लकडाउनको सदुपयोग : करेसाबारी खनखोरस
सपना बोहोरा
दाङ २० चैत । ठूलो भुँडी । मोटो ज्यान । कम्ता हम्मे-हम्मे छैन । कुटो कोदालो पकड्न अनी बारी खन्न । प्राय अफिसको काममा ब्यस्त हुने घोराही उपमहानगर पालिका वडा न १७ का कृष्ण थापाको । लक डाउनपछि हिजोआज उनको दैनिकी जस्तै बनेको छ, उनको करेसावारी । कार्यालय समय बाहेक साथिहरु भेला गरेर चिया गफमा समय बिताउने थापालाई हिजोआज घर बाहिर जानु कहीं छैन । शारीरिक कसरत अनी समय बिताउनको लागि घर नजिक रहेको करेसाबारीमा देखिन्छन् उनी ।
करेसा बारिमा उम्रेका झार ओखल्ने, तरकारिमा पानी चाहार्ने, खाली जग्गामा तरकारी लगाउने काममा ब्यस्त देखिन्छन् । उनको नयाँ कामका बारेमा जिज्ञासा राख्दा भन्छन्, ‘लकडाउन सदूपयोग गरेको नी, करेसाबारी र भान्साको सम्बन्ध जोडौं भनेर लागेको ।’
सरकारले कोभिड १९ को नियन्त्रण गर्ने भन्दै नेपाल लक डाउनको घोषणा गरेपछि खाली समय यसरी सदुपयोग गर्ने धेरै छन् । थापाका अनुसार ‘करेसा बारिमा काम गर्दा शरीर फुर्तिलो हुने, अर्ग्यानिक तरकारी खानपाइने, समयको सदुपयोग पनि हुने’ भएकाले यता तर्फ धेरै आकर्षीत हुँदैछन् । ‘छिमेकमा पनि यस्तै दैनिकी शुरु हुन थालको छ’ उनी भन्छन् ।
‘१० दिनमै खान मिल्ने तरकारीको कुन बिउ होला, घर नजिक रहेको खाली जग्गामा लगाउनु पर्यो’ घोराहीका दीपक शर्माले फेस्बुकमा पोस्ट गरे । सरकारले लक डाउनथपको घोषणा गरेपछि उनले अत्तालिदै फेस्बुकमा पोस्ट गरेका थिए ।
झट्ट हेर्दा हाँसो उठ्छ तर अधिकांशको तितो यथार्थ हो यो । दैनिक उपभोग्य, त्यसमा पनि प्रत्यक साझ बिहान नभइ नहुने हो तरकारी । बजार ठप्प छ । कोरोना भाइरसको त्रासले तरकारी गाउँबाट बजार आउन छोडिसके भने भाइरसको सुरक्षा सतर्कता देखाउदै छिमेकी देशहरुले पनि नाका बन्द गरिसकेछन् । लक डाउनले एउटा गतिलो पाठ सिकाएको छ, घर नजिकैको खाली रहेको करेसा बारिलाई सदुपयोग गर्न जान्यो भने केही दिनको लक डाउन अनि साना तिना बन्द हडतालको समयमा परनिर्भर हुन पर्दैन भनेर ।
थापाजस्तै शर्माको पनि हिजो आजको दैनिकी करेसा बारिमै बित्ने गर्छ । बेमौसमी पानी समय समयमा परिरहेकाले वारी खन्न सहज छ । उनी छिटो समयमा तयार भएर खान मिल्ने खेती गर्ने योजनामा छन् । शर्मा र थापा मात्र हैन, लक डाउन भएपछि धेरै जसोको समय करेसा बारिमा बित्ने गरेको छ । सबै परिवार करेसा बारिमा भएको झार गोड्ने, तरकारिमा पानी चाहार्ने, खाली बारिमा तरकारी लगाउनमै ब्यस्त छन् । त्यति मत्र हैन बजारका सब्जीमन्डीबाट तरकारी किनेर खाने बानी परेकाहरु लक डाउन भएपछि करेसा बारिमा पुरानो बीउ झरेर आफै उमरिएका माटे साग, बेथे साग, सम्फुका साग खोजेर तरकारीको रुपमा प्रयोग गर्न थालेका छन् ।
गोरक्ष दैनिकका प्रकाशक सुलोचना गौतम पनि आजकल करेसाबारीमा समय दिएर समयको सदूपयोग गर्दैछिन् । गोरक्ष दैनिकले पत्रिका स्थगित भएर अनलाइमार्फत समाचार प्रवाह थालेपछि उनी केही फुर्सदीली भएकी छिन् । करोसाबारीमा जान थालेपछि जुम्वा जान नपाउँदा पनि शरिरलाई फुर्तिलो राख्न करेसाबारीको कामले मद्दत गरेको उनको अनुभव छ ।
उता अधिवक्ता गोमा महरा पनि आजकल माटोमा खेलेर समय काट्छिन् । तरकारी भन्दा पनि फुल गोड्ने, नयाँ फुल रोप्नेकाम उनको दैनिकी झै बनेको छ । उनले फुलबारीमा गोडमेल गर्दा जमिन खाली देखिएपछि तोरीको साग खानलाई तोरी पनि छरेकी छिन् । माटोसंग खेल्न थालेपछि दिन काट्ने तनाव आफुले झेल्न नपरेको उनको महसुस छ ।
‘साझ बिहानको खाली समय करेसा बारीमा दिए जिम जानै पर्दो रहेनछ’ घोराहीका प्रकाश केसिले आफ्नो अनुभव सुनाउदै भने । ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, शरिरको वजन घटाउन जिम जानै नपर्ने, परिवारका सबै सदस्य स्वस्थ रहने गतिलो माध्य रहेको बताए । हिजोआज उनको दैनिकी पनि करेसा बारिमा नै बित्ने गर्छ ।
सामाजिक अनि कार्यालयका कामलाई ब्यस्तता देखाउदै बेवास्ता गरेका ब्यक्तिहरुलाई एउटा राम्रो पाठ सिकाएको छ लक डाउनले । कोही शारिरीक कसरतको बहनामा त कोही साझ बिहानको छाक टार्ने त कोही लक डाउनको सदुपयोग करेसा बारिमा नै गरेको छन् ।
