नारायणप्रसाद श्रेष्ठ
‘बुद्धिले अरुलाई रिषले आफैलाई खा’ यो उखान हिजो जति चरितार्थ थियो त्यति नै वर्तमानमा मानवीय चिन्तनले सिर्जना गरेको व्यवहारले प्रमाणित गर्दै आएको छ । सामाजिक, राजनीति, आर्थिक एवं सांस्कृतिक पक्षमा नेतृत्वले निर्वाह गर्ने चरित्रले देखाएको नाङ्गो तस्वीर अहिले जताततै छरपष्ट भएको छ ।
आफू र आफ्नो आचरण र व्यवहारलाई शुद्धिकरण गरी प्रत्येक व्यक्ति, समाज र परिवेशको लागि आवश्यक पूर्वाधार निर्माण नगरी हँचुवाको भरमा क्षणिक स्वार्थ पूर्ति गर्ने जुन प्रवृत्ति देखापरेको छ । यसले अरुको रिसले आफ्नो खुट्टामा वञ्चरोले हान्नु जस्ता गलत नजीर स्थापित हुँदै गरेको देखिन्छ । एकले अर्कालाई पछार्ने होडमा अरुको शक्ति र क्षमतालाई आँकलन नगरी हुटिट्याउँले सगर थामे जसरी म नै सबै हुँ भन्ने जुन दम्भ वर्तमानमा व्यापक हुँदै गएको छ, यसले सर्वसाधारणमा राजनीतिक वितृष्णाको वातावरण बढ्दै गरेको छ ।
समाजमा जुन आदर्श स्थापना हुनुपर्ने हो, त्यसले साकार रुप लिन सकिरहेको छैन । सोच र चिन्तनमा सकारात्मक भाव जागृत हुनुको सट्टा बदलाको भाव जागृत हुने गरी कर्म गरिँदै छ । ‘बुद्धियस्य बलमतस्य निर्बुद्धि से कुतोबलम्’ भन्ने उखान टुक्का राख्न र भन्न जान्ने व्यक्ति वा समूह धेरै हुँदा हुँदै पनि समझदार मानिसको जामात बढ्दाबढ्दै पनि पाखुराको बलले मात्र सबै गर्न सक्छु भन्ने सोचतर्फ चिन्तन बढाइ बुद्धि र विवेकलाई पछि धकेल्ने गरी जसरी आचरण गर्ने परिपाटीको विकास भएको छ, वास्तवमा यसले रिसले आफूलाई खा बुद्धिले अरुलाई खा चरितार्थ भइरहेको छ ।
तसर्थ, समय र परिस्थितिको आँकलन गर्न नसक्दा जसरी राज्यनीतिमै फेरबदल भइ, राज्य सञ्चालन प्रक्रियामै फेरबदल भएको थियो । त्यसरी नै जनताको मनोभावना, सामाजिक मूल्य र मान्यतालाई बुझ्न नसक्नुको कारण पार्टीगत राजनीतिप्रति प्रश्न उठ्ने बेला दखापरेको अवस्था छ । सक्षम र नेतृत्वदायी भूमिकाप्रति गरिने भेदभावपूर्ण व्यवहारले राज्यनीतिमै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।
त्यसैले अरुले के ग¥यो भनी कौवाले कान लग्यो भनी कौवा पछि दौड्ने र अरुको आङमा जुम्रा देख्ने जुन प्रवृत्ति वर्तमानमा देखिएको छ, वास्तवमा यसले आफैलाई प्रश्नको घेराभित्र राख्दै अनुत्तरित बनाइरहेको छ । क्षणिक स्वार्थले राष्ट्रिय राजनीतिमा नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसैले साना–साना कुरामा मतभेद गराइ राष्ट्रिय अस्मितामाथि नै प्रश्न उठ्ने कार्य हामी किन गर्ने भनी आफूले आफैलाई प्रश्न गर्दै मेरो जिम्मेवारी राष्ट्रको समुन्नत हो भन्ने ठानी अघि बढ्नु परेको छ ।
