मेरो खुशी : मानवीय सेवामा लाग्न पाउँदा…

उनी सधैँ कर्ममा तल्लीन हुन्छन् । चाहे त्यो मेडिकल फिल्डमा होस् वा सामाजिक कार्यमा । तुलसीपुर–११ निवासी हेमराज बस्नेत (गणेश) रोट्रयाक्ट क्लव होस् वा विभिन्न संघसंस्थादेखि अस्पतालमा निःस्वार्थ रूपले लागेका छन् । मिजासिला। कर्मठ बस्नेतको खुसी लेख्न खोज्दै गर्दा उनी तुलसीपुर स्थित तुलसीपुर सिटी अस्पतालको खटनपटनमै थिए ।

पेसाले मेडिकल व्यवसायी बस्नेत समाजमा हुने जुनसुकै सामाजिक कार्यमा खुसीका साथ आफ्नो जिम्मेवारीमा तल्लीन देखिन्छन् । उनको खुसी नै मानव सेवा हो । कुनै व्यक्ति बिरामी भएको अवस्थामा होस् वा कुनै संघसंस्थामा नेतृत्व चुन्नका लागि हुने चुनावमा, उनलाई नसम्झने र उनको आवश्यकता नखट्कने ठाउँ विरलौ होला ।

धेरैजसो युवाहरू पढेलेखेर अमेरिका, युरोप रोजे पनि उनले भने नेपाल त्यसमा पनि आफू जन्मेको थलोमा केही गर्नु पर्छ भनेर भविष्य खोजिरहेका छन् । घरपरिवारको कान्छो छोरा बस्नेतका अन्य दाजुहरू अमेरिका र जापानमा छन् तर उनीभने आमाबुबा र समाज सेवाका लागि जिल्लामै बसेका छन् ।

‘मेरो खुसी यही गाउँघरमै सेवा गर्न पाउनु हो, म यसैमा खुसी छु’, उनले भने । उनले आफ्नो पहिलो खुसी समाज सेवा र स्वास्थ्य सेवा नै भएको बताए । त्यस्तै बस्नेतले अर्को खुसी सानो उमेरमा तुलसीपुर १३ स्थित अम्वेश्वरी माविमा कक्षा १ र २ मा विद्यालय प्रथम भएर १ सय २५ रूपैयाँ पाउँदाको सुनाए । विसं २०५४ सालमा विद्यालय प्रथम भएको र सो पुरस्कार पाउँदा खुसी भएको सुनाए ।

उनले सो पैसा घरमा लगेर बुबाआमालाई दिएको सम्झिए । त्यस्तै विसं २०६४ सालमा दिव्यज्योति इङ्लिश बोर्डिङ स्कूल तुलसीपुर–१२ कचिलाबाट एसएलसी दिएका बस्नेतले एसएलसी पछिको पढाइ स्वास्थ्य क्षेत्रमा सुरु गरेको बताए । बस्नेतले नेपालगंज स्थित कैलपाल हस्पिटल एण्ड कलेजमा हेल्थ असिस्टेन्ट एचए पढ्न आफू गएको र त्यहाँ पनि टप हुँदा अर्को खुसी मिलेको सुनाए । बस्नेत त्यससँगै विसं २०६८ सालमा फागुनमा आफुले पढाइ सकेर दाङ फिर्किएको एक महिनामै जागिर पाउँदा अर्को खुसी मिलेको सुनाए ।

‘म पढेर सक्ने बित्तिकै फेरि अस्थायी जागिरमा नाम निकाल्न सफल भएँ, त्यो पनि मेरो खुसीको कुरा हो’, उनले भने । बस्नेतले विसं २०६९ साल वैशाखदेखि लमही स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । केही वर्ष लमहीमा सेवा गरेका बस्नेतले विसं २०७१ सालदेखि तत्कालीन राप्ती अञ्चल अस्पताल फेरि जागिर सुरु गरेको बताए ।

