उमेरले सात दशकको नजिक छन् तर उनमा जोश युवाको छ । नागरिक समाज दाङका माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय छन्, नारायणप्रसाद श्रेष्ठ । जनताका समस्या समाधान र समग्र जिल्लाको विकासका लागि निरन्तर खट्दै र आवाज उठाउँदै आएका श्रेष्ठ नेपाल सरकारका पूर्व कर्मचारी समेत हुन् ।
४० वर्ष सरकारी जागिरबाट जनताको सेवा गरेका श्रेष्ठले जीवनलाई सुख र दुःखको समिश्रणका रूपमा लिन्छन् । जीवन संर्घष हो, भनेर बुझेका श्रेष्ठले आफ्नो जीवनकालमा गरेको संघर्षबाटै ठूलो सफलता प्राप्त गरेका छन् । सुख र दुःखले भरिएको श्रेष्ठको ६८ वर्षीय जीवनमा गोरक्ष दैनिकको साप्ताहिक खुसी स्तम्भका लागि केही खुसीका पहलहरू खोज्ने क्रममा उनले जीवनको पहिलो खुसी २०२७ सालमा गोरखपत्र दैनिकमा एसएलसी परीक्षामा पास भएको ‘३७९७ ए’ सिम्बोल नम्बर भेट्दाको क्षणलाई सम्झना गरे ।
त्यो बेलाको समय अहिले जस्तो थिएन, रिजल्ट आउट हुने बित्तिकै हेर्न पाइने । २०२७ सालमा एसएलसीमा पास भएको मैले एक महिनापछि आकाशवाणीबाट खबर पाएँ । गोरखापत्रमा पास भएको सिम्बोल नम्बर आउने भएकाले पत्रिकाको पर्खाइमा थिएँ तर पत्रिका आइपुगेको थिएन । उनले एसएलसी दाङको महेन्द्र माध्यमिक विद्यालय भरतपुरबाट दिएको थिएँ तर रिजल्ट नआएकाले म भने आफ्नो घर सल्यानमै थिएँ । त्यही बेलामा म आफन्तसँग घुम्नका लागि रुकुम गएको थिएँ ।
आफन्तसँग घुम्न जाने क्रममा सिस्ने हिमालको काख गोताम स्याला गाउँबाट बाफिकोट आउने क्रममा पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा गोरखापत्र हेर्दा पत्रिकामा आफ्नो ३७९७–ए सिम्बोल नम्बर भेट्दाको क्षण जीवनको पहिलो खुसीको क्षण भएको श्रेष्ठले बताए । ‘अहिलेको पद्मोदय साविकको महेन्द्र माध्यमिक विद्यालय घोराहीबाट त्यो बेला हामी करिब १२÷१५ जनाले एसएलसी परीक्षा दिएका थियौँ ।
पास हुने अत्यन्त कम विद्यार्थी हुन्थे’, उनले भने, ‘परीक्षाको रिजल्ट आएको एक महिनापछि आकाशवाणीबाट पास भएको सुनेको थिएँ तर ढुक्क थिएन । पछि रुकुम घुम्न गएको बेला रुकुमकोटमा आएको गोर्खापत्रमा आफ्नो सिम्बोल नम्बर देख्न पाउँदा धेरै खुसी लागेको थियो ।’ त्यही क्रममा पहिलो पटक रुकुममा हिउँमा खेल्न पाउँदाको क्षण पनि आफ्नो खुशीको क्षण भएको उनले बताए ।
मध्यमवर्गीय परिवार भएकाले श्रेष्ठलाई पढ्न लेख्नका लागि समस्या थिएन । त्यही कारण सल्यान जन्म घर भए पनि अध्ययनका लागि दाङ झरेका थिए । पढाइप्रतिको सानैदेखिको लगाव र मिहिनेतले सफलता प्राप्त गर्दै गए । त्यही क्रममा उनले २०२७ सालमा एसएलसी परीक्षा दिएपछि खाली समय लोकसेवाको समेत तयारी गरेका थिए । जसका कारण उनले २०२८ साल मंसिर २४ गतेदेखि सरकारी सेवामा प्रवेश गरे ।
जिल्ला तथ्याङ्क कार्यालय सल्यानमा खरदारबाट जागिरे जीवन सुरु गरेका श्रेष्ठले जीवनको पहिलो कमाइवाफतको रकम घरमा दिँदा बुबाले खुसी भएर पाँच रूपैयाँ खर्चका लागि दिँदा पनि औधि खुसी लागेको बताए । ‘एसएलसी परीक्षा दिएपछि खाली समय घरमा लोक सेवाको तयारी गरेको थिएँ । पछि खरदार पदमा खुलेपछि परीक्षा दिएको थिएँ र मिहिनेतका कारण पहिलो परीक्षामै नाम निस्कियो’, उनले भने, ‘त्यसपछि मैले सल्यानको तथ्याङ्क कार्यालयबाट सरकारी जागिर सुरु गरेँ ।
