सहज आँखा स्वास्थ्यका लागि सामूहिक प्रतिबद्धता

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ जेठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, १९ वटा वडाका वडाध्यक्ष र सदस्यलाई बधाई तथा सम्मान गरेको हो ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्कको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले राप्ती आँखा अस्पतालले यहाँका जनतालाई सर्वशुलभ र गुणस्तरी सेवा दिएको भन्दै आगामी दिनमा थप सेवा विस्तार गर्नतर्फ लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा नगर प्रमुख खड्काले नगरका हरेक नागरिकलाई सहज आँखा स्वास्थ्य सेवा पु¥याउन आफूहरू लाग्ने बताए । उनले यस क्षेत्रको नमुनाको रूपमा रहेको आँखा अस्पतालको विकास तथा विस्तारका लागि आफूहरूले सबै किसिमको सहयोग गर्ने बताए । ‘यस क्षेत्रको गहनाको रूपमा रहेको आँखा अस्पतालले गुणस्तरीय सेवा दिइरहेको छ, थप सेवा विस्तार र भौतिक विकासका लागि हाम्रो सहयोग निरन्तर रहन्छ’, प्रमुख खड्काले भने ।

उनले आँखा अस्पताललाई अभाव र समस्याबाट मुक्त गर्ने बताए । ‘तपाईंहरूको व्यवस्थापन देख्दा निकै खुुसी लाग्छ, यहाँका स्वास्थ्यकर्मीले दिने सेवा र व्यवस्थापनको पक्ष निकै राम्रो छ’, उनले भने । खड्काले अन्य स्वास्थ्य संस्थाभन्दा पृथक र फरक सेवा भएको भन्दै खुसी व्यक्त गरे । खड्काले अस्पताल र नगरपालिकाको साझेदारीमा हरेक वडामा आलोपालो आँखा शिविर आयोजना गरी जनतालाई सहज सेवा दिने बताए ।

कार्यक्रममा उप प्रमुख स्यानी चौधरीले राप्ती आँखा अस्पातलको सेवा र व्यवस्थापनले आफूलाई निकै आकर्षण गरेको बताइन् । उनले यसको सिको अन्य स्वास्थ्य संस्थाहरूले पनि गर्नुपर्ने सुझाव दिइन् । ‘म यस अघि पनि यहाँ विभिन्न समयमा आउने गरेको थिएँ, यहाँको सेवा र सरसफाई देख्दा मलाई निकै खुसी लाग्ने गरेको थियो’, उनले भनिन् ।

उपप्रमुख चौधरीले आफूले आँखा अस्पताललाई नजिकबाट बुझेको भन्दै यस्तै सेवा सधैँ दिनतर्फ लाग्न आग्रह गरिन । ‘यो हाम्रो पनि सम्पत्ति हो, यसको विकासका लागि हामी सधैँ तत्पर रहने छौँ’, उनले भनिन् । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल, १२ का अध्यक्ष खुसीराम चौधरीलगायतले अस्पतालको विकासमा लाग्ने बताएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अब कोही पनि आँखा उपचारका लागि अन्यत्र जानु नपर्ने गरी विभिन्न विशेषज्ञ सेवाहरू सुरु गरेको बताएका थिए । गिरीले विभिन्न निकायको सहयोगबाट आँखा स्वास्थ्य सेवाका साथै विभिन्न भौतिक निर्माण गरेको भन्दै नेत्र सहायक र अब भविष्यमै नेत्र विज्ञान अध्ययन प्रतिष्ठानको रूपमा अस्पताललाई विकास गर्ने बताए । ‘हिजो पनि तपाईंहरूको सहयोग र साथ थियो, अब पनि हुने छ’, उनले भने ।

सो अवसरमा प्रमुख प्रशासक शम्शेर थापाले संघअन्तर्गतका अस्पतालले दिएका सेवा, अन्धोपन न्यूनीकरणमा खेलेको भूमिका, भावि कार्यक्रम र अस्पतालको गुरूयोजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संघका सुरेन्द्रबहादुर खड्का, कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सहसचिव चीरञ्जीवी रिजाल, सदस्यहरू यमप्रसाद पाण्डे, हरिहर पौडेल, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, प्रमुख प्रशासक शम्शेर थापा, राप्ती आँखा अस्पतालका मेसु नेत्रविशेषज्ञ डा. सन्तोष सुवेदी, कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, नेत्र विशेषज्ञ डा. सिलु थापा, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल तथा नेत्रविशेषज्ञ, स्वास्थ्यर्की र कर्मचारीले बधाई तथा शुभकामना दिएका थिए ।

संघका सचिव सुरेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकरी बालाराम खड्काले गरेका थिए ।