जेल खाएका नेताले पाएको शिक्षा…

मधुसूदन सुवेदी
हिजोदेखि आजसम्म सबै शीर्ष नेताले आफ्नो बखान गर्दा भन्दै आएको एउटै कुरा हो– जेल खाएको, नेल खाएको, ऊ सँगै जेलमा, त्योसँगै जेलमा बस्या, यहाँको जेलमा बस्या, उहाँको जेलमा बस्या, त्यहाँको जेलमा बस्या । जेलमा बसेको कथा र कहानी सुनाई–सुनाई पञ्चायतको भन्दा लामो शासन गरिसके र देश जनतालाई ढाँट्नसमेत ढाँटे ।

अब नेताले सधै जेल खाएको कुरा गर्ने कि शिक्षा पाएको कुरा गर्ने ? यिनै जेल खाएका नेतालाई कोही पढे–लेखेको सक्षम युवायुवती, रोजगारको शिलशिलामा जागिर माग्न भयो र विन्ति बिसायो भने यिनले के जवाफ दिन्छन् भने– तपाई अझै युवा हुनुहुन्छ, यो समय पढ्ने समय हो, यो समय देख्ने, जान्ने र बुझ्ने समय हो । अझै जागिरको सोच नबनाउनुहोस्, राम्रोसँग लेख्नुहोस्, पढ्नुहोस् र त्यसपछि हामीले त सहयोग गरिहाल्छौ नि ! कस्तो अनौठो ! एउटा समान्य अफिस, कार्यालय, संघसंस्थाको कुनै एक पदमा बसेर जनताको सेवा गर्नको लागि मनग्गे पढ्नैपर्ने तर यत्रो देश र यतिका जनता हाँक्ने र राज्यसत्ता चलाउने व्यक्तिले पढ्नै नपर्ने ?

जान्नै नपर्ने, बुझ्नै नपर्ने । खाली जेल खाएको र नेल खाएको भरमा राज्यसत्तामा टाँसिइरहने ? अब त यो कुरा बुढो भयो, पुरानो भयो, खुइलियो । अब कुनै पनि नेताले जेल खाएको कुरा गर्ने हिम्मत नगर्नुहोला यदि जेल खाएको कुरा गर्ने हो भने जनताले तपाईको शिक्षाको बारेमा प्रश्न गर्नेछन् र भन्नेछन्– नपढेको भरमा, नलेखेको भरमा, नबुझेको भरमा, नजानेको भरमा कसरी सिंगो समाज, सिंगो क्षेत्र, क्षेत्र प्रदेश र सिंगो देश चलाउन सक्छ ?

समय कहाँ पुग्यो ? विकास र समृद्धिले देश अघि बढिसक्यो भनेर यिनै नेताले खोक्दै हिँड्ने र यही शिलशिलामा अविकसित व्यक्ति र शक्तिले देश र जनताको लागि के गर्न सक्छ ? अब जनताले दल, पार्टी, शक्ति, पंक्ति, झुण्ड, समूह, संगठन, दल, मोर्चा केही पनि हेर्ने छैनन् र जेल, नेलका कुरा सुन्ने पनि छैनन् । जो युवामा जोश छ, जसमा ताकत छ, जसमा खुबी छ, जसमा क्षमता छ, जसमा दक्षता छ, जसमा योजना छ, जसमा साहस छ, जसमा ऊर्जा छ, जसमा उमंग छ, जसमा समाजको ऐना छ, जनताको मन र मुटुमा छ, त्यस्तो योग्य व्यक्तिले यो देश चलाउने अवसर पाउने छ ।

