जनप्रतिनिधिहरुलाई आँखा स्वास्थ्य शिक्षा, मेडिकल टुरिजम क्षेत्र बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

बालाराम खड्का
तुलसीपुर, ३१ जेठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बे एनएबीपी नर्वेको आर्थिक सहयोगमा शिवराज नगरपालिकाका नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

यस कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले राप्ती आँखा स्वास्थ्य कार्यक्रमले आम नागरिकलाई सम्बोधन गरिरहेको उल्लेख गर्दै यसलाई मेडिकल टुरिजम बनाउने आकांक्षा व्यक्त गरेका थिए । यसमा आफूहरुको पनि हरसम्भव सहयोग हुने उनीहरुले प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघ, दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता, संघीय सांसद अभिषेकप्रताप शाहको प्रमुख आतिथ्य, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी चौधरी र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि शाहले छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउँदै मेडिकल टुरिज्मतिर पनि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

शाहले नेपालका आँखा अस्पतालहरुले गुणस्तरीय आँखा सेवा प्रवाह गरेकै कारण नेपाली नागरिकहरुका साथै भारतीय नागरिकहरुको समेत आकर्षण रहेकोमा खुशी ब्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका प्रमुख थापाले कार्यक्रममा प्रस्तुत भएको शिवराज नगरपालिकाभित्रका आँखाका बिरामीहरुको तथ्यांकले आफूलाई गम्भीर बनाएको बताए । उनले आगामी दिनहरुमा आँखा अस्पतालसँग सहकार्य गरेर शिवराज नगरपालिकाभित्रको अन्धोपन न्यूनीकरण गर्नको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले यस आँखा अस्पतालसँग बिगतका दिनहरुदेखि नै सहकार्य हुँदै आएको र आगामी दिनहरुमा पनि आँखा जस्तो संवेदनशील अंगको बचाउको लागि शिवराज नगरपालिकाले सहयोग गर्ने बताइन् ।

गढवा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका प्रशासनिक समितिका संयोजक शारदा चौधरीले छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको लागि पनि प्रदेश तथा संघीय बजेट व्यवस्थापनको लागि आफूले काम गर्ने बताइन् ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको ‘आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा शिवराज नगरपालिका प्रमुख, उपप्रमुख र ११ वटै वडाका जनप्रतिधिहरु र अन्य सहभागीहरुसमेत गरी ७६ जनाको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ र दातृ निकायको बारेमा सहभागीहरुलाई संक्षिप्तमा जानकारी गराएका थिए । साथै आँखा स्वास्थ्य सेवा, दृष्टिविहीनताको अवस्था, स्वास्थ्यको हक र राष्ट्रिय स्वास्थ्य नीतिको बारेमा समेत प्रकाश पारेका थिए ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापा र बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्द प्रशिक्षकको रुपमा रहेका थिए । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।

यसैविच आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रम गढवा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका जनप्रतिनिधिहरुसँग कार्यक्रम भएको हो ।

एनएवीपी नर्वेको सहयोगमा भएको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले आँखा स्वास्थ्य सेवा र त्यसको विकासका लागि आफूहरुले सहयोग गर्ने बताएका थिए । सो अवसरमा जनप्रतिनिधिहरूले संघद्वारा सञ्चालित लमही आँखा अस्पतालसँगको साझेदारी र सहकार्यमा आगामी दिनहरुमा दृष्टिबिहीनता (अन्धोपन) लाई न्यूनीकरण गर्ने कार्यमा सहकार्य गर्ने सबैले प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्को अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवं उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रमले अन्धोपन न्यूनीकरणमा खेलेको भूमिका भावी योजना र गढवा गाउँपालिकामा अन्धोपनको अवस्थाको बारेमा प्रमुख प्रशासक शम्शेर थापाले सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै दृष्टि विशेषज्ञ मदन चौधरीले आँखा स्वास्थ्य शिक्षाको विषय आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी जनता माविका अध्यक्ष युवराज पोख्रेललगायतले बोलेका थिए ।