ज्येष्ठनागरिक हाम्रा आदर्श हुन्

नारायणप्रसाद श्रेष्ठ
सामाजिक सद्भाव र विविध उद्देश्य बोकेर गतिशील भएको हाम्रो सामाजिक परिवेशलाई हेर्ने हो भने यहाँ विविधतामा एकता भएको पाइन्छ । जीवनको प्रत्येक क्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखापरेको मानव स्वभावले समाजलाई राम्रो, नराम्रो दुवै पक्ष अँगाल्दै अघि बढेको देखिन्छ । मानवीय आचरण, सेवा र तिरस्कार दुवै भएर अघि बढेको पाइन्छ ।

आचरण र व्यवहारमा देखिएको तिरस्कार मानव स्वभावको सबैभन्दा र घिनौना र गलत कर्म भएर देखापरेको पनि देखिन्छ । हिन्दु सभ्यता र संस्कृतिलाई हेर्ने हो भने मानिस स्वयम् ईश्वरको रुपमा पुजिनुपर्ने थियो तर हामी हाम्रो शारीरिक बनोट र आत्मसत्यको त्यो सुन्दर पक्षलाई छोडेर सीमित सोच र चिन्तनको घेराभित्र रही क्षणिकता नै सबै हो तथा धनसम्पत्ति नै सबै सुख, आनन्द नै जीवनको उद्देश्य हो भनी कृत्रिमतामा रमाइरहेका छौँ ।

इमान, जमान, नैतिकता र सेवाभावबाट प्राप्त उपलब्धिले ल्याउने सन्तुष्टिभन्दा सम्पत्ति र अहंकारलाई साथै लैजाने गरी स्वार्थकेन्द्रित विचारलाई प्रोत्साहन दिइरहेका छौँ । म कहिल्यै मर्नुपर्ने छैन र मलाई समयले केही गर्न सक्दैन भन्ने दम्भ राखी समयलाई चुनौती दिएर पनि अघि बढेको स्थिति छ । फलस्वरुप सामाजिक स्वरुप नै कुरुपतातर्फ अग्रसर भइरहेको देखिन्छ । हेर्दा, बोल्दा वा विचारहरु संप्रेषण गर्दा विचारको दरिद्रता बोकेर जब मानव स्वभाव क्षणिकतातर्फ अग्रसर हुने अवस्था हुन्छ, तब सृष्टिचक्रको इतिहासमा मानव स्वरुपमा रहेको आदर्श सदाको लागि लोप हुने स्थिति रहन्छ ।

जीवनको उद्देश्य सीमित घेराभित्र रही अहंकार, घमण्ड र स्वार्थकेन्द्रित विचारले उसको जीवन आफै विलिन भएर जान्छ । न त विचारले उ जीवित रहन्छ न त कर्मले उ जीवित रहन्छ । तसर्थ, मानव जीवनको त्यो ईश्वरीय गुणलाई बुझेर प्रत्येकले आफूलाई सच्चा र इमानदर आत्माको स्वरुप ठानी प्रस्तुत हुनु परेको छ । सामाजिक प्रतिष्ठासँग गाँसिएको विश्वास र अनुशासनलाई जीवनको गतिशीलतासँगै आफूलाई समर्पित गर्नुपरेको छ । ज्ञान, दृष्टि र चर्मदृष्टिले ल्याउने परिवर्तनलाई आत्मसात गरी सत्विक सत्यतर्फ आफूलाई रुपान्तरण गर्नुपर्छ ।

जसको मन, भावाना र विचार पवित्र हुन्छ, उसको तन पनि पवित्र भइ उ सबैको श्रद्धाको पात्र बन्नसक्छ । रुप होइन व्यवहारले उसलाई समाजले प्रतिष्ठाको पात्र बनाएको हुन्छ । जसरी पारदर्शी ऐनाले व्यक्तिको वाह्य रुपको पहिचान गराएको हुन्छ, त्यसरी नै ज्ञानदृष्टिले मानिसलाई उसको अन्तरमनको सत्यता, स्वच्छता, इमानदारी र पवित्रतालाई नैतिकतासँग गाँसेर निःस्वार्थ सेवामा अग्रसर गराएको हुन्छ ।

सकारात्मक सोच र चिन्तनले भरिएको विचारसँगै ‘सर्वेभवन्तु सुखिन’तर्फ अग्रसर गराएको हुन्छ । तसर्थ, समय र परिस्थितिले जीवनलाई जुन गतिमा गतिशील बनाइरहेको हुन्छ, त्यो परिस्थितिको आँकलन गर्दै आफूलाई पथप्रदर्शकको रुपमा प्रस्तुत हुने वातावरण बनाउनु पर्दछ । मानिस जन्म लिएपछि मर्नुपर्छ भन्ने सत्यलाई बुझेर भौतिकवादी सत्यले ल्याएको मायाको जालोलाई ज्ञान चछुको आँखाले पहिचान गर्ने इच्छाशक्ति जागृत गर्नुपर्छ । हुन त आधुनिक युगले क्षणिकताभित्र रहेको सुख र स्वार्थ नै जीवनको उद्देश्य हो भन्ने गरी मानिसलाई विलाषीतर्फ धकेल्दै गरेको छ ।