दलीय राजनीतिक परिपाटीमा व्यक्तिको व्यक्तित्वले जुन किसिमले सफलताउन्मुख चरित्र देखापर्दै छ, त्यसले दलगत राजनीतिभित्र प्रश्न तेर्सिँदै नेतृत्व गर्ने नेताप्रति प्रश्न उठ्न थालेको छ । विधि र पद्धतिमाथि नै चुनौती देखापर्ने संकेत देखिँदै छ । त्यसैले समयमै यसबारे गम्भीर हुन जरुरी छ । स्थानीय निकायको निर्वाचन २०७९ मा देखिएको राजनीतिक परिदृश्यले नेतृत्वको कार्यशैलीप्रति कटाक्ष भइरहेको छ । राष्ट्रको माटो समाइ राष्ट्रिय, क्षेत्रीय र प्रारम्भिक चरणमा नेतृत्व प्रदान गर्न सक्ने दक्षता र योग्यतालाई पन्छाउँदाको परिणाम सबैको सामू देखापर्दै छ ।
नेता त धेरै जन्मिएको पाइन्छ तर पनि पार्टीको संकुचित सोच र स्वार्थभन्दा माथि उठ्न नसक्नुका कारण दूरगामी चिन्तकहरु पाखा लाग्ने परिस्थिति सिर्जना भइरहेको छ । दक्ष जनशक्ति र दूरदर्शी चिन्तकहरु पलायन हुने अवस्था देखापर्दै छ । गुण र दोषको समुचित मूल्यांकन गरी नेतृत्वले हेर्ने र बुझ्ने सोचमा परिवर्तन ल्याउनुपर्ने समयमा अन्धभक्त भइ राम्रो, नराम्रो सबै गोलमटोल गराउने जुन राजनीतिक चरित्र वर्तमानमा हाबी भइरहेको छ, यसले हाम्रो राष्ट्रभक्त कति रहेछ भन्ने विदेशीले समेत मूल्यांकन गरिरहेका छन् ।
राष्ट्रिय स्वार्थ र सद्भाव समेत खल्बलिने गरी जसरी नेतृत्व तहमा गलत नजीर बसाउने आचरण प्रदर्शन भइरहेको छ, वास्तवमा यसले राजनीतिमा निकै तरङ्ग समेत पैदा गरको छ । आफूले आफैलाई सम्हाल्न नसक्नेले अरुलाई कसरी सम्हाल्न सक्छन् होला ? यो प्रश्न अनुत्तरित किसिमले फिजिएको छ । हिजो प्रजातन्त्रमा आस्था र विश्वास राख्ने नीतिज्ञहरुमा पनि नैराश्यताको बादल मडारिने अवस्था देखापर्दै छ ।
सहिदको सपनामा आँच आउने गरी नेतृत्वको कार्यशैली हात्तीको देखाउने र खाने दाँत अलग भएझैँ फरक–फरक किसिमले अगाडि बढेको छ । हिजो प्रजातन्त्रको लागि मरिमेटेका वीपी, गणेशमान, सन्त नेता कृष्णप्रसाद, पुष्पलाल, मदन भण्डारीजस्ता सच्चा देशभक्त (जसले कहिल्यै आफ्नो स्वाभिमान बेच्न सकेनन्)ले देखाएको शाहसिक नेतृत्वले ल्याएको वर्तमानलाई उनकै अनुयायीहरुले स्वार्थकेन्द्रित राजनीति गर्दै विदेशी नीतिभित्र राज्य सञ्चालन गर्ने गराउने जुन अभ्यास गरिँदै छ, वास्तवमा यसले राष्ट्रलाई कुन गति उन्मुख गराउने हो ? चिन्ताको विषय बनेको छ ।