त्यसपछि उनले नेपाल रेडक्रस सोसाइटीमा कम्य्ुनिटी हेल्थ एण्ड वास कार्यक्रमको संयोजकको भूमिकामा काम गर्न पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । ‘मैले फेरि कमिन्युटी हेल्थ वास कार्यक्रममा संयोजकको भूमिकामा रहेर दाङका विभिन्न गाउँबस्तीमा स्वास्थ्यसम्बन्धी सचेतना दिने अवसर पाएँ, त्यसमा पनि मलाई निकै खुसी लागेको छ’, बस्नेतले भने ।

विसं २०७३ सालदेखि ७७ सम्म दाङ टेक्निकल कलेजमा पढाउने अवसर पाएकोमा खुसी व्यक्त गरे । ‘मैले जागिर सँगसँगै शिक्षा पनि दिन पाएँ, म त्यसमा खुसी छु’, बस्नेतले भने । सानै उमेरमा विभिन्न स्थानमा जागिरका साथै टेक्निकल क्षेत्रमा विद्यार्थीलाई शिक्षा दिन पाउँदा आफूलाई खुसी लागेको सुनाए । उनले आफूले हजारौँलाई स्वास्थ्य सेवा, सयौँ विद्यार्थीलाई शिक्षा दिएको र आफूले पढाएका विद्यार्थी अहिले विभिन्न क्षेत्रमा पुगेर सेवा दिएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनीहरूले सम्झँदा तथा उनीहरूको प्रगति देख्दा आफूलाई झनै खुसी लाग्ने गरेको बस्नेत बताउँछन् । त्यस्तै बस्नेतले विसं २०७७ सालमा कोभिडको महामारीमा विश्व आक्रान्त परेको बेला बाटोमा अलपत्र परेका यात्रुलाई उद्धारमा ठूलो जोखिम मोलेर खाना खुवाउनुका साथै उनीहरूलाई गन्तव्यमा पुर्याउन पनि आफूले सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए ।

‘कोभिडको महामारीमा कोही पनि बाहिर निस्कने अवस्था थिएन तर हामीले २२ सय बढीलाई निःशुल्क खाना तथा यातायात व्यवस्थापन गरी गन्तव्यसम्म पु¥याउने अवसर मिल्यो, त्यसमा पनि मलाई निकै खुसी लागेको थियो, सेवा गर्न पाउँदा पनि खुसी लागेको उनी सम्झन्छन् । त्यस्तै तुलसीपुर स्थित तुलसीपुर सिटी अस्पतालका प्रबन्धक समेत रहेका बस्नेतले प्रत्येक वर्षमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरी दुःखी गरिब र पैसाको अभावका कारण सेवा नपाएकाको सेवा गर्न पाउँदा निकै खुसी लाग्ने गरेको बताउँछन् ।

बस्नेतले विभिन्न समयमा विभिन्न व्यक्तिलाई सेवा गरेको भन्दै सेवा गर्न पाउँदा आफूलाई निकै खुसी लाग्ने गरेको सुनाए । त्यस्तै विभिन्न देशविदेश घुमेका बस्नेतले अन्य स्थानमा भएको विकास र त्यहाँका नयाँपन सिकेर यहाँ त्यसलाई व्यहारमा लागू गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै रोट्रयाक क्लव अफ तुलसीपुरको अध्यक्ष समेत रहेको बस्नेतले युवाहरूको साथ, सहयोग र युवाहरूलाई सकारात्मक सामाजिक कार्यमा लाग्न अगुवाइ गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । विभिन्न सामाजिक तथा स्वास्थ्य संस्थामा काम गरेका बस्नेतले आफूलाई सरकारी जागिर र विदेशको मोह कहिले नपलाएको भन्दै जे छ त्यसैमा सन्तुष्टि मिलेको सुनाए । ‘मेरो खुसी यसैमा मिलेको छ, सबै साथीभाइ, इष्टमित्र र घरपरिवारको साथ र सहयोग पाएको छु, म यसैमा खुसी छु’, बस्नेत भन्छन् ।

प्रस्तुती : बालाराम खड्का