष्टि प्राप्त हुन्छ ।

व्यक्तिको तनावका कारण एउटै हुन्छन् भन्न सकिँदैन । दुई व्यक्तिले एउटै परिस्थितिमा पनि उस्तै गहिराइको तनाव महसुस नगर्न सक्छन् । यसको अर्थ हुन्छ एउटै परिस्थितिमा एकले तनाव महसुस गरिरहेको बेला अर्को निष्फिक्री जीवन जिइरहेको हुन्छ । तनावका विभिन्न कारणहरुमध्ये आन्तरिक र वाह्य गरी दुई प्रमुख कारण छन् ।

आन्तरिक कारणमा दीर्घकालीन चिन्ता, निराशावादी सोच, कठोर सोच, नकारात्मक मनोभावना अवास्तविक आशा, अहमता र वाह्य कारणहरुमा जीवनका महत्वपूर्ण परिवर्तनहरु, कार्य बिग्रिएको सम्बन्ध, आर्थिक, समस्या, पारिवारिक समस्या र व्यस्तता हुन् । तनाव सिर्जित हुने अवस्थाहरुमा ठूला मागहरु पूर्ति गर्नुपर्ने अवस्था, असम्भावित घटना, जीवनको संक्रमणकाल, सामाजिक विचलन, अस्पष्टता, उच्च मनोकांक्षा, आत्मनियन्त्रण आदि ।

तनावले पु¥याउने शारीरिक असरहरु जस्तै टाउको दुखाइ, अनिद्रा, मांशपेसी दुखाइ, हातखुट्टा काप्नु, पेट दुख्नु, छिटोछिटो सास फेर्नु, असिनपसिन हुनु आदि । तनावद्वारा सिर्जित हुने मानसिक असरहरुमा झनक्क रिसाउनु, उत्सहमा कमी आउनु, बिर्सने बानी, अत्यधिक चिन्ता, संयमहीनता, आकुलव्याकुल हुनु आदि । तनावले स्वास्थ्यमा पनि असर पार्दछ ।

जस्तै : मानसिक चिन्ता, वजनसम्बन्धी समस्या, मुटु रोग, पाचनक्रियासम्बन्धी समस्या, संज्ञानात्मक र स्मरणशक्तिसम्बन्धी समस्या, शरीर चिलाउने आदि । परिवर्तीत वातावरण अनुकूल व्यक्तिको व्यवहार पनि रुपान्तरण गर्ने र तनावलाई सर्जिनात्मक एवम् रचनात्मक बनाइ व्यक्तिको शारीरिक एवम् मानसिक सन्तुलनलाई कायम राख्ने काम तनाव व्यवस्थापन हो । तनाव व्यवस्थापनका प्रमुख तीन उपाय छन्, ती हुन् समर्पण, प्रतिरोध र सम्झौता ।

मानिसका इच्छा, चाहना कहिल्यै पूरा हुँदैनन् तर पनि व्यक्ति प्रयासरत हुन्छ । प्रयास गर्दागर्दै पनि जीवनमा सधैँ सफल भइँदैन, असफलता पनि भोग्नु पर्छ । दुःखमा आत्तिने र सुखमा मात्तिने व्यक्ति सजिलै तनावको शिकार हुन्छ । भनिन्छ समस्यादेखि टाढा भाग्नु हुँदैन । समस्यासँग जुध्दै अघि बढ्नु पर्छ ।

तनावबाट बच्न कहिलेकाहीँ समस्यासँग लड्नुभन्दा समर्पण गरेकै राम्रो हुन्छ । समर्पणको अर्थ हार मान्नु होयन बरु तनाव व्यवस्थापनको उपाय हो । कतिपय अवस्थामा तनावसँग जुधिरहँदा तनावको स्थिति झनै बढेर जान्छ ।

प्रतिरोधलाई पनि तनाव व्यवस्थापनको एउटा उत्तम उपायका रुपमा लिइन्छ । तनावको कारकप्रति रिस पोख्ने, भौतिक आक्रमण, प्रतिवाद गर्ने जस्ता कार्यहरु यस अन्तर्गत् पर्दछन् । यो उपायले तनाव तत्काललाई समाधान गर्ने भए पनि दीर्घकालीन रुपमा नतिजा सकारात्मक हुनुको साटो नकारात्मक हुन्छ ।

