सृष्टिचक्रको इतिहास

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
सत्य र असत्यको पहिचानसँगै बनेको सृष्टिको इतिहास प्रकृतिको र पुरुषबीचको सम्बन्धले विकसित भएको अनादी खेल हो । सुरुदेखि अन्त्यसम्म जसरी सृष्टिचक्रले यो अवस्थासम्म मानवीय सोच र चिन्तनमा विविधता देखाउँदै अगाडि बढेको छ, यसलाई सरसर्ती हेर्ने हो भने यो सिनेमाको खेलझैँ घुमिरहेको सत्यझैँ लाग्छ ।

प्रत्येक तीन घण्टामा दर्शक फेरिएर दोहोरिरहने सिनेमाको खेलभित्र जसरी मानव समाज पुलक्कित भइरहेको छ, त्यसरी नै जीवन पनि प्रकृति र पुरुषबीचको सम्बन्धले विकसित भइरहेको पाइन्छ । सांसारिक गतिविधि एउटा नाटकको रुपमा गतिशील भइरहेको भान हुन्छ । हामी सबै नाटकका पात्र हौँ, अभिनयकर्ता हौँ वा संसारमा कर्म र अकर्म, राम्रो र नराम्रो कर्म गर्नका निमित्त नायक र खलनायक भएर आएका हौँ ।

जसरी सिनेमामा नायक र नायिका तथा खलनायक तथा अन्य सहपात्रले आफ्नो भूमिका निभाएका हुन्छन्, त्यसरी नै सृष्टिको रचनाकारले हामीलाई सोही वमोजिमको पात्रका रुपमा प्रयोग गरिएको देखिन्छ । संसारको रंगमञ्चमा हामी पात्र भएर भूमिका निर्वाह गरिरहेका छौँ । यही चरित्र निर्माण गर्ने क्रममा राम्रा र नराम्रा, सत्य र असत्य सबै कर्म गरिरहेका छौँ । सृष्टिचक्रको इतिहास पल्टाउने हो भने यहाँ सत्य त्रेता, द्वापर र कली यी चार युग चार किसिमको आचरण र कर्मभित्र गुज्रेको देखिन्छ ।

सत्य युगको कहानी लेखिएको मसी नसुक्दै जसरी त्रेता र द्वापर र अन्त्यमा कलीयुगको सुरु भइरहेको छ । यसलाई सरसर्ती हेर्ने हो भने प्रकृतिको परिवर्तन पूर्वबाट पश्चिम हुँदै बढिरहेको पाइन्छ । जसरी पूर्वबाट पश्चिम भएर समयको गति बढिरहेको छ, त्यसरी नै सत्य, धर्म, जस, अवजस, राम्रो, नराम्रो कर्म र व्यवहार पनि परिवर्तन भइरहेको देखिन्छ ।

प्रकृति समयचक्रअनुसार घुमिरहेको अवस्थालाई बुझ्ने हो भने यो युगपछि अर्को युग आउने कुरामा शंका गर्नुपर्ने अवस्था आउँदैन । चरित्र निर्वाह गर्ने क्रममा युगअनुसार मूल्यांकन गर्दै जाने हो भने कतै सत्य विजय भएको र कतै असत्यको बोलवाला भएको पनि पाइन्छ । सत्य, असत्य, झुठ, ग्लानी वास्तविकता नबुझ्दा गलत कर्म र प्रवृत्ति पनि देखापरेको अवस्था छ । कहीँ मानवरुपी आत्माको पहिचान भएर आत्मसतोप्रधान भएर प्रकृति र पुरुषबीचको सम्बन्ध भएको पाइन्छ भने कहीँ आत्मरजोप्रधान भएर सृष्टिचक्रको इतिहास गतिशील भइरहेको पाइन्छ ।

हामी त्यसैको भूमिका निर्वाह गर्न पात्रको भूमिकामा निमित्त भएर प्रस्तुत भइरहेका छौँ । तसर्थ, सृष्टिको इतिहास दोहोरिने सत्यलाई आत्मसात गर्ने हो भने र प्रकृति र पुरुषबीचको सम्बन्ध जबसम्म रहिरहन्छ, तबसम्म यसले निरन्तरता पाउने कुरामा शंका गर्नुपर्ने अवस्था आउँदैन । त्यसैले यस कुरालाई मध्यनजर गरी प्रकृति सत्यको धरातलमा गतिशील भइरहने तत्व हो भन्ने बुझी हामी र हाम्रो पहिचानलाई बुझेर आफूलाई प्रस्तुत गर्नु परेको छ ।

