नारायणप्रसाद श्रेष्ठ
वर्तमान समयमा मानव चिन्तन र सोच संकुचित र सीमित दायराभित्र आकर्षित भइरहेको छ । विचारमा स्वार्थ र व्यवहारमा चिप्लोपन मानिसको स्वभाव हो भन्ने गरी चरित्र प्रदर्शन भइरहेको छ । जीवनको सत्यतातर्फभन्दा क्षणिक स्वार्थ र विलाषीमा मानिसको सोच वृद्धि भएको छ ।
प्राकृतिक सत्यभित्र लुकेको सृष्टिको संरचनामा उत्पत्ति हुने, नष्ट हुने र फेरि उत्पत्ति हुने प्रक्रियामा जीवन गतिशील रहेको बोध हुँदाहुँदै पनि मानिस आफूलाई अजम्मरी छु भन्ने घमण्ड र अहंकार प्रदर्शन गरिरहेको छ । क्षणिकतातर्फ मानिसको भागदौड बढिरहेको छ । मेरो स्वार्थ मेरो इच्छा भन्दै जीवनलाई आशक्तितिर धकेल्दै लैजानु जीवनको उद्देश्य बनेर प्रतिबिम्ब भइरहेको छ । जीवन यात्रा हो यो प्रकृतिको नियमानुसार गतिशील रहने सत्य हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि मानिस यसदेखि निकै टाढा रहेको र आफै अबुझ बनिरहेको छ ।
समझदार र सर्वोत्कृष्ट गुणले शृंगारिएको जीवन पद्धतिलाई जान्ने उत्सुकता कम देखिन थालेको छ । जीवन के हो र यसले के दायित्व निर्वाह गर्नु पर्छ ? भन्ने रहस्यलाई बुझ्ने चेष्टा तर्फसम्म कसैको ध्यान पुग्न सकेको छैन । जीवनलाई सुमार्गमा लगाउनु पर्छ भनी कतिपय विद्वानले जीवनको वास्तविकता दर्शाउँदा र जीवनको धरातल कहाँ र कुन परिस्थितिभित्र गतिशील भइरहेको छ ? र यसको उद्देश्य र गुणात्मक चरित्र केकसरी प्रष्फुटन भइरहेको छ भन्ने कुरामा धेरै उदाहरण प्रस्तुत गर्दा गर्दै पनि मानिस क्षणिकतातर्फ आशक्ति बढाइरहको छ । सोच र आशक्ति नै जीवन हो भन्ने गरी जीवनलाई रनभुल्लमा पारिरहेको छ ।
जीवन प्राकृतिक सत्यले निर्धारण गरेको गोरेटोमा हिडिरहने सत्य हो, यो प्रकृतिको नियमानुसार चलिरहन्छ र यसको गति तब मात्र विश्राम हुन्छ, जब यसले आफ्नो भौतिक शरीर त्याग गर्दछ । यति कुरा जान्दाजान्दै पनि अहंकार र घमण्डले परिपोषित भई अरुले अरुपाई भनोस् वा नभनोस् आफूले आफैलाई मपाइ गरी म योग्य छु, सक्षम छु, तागतवर छु, धनदौलतले परिपूर्ण छु भनी अनावश्यक भौतिक वस्तुप्रतिको आशक्ति बढाइ मानिसले जीवनको सत्यतालाई बिर्सन खोजेको जस्तो देखिन्छ ।
वास्तवमा यो विडम्बना मान्नु पर्छ । यसरी मानिस स्वयम्ले आफूले आफैलाई बिर्सने चेष्टा गर्दै जाने हो भने यसले कस्तो भविष्य निर्माण गर्ला ? तसर्थ, समयले मानिसको स्वभाव र चरित्र कस्तो हुनुपर्छ भनी सिकाइरहेको अवस्थामा म नै जान्ने र सर्वेसर्वा हुँ भनी एकाधिकार चिन्तनतर्फ आकृष्ट हुनु दुर्भाग्य मान्नु पर्छ । त्यसैले जीवन स्वार्थ र अहंकार होइन, बाँच र बचाऔँको मान्यताभित्र रमाएको हुन्छ भनी विश्वास र इमानदारीतर्फ आकृष्ट हुनु समयले मानिसलाई घचघच्याइरहेको छ ।
निश्चित गन्तव्यसम्म पुग्न गुडेको गाडी पटक–पटक ब्रेक लाग्छ । मानिस झर्ने र चढ्नेको लाम लाग्छ । कोही नजिकै झर्छन्, कोही केही पर पुगी झर्छन् र कोही झन पर पुगी बसबाट ओर्लन्छन् भने कोही गाडी पुग्ने स्थानसम्म पुगेर गाडीबाट ओर्लन्छन् । जसरी गाडीको सुरुवातदेखि अन्त्यसम्म यात्रीको यात्रा चल्दछ त्यसरी नै जीवन पनि त्यही शृंखलाभित्र हुर्केको सत्य हो । कोही छिटै कोही केही वर्षपछि र केही लामो समयपछि गन्तव्यसम्म पुगेर यो जीवनको यहलीला समाप्त गर्दछ । यहाँ जेठो, कान्छो कोही हुँदैन ।