सम्झौता वा मिलेर अघि बढ्नु वा मानिसले अर्कालाई स्वीकार गर्न जान्नु हो । दुवै पक्षहरुले केही न केही त्याग गर्न सक्नु पर्छ । दुवै पक्ष परिवर्तन हुनु पर्छ, झुक्नु पर्छ । तब मात्र दुवै पक्षका लागि जित–जितको अवस्था सिर्जना हुन्छ । यस्तो अवस्था आउनु भनेको दुवैका लागि हर्ष बढी तनाव कम हुनु हो । तनाव व्यवस्थापनका लागि योग, ध्यान र मनोसामाजिक परामर्श कार्य गर्ने ।

कुनै पनि व्यक्तिगत वा मानसिक समस्याहरु समाधानका लागि विशेषज्ञहरुबाट उपलब्ध गराइने सहयोग वा सल्लाहलाई मनोसामाजिक परामर्श भनिन्छ । मनोसामाजिक परामर्शले तनाव रोकथाम र उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । परामर्शका कार्यहरुमा सुझाव दिने, भरोसा दिलाउने, सञ्चार, भावनात्मक तनाव हटाउने, पुनः अभिमुखीकरण आदि पर्दछन् ।

योगको अभ्यासले चिन्ता घटाइ तनाव व्यवस्थापनमा मद्दत गर्दछ । योगद्वारा मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यमा सुधार गर्न सकिन्छ । शारीरिक स्वास्थ्यले मानसिक स्वास्थ्य निर्माण गर्ने भएकैले योग शारीरिक र मानसिक दुवैमा सन्तुलन कायम गरी तनाव व्यवस्थापन गर्ने महत्वपूर्ण उपाय हो । ध्यान गर्नाले स्वास्थ्यसम्बन्धी फाइदाहरु हुन्छन् । तनावबाट राहत पाउन र स्वस्थ जीवनशैली कायम गर्न ध्यान उत्तम उपाय हो ।

ध्यानको अभ्यासद्वारा व्यक्तिले भित्रि शान्ति प्राप्त गर्न सक्छन् । आफूलाई आराम हुने अवस्थामा शरीरलाई राखी ध्यान ५ मिनेटदेखि बढाउँदै ३० मिनेटसम्म नियमित गर्ने । यसले तनावबाट राहत मिल्छ । आँखा बन्द गर्ने, पलेटी कसेर बस्ने, दिमागमा कुनै पनि कुरा नखेलाइ स्थिर भएर बस्ने, चिन्तन गर्ने ध्यानका तरिका हुन् ।

तनाव व्यवस्थापन गर्ने भन्ने बित्तिकै विचार, मनोभावना, कार्यगत व्यवहार आदिको नियन्त्रणलाई बुझाउँछ । तनाव व्यवस्थापनको अन्तिम लक्ष्य भनेको सन्तुलित जीवन नै हो । जसको फलस्वरुप काम, सम्बन्ध, आराम, मनोरञ्जन आदिका लागि समय निकाल्नुका साथै दबाब सहेर पनि उत्थानशील हुन सकिन्छ । तथापि, तनाव व्यवस्थापनको पक्षलाई हेर्दा मानिसले धेरै ज्ञान हासिल गर्नुपर्नै देखिन्छ ।

तनाव व्यवस्थापनका विभिन्न रणनीतिहरु छन् । प्रमुख रणनीतिहरुः तनावको स्रोत पहिचान गर्ने, तनावका स्रोत बाह्य मात्र नभइ मानिस स्वयम् पनि हुन सक्छ । तसर्थ, मानिसले आफ्नो आत्म मूल्यांकन गर्नुपर्छ । तनावका संकेतहरु पहिचान गर्ने जस्तै : केही सामान्य संकेतहरु अनिद्रन, शारीरिक दुखाइ, उत्साहमा कमी, चिन्ता आदि पर्दछन् ।

जीवनका गतिविधिलाई निरन्तरता दिइरहँदा तनाव स्वतः हराएर जान्छ । सधैँ क्रियाशील रहने बानी भयो भने मस्तिष्कमा अनावश्यक कुरा खेल्न पाउँदैन । तसर्थ, तनावको शिकार हुनबाट बचिन्छ । अन्य व्यक्तिसँग सम्पर्कमा रहने एक्लोपन र मनका कुरा खोल्न साथी वा आफन्त नहुँदा तनावको शिकार भइन्छ । आफ्ना भावनाहरु अथवा तनावहरु साथी वा परिवारसँग अभिव्यक्त गर्नाले मन हलुका हुने र तनावबाट मुक्ति पाउन सकिन्छ ।

