नयाँ एयरपोर्टको सपना देख्न सकिँदैन : प्रमुख खड्का

बालाराम खड्का
तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकाको टरिगाउँ स्थित विमान स्थललाई घाँसे मैदान बनाएर नयाँ एयरपोर्टको सपना देख्न नसकिने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले मंगलवार आफ्नै सभाहलमा आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख खड्काले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सम्मान कार्यक्रममा प्रमुख खड्काले कहीँकतै कसैले यहाँको विसं २०११ सालदेखि चल्दै आएको विमानस्थलको विकल्पमा अर्को एयरपोर्ट खोजेको छ भने त्यो गलत अभ्यास भएको स्पष्ट पारे । ‘हामीलाई टरिगाउँको भन्दा विशाल एयरपोर्ट चाहिन सक्छ, त्यसका लागि राज्यले अन्य विकल्प खोज्न सक्छ तर यो एउटा इतिहास बोकेको विमानस्थललाई बन्द गराउन हामी दिन्नौँ’, प्रमुख खड्काले भने, ‘यो विमानस्थलको स्तर वृद्धिका लागि स्थानीय सरकारले अधिक्तम सहयोग गर्ने छ ।’

उनले टरिगाउँ विमानस्थलको स्तर वृद्धिका लागि वर्तमान सरकारले बजेट विनियोजन गरेकोमा खुसी व्यक्त गर्दै स्तर वृद्धिका लागि स्थानीय तहबाट हुने सबै खालका सहयोग उपलब्ध गराउन उपमहानगरपालिका सदैव प्रतिबद्ध रहेको उनको अभिव्यक्ति थियो । हवाई सेवाको प्रभावकारिताका लागि कम्तिमा ४२ सिटे जहाज अवतरणका लागि उपयुक्त रन–वे निर्माणमा सामूहिक पहल गर्न आग्रह गर्दै प्रमुख खड्काले त्यसका लागि सबै प्रारम्भिक प्रक्रिया पूरा गर्नतर्फ लाग्न सबैलाई आग्रह गरे । त्यसमा पनि तुलसीपुर उद्योग वाणिज्य संघले थप इन्निसिएसन लिन आवश्यक रहेको पनि प्रमुख खड्काको सुझाव थियो ।

त्यसै अवसरमा प्रमुख खड्काले बजारको स्वच्छता र सुन्दरताका लागि सरसफाई अभियानलाई सबैले अनुशासित भएर सार्थक बनाउन आग्रह समेत गरे । सरसफाई सभ्यताको पहिचान पनि भएकाले निर्माण सामग्री सडकमै थुपार्नेदेखि सडकैभरि छाडा चौपायालाई छाडिदिने काम बन्द गर्न उनले नगरबासीलाई आग्रह गरे ।

छाडाचौपायालाई राख्न निर्माण भएको गौशालालाई पराललगायत हेरालुको व्यवस्थापनमा उपमहानगरपालिकाले यस अघिदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन पनि आफू तयार रहेको उनको भनाइ थियो । ‘दूध खानेले गोबर पनि स्याहार्नु पर्दछ, दूध दिन छाडेपछि चौपायालाई सडकमा छाड्ने प्रवृत्ति चाँडै रोक्न पनि मेरो नगरबासीलाई विनम्र अनुरोध छ’, नगर प्रमुख खड्काले भने । छाडा चौपायाकै कारण बजारमा फोहरको समस्या थपिएको र सडक दुर्घटनाको सम्भावना पनि दिनहु बढिरहेको उनको अभिव्यक्ति थियो । तुलसीपुर बजारलाई स्वच्छ, सफा र व्यवस्थित गराउन उपमहानगरपालिका सदैव तयार रहेको पनि उनको भनाइ थियो ।

यसैगरी वैज्ञानिक फोहर व्यवस्थापनका लागि सम्बन्धित कन्सल्टेन्टसँग सम्पर्क र समन्वय गर्ने बताउँदै आफ्नो कार्यकालमै तुलसीपुरको फोहरको वैज्ञानिक व्यवस्थापन भइसक्ने उनले आशा व्यक्त गरे । ‘फोहरलाई प्रशोधन गरी जैविक मलदेखि बायो ग्यास बनाउने सम्मका अभियान हामीले चाँडै सञ्चालनमा ल्याउने छौँ, यो कामका लागि केही पार्टीहरूले इच्छा समेत देखाएका छन्’, नगर प्रमुख खड्काले भने । उपमहानगरपालिका हरेक काममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

यस्तै उपप्रमुख स्यानी चौधरीले तुलसीपुरलाई स्वच्छ र हराभरा गराउन लाग्नु पर्ने भन्दै तुलसीपुरको वीरेन्द्र चोकको सडक तत्काल मर्मत गर्नु पर्ने बताइन् । उनले विदेशी साथीले पनि तुलसीपुरलाई क्लिन बनाउन सुझाव दिएको भन्दै पहिलो काम बजार सफा हुनुपर्ने बताइन् । उनले व्यावसायिक सुरक्षाका साथै बजारमा उत्पादन हुने फोहरलाई वर्गीकरण गरी कुहिने फोहरबाट मल उत्पादन गर्नुपर्ने बताइन् । ‘व्यवसायी र हाम्रो सम्बन्ध नङ–मासुको हुनु पर्छ, हामी सहकार्य गरेर यो बजारलाई व्यवस्थित गर्ने हो’, उनले भनिन् । त्यस्तै उनले प्रादेशिक अस्पतालको सुधार, सरकारी स्कूलको शैक्षिक सुधार र पढाइबाट वञ्चितहरूको शिक्षामा पहुँचमा वृद्धि अहिलको मुख्य काम भएको बताइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वीरबहादुर रावतले व्यवसायीले भयरहित वातावरणबाट व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरणका साथै सडक, विद्युतलगायतका समस्याको समाधान गर्नुपर्ने बताए । उनले घोराही तुलसीपुरको सडक निर्माणमा पनि नवनिर्वाचित जनप्रतिनिधिलाई ध्यान दिन आग्रह गरे । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष भीमबहादुर योगी, ७ का अध्यक्ष रामबहादुर जिसीलगायले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता तथा प्रमुख खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै चालिसेले जनप्रतिनिधि नभएको अवस्थामा उद्योग वाणिज्य संघले विभिन्न विकास निर्माणको काम अगाडि बढाएको भन्दै अहिले पनि एयरपोर्टको स्तर वृद्धिदेखि विभिन्न विकास निर्माणका लागि आफूले पहलकदमी गरेको बताए । वरिष्ठ उपाध्यक्ष मीनाराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका थिए ।