जसले जस्तो भाग्य, कर्म लिएर जन्मेको छ, त्यही भूमिका निभाएर संसार छोडेको पाइन्छ । यति कुरा जान्दाजान्दै पनि अरुको सेवा र सहयोगमा व्यक्तिको स्वार्थ लुक्नु वास्तवमा आफूले आफैलाई गलत कर्मतर्फ धकेल्नु हो । बोलीमा शिष्टता र व्यवहारमा नम्रता कायम गर्न नसक्नु वास्तवमा यो पनि मानिसको लागि निकै गम्भीर प्रश्न हो । बोली र कर्म यही भूमण्डलमा घुमिरहने सत्य थाहा पाउँदा पाउँदै पनि आफूले आफैलाई अँध्यारो कोठमा थुन्ने काम हामी स्वयम्ले गरिरहेका छौँ । जीवनलाई यात्रासँग नगाँसेर भोग, विलाष र आनन्दतर्फ लिप्त बनाउनु तथा स्वार्थ र अहंकार बढाइ आफ्नै डम्फु मात्र बजाउन खोज्नु आफैलाई पछाडि धकेल्नु हो ।
जीवनले खोजेको अवस्थाभन्दा भौतिक विज्ञानले ल्याएको क्षणिक आनन्दमा मानिस किन आशक्ति भइरहेको होला ? हार्ड, मासु र छालाले बनेको शरीरको सुख र आनन्दमा रमाउन खोज्नु के यही सत्य हो ? जन्म मरणको इतिहासमा मनुष्यले निर्वाह गर्नुपर्ने उद्देश्यविपरीत वर्तमानमा व्यक्तिवादी र अहंकारयुक्त सोच वृद्धितर्फ सबैको ध्यान आकृष्ट हुनु के यही जीवनको लक्ष्य हो ? रोग, भोग र गरिबीले छटपटिएको आकृतिप्रति हेय दृष्टिकोण राख्नु मानिस–मानिसबीचको सम्बन्धमा भेदको नीति अवलम्बन गर्नु वास्तवमा यो जीवनको उद्देश्य होइन ।
कतै सुन्दरता हेर्ने हाम्रो चर्मदृष्टिको दोष त होइन ? सुन्दरता कारिगरको कलाकारिताले शृंगारिएको गहना हो भन्ने थाहा पाउँदापाउँदै पनि वाह्य आवरणमा देखाइएको क्षणिकता मात्र जीवनको उद्देश्यमा राख्नु, शारीरिक आशक्तितर्फ आकृष्ट हुनु यो कदापि स्वीकार्य नहुनुपर्ने हो । तसर्थ, दृष्टिभ्रमका कारणले हुने घृणा र द्वेषको कारक आफू स्वयम् हु भन्ने बोध जबसम्म मानव चेतनामा जागृत हुँदैन तबसम्म जीवनको यात्रा निकै असहज भएर गतिशील रहन्छ । जीवन यात्रा हो । कहिले दुःख कहिले सुख यी आफ्नै कर्म र व्यवहारका कारण हुन् ।
जबसम्म मेरो उद्देश्य मेरो गन्तव्य हो भनी मनमस्तिष्कभित्र घुस्दैन तबसम्म जीवनले खोजेको उद्देश्य प्राप्त नहुनसक्छ । त्यसैले संस्कार र परम्पराले ल्याउने परिवर्तन र निरन्तरताले ल्याउने परिवर्तनको लेखाजोखा गरी मेरो जीवन उसको भविष्यका लागि आएको हो, मेले नगरे कसले गरिदेला भनी प्रत्येकले प्रत्येकसँग सम्बन्ध र सहयोग बढाउनु पर्छ । यही नै जीवनमा लुकेको खुसी हो । मानिस सुख खोज्न चाहन्छन्, तर खुसी कहाँ छ त्यतातर्फ खासै ध्यान दिँदैनन् ।
धन, सम्पत्ति, ऐश आराम मात्र सबै हो भनेर ऐसपछि लाग्ने परम्परा र संसकार के मानव जीवनको उद्देश्य हो र ? धनसम्पत्ति कमाउनु मात्र जीवनको उद्देश्य हो ? इमान, जमान, सहयोग, सद्भाव बढाइ विश्वास आर्जन गर्न सक्नु नै के कमाइ होइन ? तसर्थ, वर्तमान समयमा खुम्चिएको मानव चिन्तन र व्यवहारलाई जीवनको उद्देश्य र कर्मसँग रुपान्तरण गरी मानिसले आफूले आफैलाई जान्न जरुरी छ ।
दुःख, सुख, दिन, रात यो घाम छायँजस्तै हो । कहिले खुसी कहिले दुःख यो जीवनले भोग्नुपर्ने प्राकृतिक नियम नै हो । तसर्थ, सुखी होइन खुसी हुने सोच र चिन्तनतर्फ हाम्रो सोच वृद्धि गर्नु वर्तमानले हामीलाई अवसर दिइरहेको छ । सक्छौँ दीनदुःखीतर्फ सहयोगको हात बढाऔँ, चाहे त्यो धन होस्, चाहे तनले होस् चाहे मनले होस् । सेवा गर्ने बानी बसालौँ । जीवनलाई सहज र सफलता उन्मुख गराऔँ । सक्छौँ गरौँ सक्दैनौँ सुखी होइन खुसी रोजौँ । यो वर्तमानले खोजेको सत्य हो । यसैमा हाम्रो जीवन धन्य हुन्छ । सबैको विश्वासको पात्र हुन्छ चेतना भया ।