‘साना किसानको जीवनस्तर उकास्न परियोजनाको महत्वपूण भूमिका’

  •   
  •  

दाङ, १२ असार । ग्रामीण क्षेत्रका साना किसानहरुको आर्थिक जीवनस्तरमाथि उकास्न परियोजनाले महत्वपूर्ण भूमिका खेलेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएको ‘पशुबस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना’ले पेशालाई व्यावसायिक बनाउँदै आर्थिकरुपमा सक्षम बनाउन किसानहरुलाई ठूलो सहयोग खेलेको बताएका हुन् ।

परियोजना अनुगमन तथा समन्वय समितिको शनिवार घोराहीमा बसेको बैठकमा बोल्ने बक्ताहरुले परियोजनाले चार बर्षको अवधिमा ग्रामीण क्षेत्रका किसानहरुको सोचमा परिवर्तन गर्नेदेखि कृषि व्यवसायलाई व्यावसायिक बनाउन तालिम, प्राविधिक सहयोगदेखि उत्पादन भएका पशुजन्य बस्तुको बजारीकरणसम्म सहयोग गर्दै आएको बताएका थिए । त्यसका लागि परियोजनाले किसानलाई संगठित गरेर तालिम दिने, प्राविधिक ज्ञान, उपकरणसँगै उत्पादन भएको बस्तुको बिक्रीलगायतका सहयोगका कामहरु चार बर्षको अवधिमा गरेको बैठकमा कार्यक्रम संयोजक भीमकान्त चौधरीले जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले परियोजनाले जनतालाई समूहमा जम्मा गर्नेदेखि संगठित भएर कृषि व्यवसायमा लाग्न समेत सहयोग गरेको बताएका थिए । जनताका लागि सरकारले गर्ने काम संस्थाले गरेर महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनहरुमा समेत सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

त्यसैगरी उपप्रमुख हुमा डिसीले आर्थिक समृद्धिका लागि कृषि पेशालाई व्यावसायिक बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि संस्थाले सहयोग गरेको बताएकी थिइन् । साथै उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत सञ्चालन गर्न आवश्यक रहेको बताएकी थिइन् ।

परियोजना सन् २०१८ अप्रिल १६ गतेदेखि २०२३ जुन ३० सम्म दाङ, सल्यान र प्युठानका पाँच वटा स्थानीय तहमा काम गरेको थियो । जसअन्तर्गत दाङका घोराही उपमहानगरपालिका र लमही नगरपालिका, प्युठानको सरुमारानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा परियोजना लागू भएको थियो ।

घोराही उपमहानगरपालिका नगर प्रमुख समेत रहेका परियोजना अनुगमन तथा समन्वय समितिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डल्लुराम पोख्रेल, वडा सदस्य रामकली घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा परियोजनाले गरेका कार्यको बारेमा ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशामानी चौधरीले जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण परियोजनाकी पार्वती बस्नेतले गरेकी थिइन् ।

संस्थाको कामको प्रशंसा

यसैबीच स्थानीय सरकारले गर्ने काममा ग्रामीण महिला उत्थान केन्द्रले अतुलनीय भूमिका खेलेको भन्दै सहभागीहरुले संस्थाको कामको प्रशंसा गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्रले शनिवार आयोजना गरेको साझेदारी मञ्च बैठकमा सहभागी वक्ताहरुले दूरदराजका, स्थानीय सरकार पुग्न नसकेको ठाउँमा पनि केन्द्रले सकारात्मक ढंगले काम गर्दा स्थानीय सरकारलाई सफल बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरेका हुन् ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय सरकारलाई जवाफदेही बनाउनेदेखि कार्यान्वयन प्रक्रियामा भूमिका खेलेको हुँदा पालिकाको नीति तथा कार्यक्रम प्रभावकारी बनेकोमा जोड दिइएको छ ।

त्यस अवसरमा नगर प्रमुख चौधरीले नरुलाल चौधरी खेतीपातीको सिजन सुरु भैसक्दा पनि मलको आपूर्तिको काम सरकारले बेलैमा गर्न नसक्दा स्थानीय सरकारले मल व्यवस्थापन गर्न कठिन भएको बताए । वर्षेनी मलको समस्या दोहोरिने अवस्था रहेकाले यो काम कम्तीमा प्रदेश सरकारले गर्न सकेको भए राम्रो हुने उनको धारणा थियो ।

त्यसैगरी नगर प्रमुख चौधरीले कृषिलाई सामूहिकरण गर्ने घोराहीको प्राथमिकतामा परेको बताए । यान्त्रिकरण गर्दै एकीकृतरुपमा कृषि उत्पादनमा जोड्न घोराहीले नीति लिएको बताउँदै उनले सामूहिक खेती अबको प्राथमिकतामा परेको जानकारी गराएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष राममणि पाण्डेले शिक्षा, सडक, सिँचाइ, पूर्वाधार विकासको वरिपरि समाज घुमिरहेकाले समाज अभिलाषा पूरा गर्न चुनौतीपूर्ण रहेको बताए । त्यसका लागि रोजगार उन्मुख व्यवस्थामा स्थानीय सरकार अघि सर्नुपर्नेमा सामाजिक संघसंस्थाको भूमिका रहने बताए ।

दाङ, सल्यान र प्युठानमा सीमान्तकृत र विपन्न नागरिकहरुको उत्थानका लागि परियोजनामार्फत सशक्तीकरणको काम गर्दै आएको संस्थाले पारस्परिक जवाफदेहिताअन्तर्गत घोराहीको वडा नं. १, २ र ४ मा साझेदारी मञ्च, रेडियो स्रोता क्लब, स्थानीय सभा, हेड कोलिशन, च्याम्पियन गरी पाँच वटा विषयगत रुपमा काम गर्दै आएको छ ।

कार्यक्रममा परियोजनाका काम, वर्तमान अवस्था र उपलब्धिका बारेमा परियोजना संयोजक एचबी थापाले प्रकाश पारेका थिए । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कुलबहादुर लामिछाने, १५ का अध्यक्ष रमेश पाण्डे, हेड कोलिशन संयोजक थम्मन चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष अनिल आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलगायतले बोलेका थिए ।

ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आशमानी चौधरीले संस्थाको कामका बारेमा जानकारीसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संस्थाकी परियोजना अधिकृत शिवा चौधरीले गरेकी थिइन् ।