यसबेलामा आदर्शका कुरा केवल ढोङ मात्र पनि हुनसक्छ । आध्यात्मचिन्तन मानिसलाई भुलभुलैयामा पार्ने गलत धारणातर्फ अंकित पनि गर्न सक्छ । यस्तो अवस्थामा आध्यात्मिक चिन्तनलाई सीमित घेराभित्र राख्ने प्रयास पनि नगर्लान् भन्न सकिन्न । तथापि, सूर्यलाई हत्केलाले छोपेर कहिल्यै छोपिँदैन भन्ने सत्यलाई बुझी ज्ञान दीक्षाको माध्यम आत्मसत्यको पहिचानसँगै पवित्रता नै जीवनको उद्देश्य हो भनी अन्तरआत्माभित्र लुकेको सत्यलाई जान्न सक्नु पर्छ । तब नै जीवन सफल भएको मान्न सकिन्छ ।

समाज नयाँ पुस्तालाई असल संस्कृति र आचरण सिकाउने थलो पनि हो । समाजमा विद्यमान संस्कृति र परम्पराबाट नै नयाँ पिँढीले सामाजिक रुप र विशेषता पहिचान गर्ने अवसर पाएको हुन्छ । अभिभावकको कार्यशैलीबाट नै नयाँ पिँढीले असल संस्कृति र आचरण पालन गर्न सिकेको हुन्छ । दैनिक जीवनमा आइपर्ने समस्या, चुनौती र अवसरको ज्ञान आर्जन गर्न सक्षम भएको हुन्छ ।

बालमनोविज्ञानलाई बुझेर अभिभावकले जसरी आदर्श चिन्तन र व्यवहार गरेका हुन्छन्, बच्चाले खेल्ने, घुम्ने, पढ्ने वातावरण पाएको हुन्छ, समस्या र समस्याको समाधान गर्ने इच्छा जागृत गरेको हुन्छ, असल संस्कृतिको पहिचान गरी अनुशासिन जीवनपद्धतिलाई आफ्नो कार्यशैली बनाएको हुन्छ, तदनुकूल अभिलाषा बढाएको हुन्छ, स्वच्छता र इमानदारी नै जीवनलाई सुन्दर पक्षमा लैजाने ज्ञान अमृत ठानेको हुन्छ त्यसको मूल स्रोत हेर्ने हो भने त्यसको पछाडि ज्यष्ठ नागरिक वा अभिभावकको महत्वपूर्ण हात रहेको पाइन्छ ।

वास्तवमा जीवनलाई सही र स्पष्ट दिशानिर्देश गर्ने सवालमा अभिभावक हाम्रा आदर्श हुन् भन्ने विषय दुईमतको नहुनसक्छ । ‘ज्ञान मर्दछ हाँसेर, विज्ञान रोइ मर्दछ’ भनेर जसरी भन्ने गरिन्छ, यसरी नै ज्ञान विज्ञान हो, जीवन नै ज्ञान हो भन्ने आधारलाई हेर्ने हो भने त्याग र समर्पणमा आधारित जीवनको सत्यलाई हिजो अभिभावकले जसरी सन्ततीका लागि आफूलाई समर्पण गरे, त्यसलाई मूल्यांकन गर्ने हो भने ज्येष्ठ नागरिक अभिभावक हाम्रा आदर्श हुन्, नयाँ पिँढीका लागि ईश्वरीय रुप हुन् भन्न सकिन्छ ।

वास्तवमा सफल व्यक्ति त्यही हुनसक्छ, जसले अरुको चाहना र अनुभूतिलाई इमानदारीपूर्वक बोध गराउन सक्षम हुन्छ । अभिभावक बन्न जति सजिलो छ, त्यति नै अभिभावकत्व ग्रहण गरी जिम्मेवारी निभाउने कुरा कठिन र मुस्किल पनि छ । मानिसले आफूलाई जति सजिलैसँग विश्वास गरोस्, मेरो इमानदारीमा भरोसा गरोस् भनी चाहना राख्दछ, त्यसैगरी अरुले पनि त्यही चाहना राखेका हुन्छन् ।

जब मानिसले अरुलाई इमानदार र नैतिकता पाठ सिकाउने कुरामा आफूलाई अग्रसर गराउँछ, त्यसबेला उसले आफ्नो आचरणलाई नहेरेको अवस्था पनि देखिन्छ । अहिले मानिसको चाहना मलाई सबैले विश्वास गरुन्, तर मैले मेरो चाहनाअनुसार अरुलाई विश्वास गर्ने नगर्ने मेरो स्वइच्छामा हुनुपर्छ भनी कुर्लने संस्कृति देखिएको छ । यस्तो अवस्थामा सबै गम्भीर बन्नु पर्ने हुन्छ ।