आराम र मनोरञ्जनका लागि समय निकाल्ने । विभिन्न मनोरञ्जनका गतिविधिहरु जस्तै नाच्ने, गाउने, खेल्ने आदि र शरीरलाई थकानबाट आराम दिलाउने जस्तै प्रशस्त निद्रा पु¥याउने आदि कार्यबाट पनि तनावबाट मुक्त हुन सकिन्छ ।

समयको उचित व्यवस्थापन पनि तनाव व्यवस्थापनको उपयुक्त रणनीति हो । समयलाई उचित व्यवस्थापन गर्न नजान्दा समयमै कामकारबाही गर्न नसकेको चिन्ताले पिरोलिरहन्छ, फलस्वरुप त्यस्ता व्यक्तिहरु आत्तिने, झर्किनेजस्ता तनावले ग्रसित हुन्छन् । यसर्थ, समयलाई उचित व्यवस्थापन गर्न सके तनावबाट बच्न सकिन्छ ।

स्वस्थ जीवनशैली, नियमित, व्यायाम, सन्तुलित आहार, अम्मलबाट टाढा रहने र तनाव व्यवस्थापन आफैबाट आजैबाट गरौँ र प्रशस्त निद्रा पु¥याउने स्वस्थ जीवनका लागि प्रमुख रणनीति हुन् । साथीभाइ, छरछिमेक, आफन्तसँग राम्रो सम्बन्ध राख्न सके मनमस्तिष्क हलुको हुन्छ र तनावबाट हदैसम्म जोगिन सकिन्छ । तनावसँग अनुकूल भइदिने ।

तनावको स्रोतलाई परिवर्तन गर्न कतिपय अवस्थामा सकिँदैन, यस्तो अवस्थामा आफ्नो आकांक्षा र मनोवृत्ति परिवर्तन गरी यसैसँग अनुकूल हुने । सकारात्मक सोचले समस्यासँग जुध्न थप उर्जा मिल्ने गर्दछ, जसले तनाव कम गराउँदछ । मस्तिष्कलाई आराम दिने अभ्यास जस्तै योग, ध्यान, आराम, आदिले तनाव कम गरी शारीरिक एवम् मानसिक स्फूर्ति बढाउँछ । द्वन्द्वले तनाव सिर्जना गर्ने भएकाले यसको पहिचान हुने बित्तिकै त्यसको छिटोभन्दा छिटो समाधान खोज्नु पर्दछ ।

द्वन्द्वलाई प्रारम्भिक चरणमा समाधान गर्न जति सजिलो हुन्छ त्यत्ति नै सजिलो पछिल्लो चरणमा हुँदैन । दुई वा सोभन्दा बढी व्यक्ति वा समूहहरुबीच मूल्य, मान्यता, उद्देश्य, विश्वास, अवधारणामा देखिने भिन्नता एवं असहमतिका कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्थालाई द्वन्द्व भनिन्छ । द्वन्द्वलाई तनावको कारक मानिन्छ । यसले व्यक्ति, परिवार, समाज र राष्ट्रमा तनाव सिर्जना गर्दछ ।

द्वन्द्वमा सम्मिलित पक्षहरुकोबीचमा गालीगलौज, भौतिक आक्रमण, मुद्दामामिला, हिंसात्मक घटना, धम्की, बेइज्जती, रिस आदिजस्ता गतिविधिका कारण तनाव सिर्जना हुन्छ । यही तनावका कारण व्यक्ति वा संगतको कार्यक्षमतामा गिरावट, भौतिक तथा भावनात्मक क्षतिजस्ता नकारात्मक प्रभावहरु पर्दछन् । यस्ता नकारात्मक असरहरुबाट जोगिनका लागि द्वन्द्व रुपान्तरण र व्यवस्थापनको आवश्यकता पर्दछ । द्वन्द्व व्यवस्थापनको अभ्यासहरु व्यक्ति वा संस्था दुवैले अपनाउन सक्दछन् । द्वन्द्वलाई व्यवस्थापन गर्नु भनेकै तनावमुक्त हुनु हो ।