संसारको भूबनोट, भूस्थिति, हावापानी, वातावरण र मानवीय आचरणलाई हेर्ने हो भने यो खेलको सुरुदेखि अन्त्यसम्म अथवा सत्य, त्रेता, द्वापार र कलियुगसम्म रचनाकारले आफूलाई अदृश्य शक्तिको रुपमा प्रस्तुत गर्दै सृष्टिचक्र रचेको पाइन्छ । संसारमा जति पनि गतिविधि भइरहेका छन्, यो नाटकको ‘स्क्रिप्ट’मा लेखिएको कथाझैँ घुमिरहेको यथार्थजस्तो लाग्छ । संसारलाई हेर्ने चर्म दृष्टिकोण अथवा सुक्ष्म दृष्टिकोणलाई बुझेर मनन् गर्ने हो भने फूलको आँखामा फूलै संसार भनेझैँ देख्न सकिन्छ ।

सुन्दरताले कतै प्रकृति जगमग भएको देखिन्छ भने कतै कुरुपता र अपराध प्रवृत्तिले संसारलाई आफ्नो मुठ्ठीमा पार्ने दुःस्शहस गरेको देखिन्छ । संसारमा मानव जातिको उदय भएपछि जेजस्तो सो र कर्महरु भएका छन्, त्यस्तै फूल र फल देखिँदै गरेको अवस्था छ । दृष्टिकोणमा विनम्रता, सहनशीलता, शिष्टता निश्चित विवेक राखी जब संसारलाई हेरिन्छ त्यहाँ सत्यता र सुन्दरता बाहेक अरु भेट्न नसकिने अवस्था रहन्छ । तर यदि त्यसो नभइ सोच, चिन्तन र व्यवहारमा स्वार्थ र अवसरवादी चिन्तन गरियो भने संसार दूषित वातावरणमा लुकेको नर्कसमान हुनसक्छ ।

स्वर्ग, नर्क यही धरतीभित्र रहेको प्रष्ट हुन्छ । तसर्थ, हामीले सृष्टिचक्रभित्रको सांसारिक गतिविधिलाई जुन संकल्पका साथ हेर्ने र बुझ्ने चेष्टा गर्छौँ, त्यही संकल्प र दृढताले संसार अडिएको सिद्ध हुन्छ । तसर्थ, यसलाई शुद्धिकरण गर्ने हाम्रो संकल्प नै हाम्रो भविष्य हो भन्ने सोची आफूलाई प्रस्तु गर्नु परेको छ । आजसम्म जति पनि देवात्मा, धर्मात्मा देखापरेका छन्, यी केवल सांसारिक गतिविधि मात्र जान्दछन् ।

भौतिक र आध्यात्मिक सत्यको यथार्थ जान्दछन् । यति हुँदाहुँदै पनि सृष्टिचक्रको इतिहास बदल्न सक्ने शक्ति नभएर नै वर्तमानमा आएर कलुषित विचारको बोलवाला भएको देखिन्छ । तसर्थ, यस सत्यलाई बुझी आफू पवित्र विचार शृंखलाको आधारस्तम्भ हो भन्ने ठानेर संसारलाई नर्कबाट स्वर्ग र नराम्रोबाट राम्रोमा परिणत गर्न हामी जिम्मेवार भएर प्रस्तुत हुनु पर्छ ।

आध्यात्मिक धर्मगुरुको भनाइलाई स्मरण गर्ने हो भने सृष्टिचक्रको इतिहासलाई विभिन्न व्यक्तिले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेको पाइन्छ । सृष्टिचक्रको त्यो इतिहासलाई बुझ्ने हो भने पृथ्वीको आयु लाखौँ वर्ष पुरानो हो भन्ने पनि बुझिन्छ । परिवर्तनशील नियमको आधार मान्ने हो भने मानिसको सोच, चिन्तन र व्यवहार परिस्कृत हुँदै सृष्टिचक्र पनि परिवर्तन भएको देखिन्छ ।