सफलतामा प्रशंसा पाउने ठूलो कुरो होइन । मलाई सबैले चाहना राखून् भन्ने इच्छा राख्नु गलन पनि होइन तर सोही अनुसार आफूले कार्य गरेको छ वा छैन, त्यो बुझ्न नितान्त जरुरी र आवश्यक पनि रहेको हुन्छ । मानिस आदरणीय तब बन्न सक्छ जब उसको कर्म र व्यवहारले पवित्रताको बोध गर्दछ । कर्ममा निःस्वार्थभाव जबसम्म प्रदर्शन हुँदैन तबसम्म मानिसले आफूलाई सक्षम र इमानदार पनि बनाउन सक्दैन । तसर्थ, जीवनको हरेक गोरेटोमा अभिभावकले जसरी आदर्श गोरेटो निर्माण गरेर पथप्रदर्शक बनेका हुन्छन् त्यसलाई मूल्यांकन गर्ने हो भने अभिभाव ईश्वरको अर्को रुप हो भन्ने कुरामा दुईमत नहुनसक्छ ।

मानिसले मानिसलाई देखाउने व्यवहारलाई तिरस्कार गर्नुको बदला उनीहरुको पिरमर्का र समस्यालाई बुझी सहिष्णुता र दयालुपन भाव राख्न सक्नु जीवनको उद्देश्य हुनु पर्दछ । जहाँ श्रद्धा र आस्थाको आँकुरा पलाउने वातावरण बन्दछ त्यहाँ निःस्वार्थ र विश्वासको वातावरण बन्दछ । जुन व्यक्ति आफू र अरुलाई विश्वास गर्न जान्दछ, यो गर्न हुने र गर्न नहुने काम हो भनी छुट्याउने क्षमता राख्दछ, त्यो व्यक्तिबाट नै आदर्शता प्रतिबिम्ब हुने अवस्था रहन्छ ।

आजका बच्चा भोलिका कर्णधार र आजका युवा भोलिका निर्माता हुन् भनी वाकचातुर्यता मात्र देखाउने, आपूmले गरेका कुरा बाहेक अरुको कुरामा त्यति वास्ता नगर्ने हो भने यो पिँढी मात्र होइन, जन्मजन्मान्तरको इतिहासमा कोरिँदै आएको अभिभावकको आदर्श माटोमा मिसिएसरह हुन्छ । तसर्थ, हिजो अभिभावकले वर्तमानको लागि जेजति कर्म, व्यवहार र चुनौतीको सामना गर्दै आफ्ना बच्चाको उज्ज्वल भविष्यका लागि समर्पित रहे त्यसको गहिरो अध्ययन र विश्लेषण गर्न सक्नु पर्छ ।

वर्तमान नै भविष्यको आधार हो भन्ने गरी आफ्ना अभिभावकको निर्देशनलाई ईश्वरीय आशीर्वाद सम्झेर काम गर्नु गराउनु पर्छ । हुन त वर्तमान र हिजोको परिवेशमा केही भिन्नता नभएको होइन । हिजो जुन कुरा योग्य थियो अपवादको रुपमा त्यो वर्तमानमा नहुन पनि सक्छ तर सत्य सधैँ एउटै धरातलमा गतिशील हुने मान्यतालाई शिरोधार्य गर्ने हो भने हिजो पनि हाम्रा अभिभावकले यस्तै समस्याका सामना गरे होलान् भनी सोच्नु पर्छ । अभिभावकको त्यो संघर्षलाई नजरअन्जाद गर्न मिल्दैन ।

तसर्थ, आफूले गरेको प्रत्येक कर्मले आफ्नै मूल्यांकन गर्छ भन्ने सत्यलाई बुझी क्षणिकतामा रमाउने जुन परिस्थिति वर्तमानमा झाँगिँदै गएको छ त्यसलाई आफ्नो विश्वास र इमानदारीको कसौटीमा घसेटी, निखारी असल कर्मको पथचिह्न पहिल्याउँदै प्रत्येकले आफ्नो प्रवृत्तिलाई सकारात्मक चिन्तनतर्फ आकर्षण गर्न सक्नु पर्छ । अहिले हामीले नगरे भावि सन्तानले पनि हामीलाई पनि त्यसरी नै गलत मूल्यांकन गर्न सक्छन् भन्ने मान्यता राखी अभिभावक हाम्रा अदर्श हुन्, यिनको संरक्षण र सम्बद्र्धन हाम्रो जिम्मेवारी हो भन्दै असल अभिभावक बन्न सबैका लागि अपरिहार्य आवश्यक मानिन्छ ।

अन्यथा जुन डोकोमा राखी छोराले बाबुलाई अपहेलना गरेर वृद्धाश्रमको ढोका घचघच्याउन पुग्दछ त्यही डोकोमा नातिले बाबुलाई राखी वृद्धाश्रमा नपु¥याउला भन्न सकिन्न । त्यसैले ज्येष्ठ नागरिक (अभिभावक)लाई ईश्वरको प्रतिमूर्ति मानी उनीहरुले सिकाएको सकारात्मक प्रवृत्तितर्फ वर्तमानको पिँढी जान जरुरी छ । यो वर्तमानको आवश्यकता हो ।