मेयर खड्कालाई श्रीमती झुमाको सुझाव : जनमतको कदर गर्नुहोला, जनताका आकांक्षा पूरा गर्नुहोला

गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयरमा श्रीमान् टीकाराम खड्का निर्वाचित भएपछि विजयोत्सवमा पुगेकी मेयर खड्काकी पत्नी झुमा खड्काले आफ्ना श्रीमान्लाई जनताले दिएको मतको कदर गर्दै इमानदारी पूर्वक काम गर्न सल्लाह दिएकी छन् ।

श्रीमती झुमालाई देखाउँदै मेयर खड्काले झुमाकै मिहिनेत र परिश्रमले गर्दा नै आफू राजनीतिमा सक्रिय हुन पाएको र त्यसैको प्रतिफल मेयरसम्म पुग्न सफल भएको बताएका थिए । ‘मलाई पाल्ने झुमा भाउजु यही हो’, मेयर खड्काले भनेका थिए, ‘उसैले दुःख, मिहिनेत र संघर्ष गरेर आज मलाई सफल गराउने व्यक्ति झुमा वली खड्का नै हुन् ।’

झुमाले नै दुई छोरालाई पढाउनेदेखि आफूलाई राजनीतिमा स्थापित गराउने ठूलो योगदान गरेको मेयर खड्काले श्रीमतीका अगाडि बताए । त्यो सुनेर सँगै रहेकी श्रीमती झुमाले मेयरमा श्रीमान टीकारामले जित्दा धेरै खुसी भएको प्रतिक्रिया दिइन् । जनताले अहिलेसम्मको टीकारामको लगानीलाई सम्मान गरेको उनले बताइन् ।

‘कतिपय जनताले पैसा छैन, टीकारामले के चुनाव जित्ला भन्दै हुनुहुन्थ्यो’, झुमाले अगाडि भनिन्, ‘पैसाले होइन, उहाँले इमान र जमानले भोट पाएर जित्नुभयो ।’ त्यस्तै उनले भोटको सही कदर गर्न पनि आग्रह गर्दै शुभकामना दिएकी थिइन् । झुमा पेशाले शिक्षिका हुन् । उनले तुलसीपुर – १८ कै एक प्राविमा पढाउने गर्छिन् । मेयरमा निर्वाचित खड्काले आफ्नो र परिवारको नाममा कतै एक टुक्रा पनि जग्गा जमिन नरहेको भन्दै श्रीमती झुमाकै तलवबाट परिवारको खर्च व्यवस्थापन हुने गरेको बताएका थिए ।