व्यूटीपार्लर पेसा आयआर्जनको माध्यम

गोरक्ष समाचारदाता
दाङ, १२ असार । व्यूटीपार्लर पेसा पछिल्लो समयमा महिलाहरूका लागि आय आर्जनको राम्रो माध्यम बनेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल व्युटिशिएन संघको आयोजनामा घोराहीमा शनिवार भएको एकदिने प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताले कुनै समय व्युटीर्पालर भन्दा हिच्किचाउनेका लागि आवश्यकताको पेसा बन्न पुगेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले व्यूटीपार्लर व्यवसाय पछिल्लो समय महिलाका लागि राम्रो आय आर्जनको व्यवसाय बनेको बताए ।

घरेलु उद्योगका रूपमा रहेको व्यूटीपार्लर व्यवसायले महिलालाई रोजगारसँगै आर्थिक रूपमा सक्षम बनाउने काम गरेको उनले बताए । उनले सौन्दर्यताले मानिसको आत्मविश्वासलाई प्रोत्साहन गरिरहेको हुँदा मानिसलाई यो व्यवसाय अत्यावश्यक बन्दै गएको उनको भनाइ छ ।

व्यूटिसियन संघ दाङकी अध्यक्ष सुलोचना प्रधानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रशिक्षकमा नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेशकी वरिष्ठ सल्लाहकार तथा सौन्दर्यविद चिनु गुरूङ रहेकी थिइन् । नेपाल व्यूटिसियन संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अन्शु श्रेष्ठले गरेकी थिइन् ।