दूरदर्शी राजनीतिक चिन्तकलाई हवाला दिँदै व्यक्तिवादी र अहंकारी चरित्र राजनीतिमा प्रवेश गराउन खोज्नु कहाँसम्म उचित मानिन्छ । राजनीतिक धरातललाई समयको गतिसँगै परिवर्तनको सम्वाहक बनेर गरिबी र असहायको सहाय बन्नुपर्ने समयमा राष्ट्रिय परिवेशलाई स्वार्थकेन्द्रित सोच र चिन्तनतर्फ धकेल्दै भ्रष्टाचार मौलाउने गरी नीति बनाउन खोज्नु कहाँसम्म उचित छ ? यो प्रश्न अहिले निकै जल्दोबल्दो अवस्थामा आइरहेछ ।
परम्परागत संस्कृति र मान्यतालाई कुल्चँदै राजनीतिलाई स्वार्थकेन्द्रित चरित्रप्रति आकर्षित गर्न खोज्नु निश्चय पनि राम्रो विषय होइन । यसले विदेशीको इसारा र थोरै चास्नीभित्र डुबुल्की मार्न खोजेको आभाष देखिँदै छ । व्यक्तिको पहिचान गर्न नसकी राजनीतिलाई वर्गस्वार्थभित्र केन्द्रित गर्दै जाने हो भने भोलि निर्दलीय चरित्रले राज्य सत्ता हात पार्न सक्ने कुरामा दुई मत नहुन सक्छ । तसर्थ, साना–मसिना कुरामा मतभेद बढाइ स्वार्थपरक राजनीतिक चरित्र प्रदर्शन नगर्न समयले घचघच्याइरहेको छ ।
सहमतिको नाममा असहमतिको बादल मडारिँदै नेतृत्वप्रति जनताको विचार बाझिँदै जानु भनेको दलीय शासनप्रति जनताले प्रश्न उठाइरहेको स्थिति हो । देशको भौगोलिक अवस्था, भाषा, धर्म र परिवेशअनुकूल विकासका पूर्वाधारले निश्चित गति लिनुपर्ने अवस्थामा नेतृत्वपंक्तिको अविश्वास बढ्नु भनेको उनीहरुको कार्यशैलीप्रति प्रश्न उठ्नु हो । नेपाल र नेपालीको अस्तित्व बचाइ माग र आपूर्तिमा सन्तुलन कायम गर्दै पारदर्शी चरित्र निर्वाह गर्न बुद्धिजीवीको जामात हरेक क्षेत्रमा विद्यमान हुँदाहुँदै उनीहरुलाई बहिस्कार गर्नु भनेको विवेक शून्य हुनु हो । ‘भाइ फुटे गवाँर लुटे’ भन्ने उखानझैँ पार्टीगत राजनीतिले निम्त्याएको अविश्वासको बादल मडारिनु निश्चय पनि अपसकुन मानिन्छ ।
तसर्थ, पद र प्रतिष्ठाभित्र गरिने गलत कार्यलाई परित्याग गरी समाज, राष्ट्रको विकासमा सबैको एउटै धारणा र चिन्तन हुन समयले सचेत गराइरहेको छ । सार्वभौम र जनताको भावना र इच्छा विपरीत जति पनि कुराहरु सतहमा देखा परिरहेका छन्, त्यसको जिम्मेवारी नेतृत्व तहले लिनु पर्छ । समृद्ध नेपाल र सुखी नेपालीको मूल मर्म र परिभाषाभित्र निःस्वार्थ चरित्र वर्तमानले खोजेको छ ।
राजनीतिक सोच र चिन्तनमा विचलन आइ गलत मानसिकता छताछुल्ल हुनु भनेको राम्रो पक्ष मानिँदैन । व्यक्ति हाबी भइ दललाई प्रश्न उठ्नु दलगत राजनीतिमा राम्रो पक्ष मानिँदैन । त्यसैले नेपालको गौरवमय इतिहासको पानालाई अध्ययन, मनन् गर्दै क्षणिक स्वार्थ र दलीय स्वार्थमा होइन, राष्ट्रिय स्वार्थमा नेताको विवेक पुग्नु जरुरी भइसकेको छ । सक्षम नेतृत्वको पहिचान गरी राष्ट्रिय स्वार्थ केन्द्रित राजनीति अहिलेको आवश्यकता देखिएको छ । चेतना भया ।