गोरक्ष समाचारदाता
दाङ, १२ असार । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले परिवार नियोजन संघले रूकुम–पूर्वका शिक्षकहरूलाई वृहत यौनिकता शिक्षा दिन लागेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघको आयोजनामा शनिवार दाङको घोराहीमा रुकुम–पूर्वका शिक्षकहरूलाई एकै थलोमा राखेर आगामी पाँच दिनसम्म वृहत यौनिकता शिक्षा प्रदान गरिरहेको छ ।
नेपाल परिवार नियोजन दाङ शाखा उपसभापति भरतराज देवकोटाको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय उपाध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यतामा पाँचदिने तालिम उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख अतिथि गौतमले समाजमा अहिले पनि खुल्न नसकेको यौन शिक्षाका कारण अनेक प्रकारका विकृति–विसंगति तथा अपराधजन्य घटना भइरहेकाले यसको सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाबाटै प्रदान गर्न शिक्षकहरूलाई वृहत यौनिकता शिक्षामार्फत् अभिमुखीकरण गर्न सकेको खण्डमा बालबालिकाहरूको संवेगात्मक विकासमा ठूलो योगदान पुग्ने बताए ।
‘शिक्षक, विद्यालय र विद्यार्थीबाट यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सचेतना फैलाउन विद्यालय शिक्षाबाटै यो अभियान खुलेरै लैजानु पर्ने अहिलेको आवश्यकता छ’, उनले भने, ‘हामीले हिजोका दिनमाझैँ आफ्नो मनोभाव र व्यवहारबारे व्यक्त गर्न नसक्दा अनेकन समस्या भोग्न बाध्य भयौँ, यो अबका पिँढीले भोग्न नपरोस् भन्ने हाम्रो अभियान हो ।’
सहरभन्दा गाउँबस्ती, दुर्गममा बसोबास गर्ने बालबालिकाको संवेगात्मक विकासमा यौन तथा प्रजनन् स्वास्थ्य र शिक्षाका बारेमा बेलैमा सचेतना प्रदान गर्न नसक्दा अपराधजन्य घटना मात्रै नभइ उनीहरूको व्यक्तिगत स्वास्थ्यमा पनि गम्भीर प्रकारका समस्या भोग्न बाध्य भएका थुप्रै उदाहरण रहेकाले यसबारे शिक्षा प्रदान गर्न शिक्षकहरूबाट अघि बढ्न सकिने बताएका थिए । ‘यौन शिक्षा दाल–भात खाएजस्तै हो तर खोइ किन लुकाइन्छ, अब यसबारे खुलेर बहस हुन जरुरी छ’, उनले भने, ‘हामी अब यसको बारेमा अरू समस्याजस्तै खुलेर बहस गर्नुपर्छ ।’
कार्यक्रममा प्रशिक्षक समेत रहेका सिसो नेपालका अध्यक्ष खुमानन्द सुवेदीले विद्यालय शिक्षाबाटै वृहत यौनिकता शिक्षा प्रदान गर्न सबैभन्दा बलियो आधार शिक्षकहरूमा यसको वृहत ज्ञान दिन जरूरी रहेको बताए । उनले आगामी दिनमा यस प्रकारको ज्ञान फैलाउन हातेपुस्तिका तयार पारी शैक्षिक सामग्रीका रूपमा विकास गर्ने योजनाका साथ अभियान अघि बढेको जानकारी गराए ।
शनिवारदेखि सुरु भएको तालिम आगामी १५ गतेसम्म चल्नेछ । जसमा रुकुम–पूर्वका विभिन्न १७ विद्यालयबाट २८ जना शिक्षक सहभागी भएका छन् । तालिमको प्रशिक्षकमा डा. भगवान अर्याल, अनुप अधिकारी, बसन्त खनाल, नारायणी त्रिपाठी, रेणु यादव, खुमानन्द सुवेदी छन् । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गरेका थिए । परिवार नियोजन संघले पछिल्लो समय दुर्गम क्षेत्रमा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वृहत यौनिकता शिक्षाका बारेमा वृहत रूपमा सचेतना अभियान गर्दै आएको छ ।