शान्तिनगरको अपाङ्गमैत्री प्रतिबद्धता

गोरक्ष समाचारदाता

शान्तिनगर, १८ जेठ । राप्ती बहिरा संघ तुलसीपुरद्वारा शान्तिनगर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई मंगलवार एक कार्यक्रमकाबीच स्वागत एवं सम्मान गरिएको छ । राप्ती बहिरा संघ तुलसीपुरको आयोजना एवं अपाङ्ग सञ्जाल शान्तिनगरको सहआयोजना र शान्तिनगर गाउँपालिकाको समन्वयमा भएको सम्मान कार्यक्रममा शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधिले पालिकालाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राप्ती बहिरा संघकी कार्यकारी निर्देशक प्रतिमा शर्मा, राष्ट्रिय अपाङ्ग संघ लुम्बिनी प्रदेश सचिव अजय शर्माले गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसीलगायत अन्य नवनिर्वाचित जनप्रतिनिधिलाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।

राप्ती बहिरा संघकी उपाध्यक्ष रूपा सुनारको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा केसीको विशिष्ट आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिकालाई अपाङ्गमैत्री बनाउने कुरामा जोड दिएका थिए ।

साथै अध्यक्ष बस्नेतले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा अपाङ्गता भएकाहरूका लागि पालिकाका सबै वडाबाट प्राथमिकता दिनु पर्ने बताएका थिए । कार्यक्रममा उपाध्यक्ष प्रेमा केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कँडेल, वडा नं. ३ का अध्यक्ष मीनबहादुर केसी, ५ का अध्यक्ष ओपेन्द्र रावत, ७ का अध्यक्ष ताराबहादुर वली, ४ का अध्यक्ष गोमानबहादुर वली, अपाङ्ग सञ्जाल शान्तिनगरका अध्यक्ष निमबहादुर नेपालीले धारणा राखेका थिए ।

यसैबीच राप्ती बहिरा संघ दाङले चिराघाटमा एकदिने अपाङ्गता अधिकारसम्बन्धी अभिमुखीकरण गोष्ठी सप्पन्न गरेको छ । गोष्ठीमा अन्तर्राष्ट्रिय नीतिहरू, राष्ट्रिय स्वास्थ्य नीति, बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय ऐन कानुन र नीतिका बारेमा कार्यकारी निर्देशक प्रतिमा शर्माले सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन देवा डाँगीले गरेकी थिइन् भने दोभासे स्मृति योगीले गरेकी थिइन् ।

विद्यालयद्वारा जनप्रतिनिधिलाई सम्मान

यसैबीच शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित बालकल्याण आधारभूत विद्यालय पेदाले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित शान्तिनगर गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज खत्रीको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा केसी र २ नं. वडाध्यक्ष सुनिल वलीको विशिष्ट आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक ओपेन्द्र केसीले विद्यालयको भौतिक संरचना जीर्ण भइ पठनपाठनमा समस्या भएको भन्दै आगामी बजेट तथा कार्यक्रममा आफ्नो विद्यालयलाई प्राथमिकतामा राख्न अध्यक्ष बस्नेतको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख अतिथि बस्नेतले आफूले शिक्षा, स्वास्थ र सडकलाई पहिलो प्राथमिकता दिने बताउँदै ऐन नियमको परीधिभित्र रहेर विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै अध्यक्ष बस्नेतले बालकल्याण आधारभूत विद्यालय पेदाले सञ्चालनमा ल्याउन लागेको आइटी कक्षाको समेत उद्घाटन गरेका छन् ।