तनावपूर्ण जीवनका मुख्य कारण हुन् ः काम, क्रोध, लोभ, मोह, इष्र्या, प्रतिस्पर्धा, वातावरण र रोगव्याधी । शारीरिक कारणले मानसिक तनाव पैदा हुन्छ भने मानसक तनावले छाती दुख्ने, पिसाव लाग्ने, शरीर दुख्ने, वेचैनी, थकान पैदा हुन्छ । स्वस्थ र दीर्घ जीवनका लागि तन र मन दुवै स्वच्छ हुनु जरुरी छ । विगतका खराब कुरा बिर्सौँ । भविष्यको चिन्तनलाई वर्तमानमा केन्द्रित रहौँ ।

किनकि वर्तमान समय तपाइँको हात र साथमा छ । समय सबभन्दा बलवान छ । तसर्थ धीर्य बन्न सकौँ । आफूलाई अरुसँग तुलना गरी समय वर्वाद नगरौँ । आफूलाई आलोचना गर्ने व्यक्ति पनि तपाईँको सकारात्मक व्यवहारले सहयोगी हुनसक्छ । उसले तपाईँलाई सित्तैमा पृष्ठपोषण र सुझाव दिएको हुन्छ ।

साधारण विषयको तुरुन्त निर्णय गरी अघि बढौँ तर महत्वपूर्ण विषयको निर्णय हतारमा नगरौँ । सहजताका साथ समस्या सुल्झाऔँ र दूरदर्शी बन्न सकौँ । जतिसक्दो अर्कालाई सहयोग गर्न खोजौँ । जुन वातावरण र परिस्थितिलाई तपार्इँ बदल्न सक्नु हुन्न, यसबारे सोचेर नबस्नु, त्यही परिस्थितिअनुसार चल्नु उत्तम हो ।

कसैसँग इष्र्या, डाह, घृणा गरी बदला लिनु, समय वर्वाद गर्नु, तनाव बढाउनु र आफैलाई नोक्सानी पु¥याउनु मात्र हो । तसर्थ, आफूले आफैलाई बदलौँ । आफू भलो त जगत भलो भनी सकभर सबैलाई प्रेम गर्नु उत्तम हो । खुसी र हाँसो उत्तम शृंगार हो । हामी सक्छौँ भने अरुलाई खुसी दिऔँ, सक्दैनौँ भने दुःख नदिऔँ । चिन्ता र पिरले दुःख बढाउँछन् । सधैँ उज्यालो हँसिलो मुखले अरुलाई आनन्द दिने बानी बसालौँ ।

भनिन्छ, हाँसोबाट आयु पनि बढ्छ । अहंकार जीवनको शत्रु हो । त्यसैले न त धनको न पदको न नामकै अहंकार गर्नु ठिक हुन्छ । त्यसबाट अन्ततोगत्वा हानी पुग्छ । हामी खाली हात आयौँ, खाली हात जान्छौँ अनि केको अहंकार ? त्यसैले अहंकारबिना शुभचिन्तक बनी दिलोदिमाग र देहले कार्य गरौँ । हामीले जीवनमा धेरै राम्रा र नराम्रा कुरा भोगेका, देखेका सुनेका र पढेका हुन्छौँ । राम्रा कुरा अँगाल्ने र नराम्रा कुरा त्याग गर्ने संकल्पका साथ अघि बढौँ ।

सकारात्मक सोच र खोजले आनन्दानुभूति गराउँछ र तनाव र चिन्ता हटाउँछ । उचित भोजन व्यायाम तथा मनोरञ्जनले शारीरिक र मानसिक दुवै तनाव हटाउन मद्दत गर्दछ । आफूसँग जे छ त्यसैलाई पर्याप्त मानी सन्तोषम् परम् सुखम्मा रमाउँदा आत्मा शान्त हुन्छ । सधैँको असन्तोषले अशान्ति र तनाव मात्र बढ्छ । आफ्नो शारीरिक र मानसिक तनाव घटाउन सक्ने व्यक्ति मात्र लामो समयसम्म बच्दछ ।

त्यसैले तनावमुक्त हुन हामी सबैले योग, ध्यान र निश्चिलताको अभ्यास गर्नु उपयुक्त हुन्छ । तनावले अत्यन्त जटिल र गहन एवं अव्यक्त रुपमा जरा गाडिसकेको हुनाले यो सामाजिक महामारीको रुपमा देखा पर्न थालेको छ । तनावको अन्तिम परिणाम भनेकै आत्महत्या हो । थुप्रै संख्यामा यो क्रम अहिले बढिरहेको छ । जुन मानव सभ्यताकै कलंक हो । यसर्थ आत्मविश्वास बढाउने र बाहिरी विकासभन्दा आत्मविकासमा जोड दिनु पर्दछ ।