आँप रोपे आँप, सुन्तला रोपे सुन्तला फलेको सत्यलाई मान्ने हो भने गलत कर्मको फल गलत र सत्य कर्मको फल सत्य हुने कुरा यथार्थमा सत्यको धरातल रहेछ भन्ने कुरा सिद्ध हुन आउँछ । समयको परिवर्तनसँगै युगले आत्मसात गरेको आचरण र व्यवहारमा जसरी एउटा युगले आर्को युगमा रुपान्तरण भइ समयचक्र घुमिरहेको छ, त्यसरी नै उत्पत्ति हुने, नष्ट हुने प्रक्रियाभित्र रहेर सृष्टिचक्रको इतिहास पनि परिवर्तन भइरहने सत्य कदापि भुल्नु हुँदैन ।

समयको घडीझैँ सृष्टिचक्र पनि परिवर्तन हुँदै इतिहासको प्रत्येक कालखण्डमा गुज्रने सत्यलाई भुल्नु हुँदैन । प्रत्येक कल्पपछिको अर्को कल्पमा जसरी आत्माको स्वरुप परिवर्तन भइ सृष्टिचक्र घुमिरहेको छ, निश्चित आधार र गतिमा यसले आफूलाई प्रस्तुत गरिरहेको छ, नाटकको पात्रको रुपमा जसले जस्तो कर्मफलअनुसार प्रस्तुत भइरहेको छ, त्यसरी नै युगको परिवर्तनसँगै विचारमा परिस्कृतता नभएसम्म यो यसरी नै चलिरहन्छ ।

युग सत्य, धर्म, शान्ति, प्रेम र अहिंसामा आधारित रहेर गुज्रिरहेको छ । सत्य युगमा दुःख, सुख, लोभ, मोह केही थिएन । त्रेता युगसम्म आउँदा यसले सोही अनुसार आफूलाई गतिशील बनाएको अवस्था देखिन्छ । सत्य र त्रेता युगमा धर्म र सहिष्णुता कायम थियो । त्यसबेलामा आत्मसतोप्रधान भएर मानवीय चरित्र देखापरेको थियो ।

त्यसबेलामा सूर्यवंश र चन्द्रवंशको प्रभाव बढेको पाइन्छ । जब द्वापर युग सुरु हुन्छ तब आत्मरजोप्रधान भएर भक्ति र पूजालाई आधार बनाइ प्रकृति र पुरुषहरु वैश्य वर्ण भएर जन्म लिएको इतिहास पाइन्छ । द्वापर युगदेखि सोमनाथ, अमरनाथ, विश्वनाथ र पशुपतिनाथ निर्माण भइ मानवीय चरित्रलाई धर्मसँग जोडी भक्तिप्रधान भएर गतिशील भएको पाइन्छ ।

त्यसै समय धर्म संप्रदायबीचको मनमुटाव बढ्न गइ आफ्नो अनुकूल धर्मको स्थापना भइ मानवीय चेतनामा स्वार्थ र अहंकारको विजारोपण भएको पाइन्छ । यसरी विविध धर्म र मतमतान्तरबीच काम, क्रोध, लोभ, मोह र अहंकारको जन्म भइ कलियुगले संसारलाई धपक्क ढाकेको अवस्था देखिन्छ । अत्याचार, पापाचार, वेभिचारजस्ता अपराधी प्रवृत्तिहरु बढिरहेको देखिन्छ । जबसम्म यस्तो अवस्था रहन्छ, तबसम्म मानिस–मानिसबीच कलह, झैझगडा र अपवित्र गठबन्धन बढ्न गइ समयले परिवर्तीत रुप देखाउन सक्छ ।

धर्मको ग्लानी हुनु भनेको अस्तित्व मेटिने हो । मानिसको ध्यान र विचार एवम् शक्ति कमजोर हुनु हो । तसर्थ, सृष्टिचक्रको इतिहास र युगअनुसारको परिवर्तीत रुपलाई सरसर्ती हेर्ने हो भने मानव आचरण र व्यवहार नै यसको मूल कारण हो भन्ने बुझी आफूलाई स्वधर्म र सकारात्मक प्रवृत्तिउन्मुख बनाउनु पर्दछ । चेतना भया ।