जेल खाएकालाई पाखा लगाउने समय भयो, बेला भयो, साइत भयो र लगत भयो । अब कत्ति पनि ढिला नगर्नुहुन यो देशका कर्णधार युवाशिक्त नजानेसम्म र नउदाएसम्म यो देशमा केही हुँदैन । यी बूढापाका नेताहरु मुढा तापेर बुढा कुरा गर्नेले देश चलाउन सक्दैनन् । यो कुरा जनताले समयमै बुझ्न जरुरी छ । बुढा गोरुले जोतेको खेतबारी कस्तो हुन्छ र कति चाँडो जोत्न सकिएला ? यो आफैमा प्रश्न छ । बुढाको अर्ती सुन्ने हो, उपदेश सुन्ने हो, कथा सुन्ने हो, कहानी सुन्ने हो, अनुभव सुन्ने हो मोहनमाना घिउ खाएको अनुभव सुन्ने हो तर यिनलाई देश चलाउने मत वा अभिमत वा भोटले जिताउने होइन । यदि यो अवस्था नेपालका अझै कायम भयो भने विश्वले नेपाली जनतालाई अबुझको घेराभित्र राख्नेछन् ।

अब कुनै पनि नेतालाई बुढापाकाको भरमा र जेल खाएको भरमा विश्वास गर्नैहुन्न । किनभने जेलमा बसेर दिन बिताएकोले के देख्यो ? के बुझ्यो ? के अध्ययन ग¥यो ? जनतालाई के देख्यो ? के हे¥यो ? आफैले बाहिरी दुनियाँ हेर्न नपाएको समयमा उसले देश र जनतालाई कसरी हे¥यो ? त्यसकारण अब पुराना नेतालाई विस्थापित गरौं र नयाँ युवालाई स्थापित गरौंँ । केन्द्रीय चुनाव नगिच–नगिच आइरहेको बेला आम जनताले यो कुरा बुझेन भने हामीले हण्डर खाने दिन अझै आइरहने छन् । ख्याल गरौँ ।

यो सोच, यो विचार, यो चिन्तन र यो मनन्ले काम चल्दैन र देश र जनताको चुलो बल्दैन । संग्रहालयमा राख्ने नेतालाई राज्यसत्ताको घुम्ने कुर्सीमा राखेर देश बन्छ ? यो कहाँको सिद्धान्त हो ? यस्तो व्यक्तिले राज्य गर्नु पनि एक किसिमको पाप हो र यस्ता व्यत्तिःलाई राज्य गर्ने अवसर दिलाउनु पनि एक किसिमको पाप हो । तसर्थ पाप कर्ममा कोही पनि नलागौँ । हामी पार्टी, पार्टी पार्टी मात्रै नभनौँ, पाटी, पौवा, मठ–मन्दिर, संघसंस्था, जहाँ होस् त्यहाँको सक्षम व्यक्तिलाई टपक्क टिपेर ल्याऔं र देश चलाउने जनमत दिने हिम्मत गरौँ । जहाँ राम्रो त्यहाँ लागौँ र जहाँ हाम्रो त्यो त्यागौँ ।

अब अचाक्ली भयो यो अचाक्लीलाई बदल्न सकिएन भने दुःख पाउने कसले ? यो बुढा नेताले हो र ? पक्कै होइन । यिनले त बसी–बसी घिउ खान्छन् र आफ्नो ज्इान बनाउँछन् । हामीले यी बुढा नेताले खाएको घिउको गन्ध सुँघी–सुँघी हामी पनि बिग्रन्छौ र हाम्रो देशलाई पनि बिगार्छौं । त्यसैले सचेत जनताले सचेत भएर एउटा सचेत निर्णय गर्नुपर्ने बेला आएको छ । अब शिक्षित र दीक्षित व्यक्तिलाई राज्य चलाउने कुरामा अभिप्रेरित गरौँ । पार्टीका कुरा र दलका कुरा त्यागौँ । अब देश र जनताका विकास, शान्ति र समृद्धिका कुरातर्फ लागौँ ।

त्यसका लागि भिजन, पावर भएको निःस्वार्थी र पारदर्शी युवा जमातको हातमा देश सुम्पने अठोट गरौँ । आज हामी जेल खाएका नेता एकआपसमा बोलेका कुरा रेकर्ड ग¥यौँ भने के सन्देश दिन्छ ? यी पढेका हुन् ? पक्कै होइनन्, यी त केवल लडेका हुन् । डुल्ने, लड्ने, भिड्ने नेताले देश हाँक्न सक्दैनन् । बेलैमा सचेत बनौँ र नेताको शिक्षा खोजौँ ।