त्यो बेला खरदारको तलव भत्ता सहित मासिक १०५ रूपैयाँ थियो । पहिलो महिनाको कमाई घरमा बुबालाई दिँदा बुबा खुसी भएर मलाई पाँच रूपैयाँ खर्चका लागि दिदाको क्षण बेग्लै भएको थियो ।’ खरदार भए पनि उनले पहिलो पोस्टिङ हाकिमका रूपमा काम गरेका थिए । त्यसको एक वर्षपछि कृषि विकास कार्यालय गुल्मी सरुवा भएका श्रेष्ठ ६÷७ महिना पछि काठमाडौमा रहेको हुलाक नियन्त्रक कार्यालयका नायव लेखापालका रूपमा सरुवा भएका थिए ।
श्रेष्ठको बाल्यकालदेखि नै लेखनप्रति रुचि थियो । त्यही हुनाले विभिन्न विषयमा अध्ययन गर्ने र लेख्ने काम गर्दै आएका थिए । त्यही क्रममा २०३५ सालमा नेपालगंजबाट निस्कने एक दैनिकमा ‘मुस्कुराउँदो बालक’ भन्ने शीर्षकमा एउटा लेख छापेर पत्रिकामा लेख्न सुरु गरेका श्रेष्ठले २०६८ सालमा ‘लुकेका व्यथा’ नामक पुस्तक प्रकाशन गरेका छन् । सामाजिक घटनाका विषयवस्तु समेटिएर लेखिएको पुस्तक प्रकाशन भएर आफ्नो हातमा पर्दाको क्षण पनि जीवनको खुसीको क्षण भएको श्रेष्ठ बताउँछन् ।
‘सानैदेखि अध्ययनप्रति रुचि भएकाले पढ्न र लेख्न मलाई मन पथ्र्याे तर आफ्नै किताब यसरी प्रकाशन गरुँला भन्ने लागेको थिएन’, श्रेष्ठले भने, ‘तर पछि त्यो पनि समय आइपुग्यो, अरुले लेखका किताबहरू पढिरहँदा आफैले लेखेका किताब आफ्नो हातमा पर्दाको क्षण पनि मेरो खसीको क्षण हो ।’ श्रेष्ठले यात्राका रूपमा देखेर भोगेका घटनाहरूलाई विषयवस्तु बनाएर लेख्नुका साथै पछिल्लो समय आध्यात्मिक एवं दर्शनका विषयवस्तुमा आधारित भएर निरन्तर रूपमा लेख्ने काम गरिरहेका छन् । उनका ‘लुकेका व्यथा’सँगै ‘फेरि भेट कहिले होला’, ‘आध्यात्मिक तरङ्ग’लगायतका विभिन्न पत्रपपित्रकाहरूमा निरन्तर रूपमा आलेख लेख्दै आएका छन् ।
एनडिएस गर्न धुलिखेल हाइस्कूलमा लिएको पहिलो कक्षा पनि उनको खुसी हो । त्रिभुवन विश्वविद्यालयबाट डिग्री पढ्ने क्रममा पोल्टिकल साइन्सको प्रयोगात्मक शिक्षाका लागि धुलिखेल माध्यमिक विद्यालयमा पुगेर पहिलो कक्षा लिँदाको क्षणलाई लिन्छन् । ‘जागिरे भए पनि पढिरहेको थिएँ । त्रिविबाट डिग्रीको तयारीमा थिएँ । त्यही क्रममा एनडिएस गर्नुपर्ने रहेछ’, उनल भने, ‘एनडिएस गर्न धुलिखेल गएर त्यहाँको विद्यालयमा दश महिना पढाउँदाको क्षण पनि सम्झनलायक खुसीको क्षण हो ।’ उनले शिक्षाका माध्यमबाट विद्यार्थीलाई पढाउँदाको क्षण आपूmलाई धेरै खुसी लागेको बताउँछन् ।
२०१० असार २६ गते सल्यानको शारदा नगरपालिका वडा नं. २ (खलंगा गाउँ पञ्च्यात वडा नं. ६) मा बुबा स्व. ओमबहादुर श्रेष्ठ र स्व. आमा बालकुमारी श्रेष्ठको माइलो छोराका रूपमा जन्मिएका उनी हाल घोराही–१५ मा बस्दै आएका छन् । २०३४ सालमा घोराही निवासी सुधा श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएका श्रेष्ठका एक छोरा र एक छोरी छन् ।