मेरो खुशी : कर्मको फल प्राप्त हुदा…

म सामान्य किसान परिवारबाट विभिन्न सुख, दुःख भोगेर यहाँसम्म आएको हुँ । म सानो छँदा साँझ बिहान आमा बुवालाई घाँसदाउरादेखि पानी पँधेरोमा सघाउँथे । ‘मैले देश विदेश सबै ठाउँ घुम्ने अवसर पाएँ’ विदेशमा पुगेर पनि धेरै चेलीहरू र विदेशमा अलपत्र परेकालाई उद्धार गरेको छु’, उनी भन्छन् ।

तुलसीपुर–७ का वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष रामबहादुर जिसीले आफ्नो बाल्यकाल सम्झँदै विभिन्न बाधा व्यवधानहरू छिचोल्दै समाज सेवामा लागेको भन्दै त्यो कर्मको फल अहिले हात पार्दा निकै खुसी लागेको बताउँछन् । उनले पहिलो खुसी त दिन–दुःखी, गरिब तथा पीडितको उद्धार गर्ने अवसर पाएकोमा लागेको सुनाए ।

‘मेरो पहिलो खुसी त प्रदेशमा बस्दा धेरै दिदीबहिनी चेलीहरूलाई उद्धार गरी नेपाल पठाउँदाको हो’, उनले भने’ मैले २०६५ सालमा दाङ–पोखराका धेरै दिदीबहिनीहरूलाई प्रवासी नेपाली संघअन्तर्गत् बहराइन्, इजरायल, कुबेद गएकालाई उद्धार गरी नेपाल फर्काउन सहयोग गरेँ’, –जिसीले भने । समाजसेवामा लाग्दा आफूलाई खुसी महसुस हुने उनले धेरै व्यक्ति विशेष र धेरै विकास निर्माणमा आफूले नेतृत्व गरेको भन्दै खुसी व्यक्त गरे ।

स्कूल पढ्दादेखि नै रेडक्रसमा लागेर रेडक्रसको अध्यक्ष समेत भएर सामाजिक सेवामा लागेको भन्दै जिसीले विगत दुई दशकदेखि समाज सेवमा आफू समर्पित भएको बताए । वि.सं २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा पढाइका लागि प्यूठानबाट दाङ झरेका जिसीले महेन्द्र बहुमुखी क्याम्पसमा पनि नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । ‘म महेन्द्र बहुमुखी क्याम्पसमा पनि त्यतिबेला स्ववियु कोषाध्यक्षमा अत्यधिक मतले विजय भएको थिएँ, त्यो मेरो लागि खुसीको कुरा हो’, जिसीले भने ।

जिसीले त्यतिबेला पनि स्ववियुमा हुँदा त्यहाँको पुस्तकालय स्थापनादेखि विभिन्न जिल्लाबाट आएका विद्यार्थीलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । जन्मस्थान प्यूठानको तुसारा–५ भए पनि उनले कर्मथलो दाङ बनाएको भन्दै खुसी व्यक्त गरे । करिब ५ वर्ष विभिन्न देशमा बिताएका जिसीले विदेशभन्दा स्वदेश प्यारो लागेर आफू स्वदेश फर्किएको सुनाए । ‘मेरो विदेशमा पनि राम्रो आम्दानी हुने गरेको थियो तर मैले मेरो मातृभूमि नेपाललमै केही गर्नु पर्छ भनेर स्वदेश फर्किएm त्यसको लगत्तै स्थानीय चुनाव आएको थियो’, उनले भने ।

वि.सं २०७४ सालमा नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाएपछि आफूले वडा सदस्यमा जितेको भन्दै त्यतिबेला पनि निकै खुसी भएको सुनाए । उनले त्यो भन्दा पहिले पनि हलवारमा विभिन्न बाटोघाटो विकास निर्माणको नेतृत्व गरेर सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे । जिसीले पर्सेनीदेखि खाद्रे जाने बाटो निर्माणका लागि आफू अध्यक्ष भएको हाल सो बाटो नमुनायोग्य भएको भन्दै खुसी व्यक्त गरे ।

‘अहिले वडा नंं. ७ को नमुनायोग्य बाटो पर्सेनीदेखि खाद्रे जाने बाटो भएको छ, त्यसको ट्रयाक खोल्न मैले र त्यहाँका जनताले धेरै पहल गरेका थियौँ’, उनले भने । त्यस्तै वडा सदस्य भएपछि तत्कालीन वडाध्यक्ष टोपबहादुर केसीको नेतृत्वमा विकास निर्माणका काम धेरै गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे । उनले आफूले पाएको पारिश्रमिकदेखि आफ्नो व्यक्तिगत लगानीमा धेरै बाटोघाटोदेखि चौतारा, मन्दिरहरू निर्माण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले कोभिड–१९ को समयमा धेरै व्यक्तिलाई व्यक्तिगत सहयोग गरेको र अहिले पनि उनीहरूले सम्झिँदा खुसी लाग्ने गरेको सुनाए । ‘घरमा मैले खाने चामल, दालदेखि नगद समेत मैले जनतालाई बाँढेको थिएँ, त्यो कर्मले अहिले मलाई राम्रो फल दिएको छ’, उनले भने । वि.सं २०६२ सालमा बसाई सराई गरी दाङको तुलसीपुर–७ पर्सेनीमा आएका जिसीले वडामा गरिब–दुःखी असहायलाई धेरै सहयोग गरेको भन्दै समाजसेवमा लाग्न पाउँदा खुसी लागेको सुनाए ।

‘चाहे त्यो अग्निपीडित होस् चाहे अन्य दुःखी बिरामी हुँदा मैले सहयोग नगरेको कमै होलान्, म त्यसलाई सेवाको रूपमा लिएको छु’, उनले भने । त्यस्तै उनले जनताले आफूले गरेको कर्मलाई हेरेर फेरि पनि हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षको पदमा निर्वाचित गराएकोमा पनि खुसी व्यक्त गरे । ‘म वडाध्यक्षमा निर्वाचित हुँदा पनि निकै खुसी भएको छु, अब तेरो मेरो नभनी जनताको सेवकको रूपमा काम गर्ने छु’, वडाध्यक्ष जिसीले भने ।

उनले आफू वडा सदस्य हुँदा धेरैलाई सहयोग र धेरै विकास निर्माणमा सहयोग गरेको भन्दै अब झनै आफूमाथि जिम्मेवारी बढेको महसुस गरेको सुनाए । ‘मैले अहिले नै यो गर्छु, त्यो गर्छु भन्दैन कर्म गर्ने हो, फलको आशा होइन् तर जनताको मत र मप्रतिको विश्वासलाई भुल्ने छैन्’, जिसीले भने । उनले आफू वडाध्यक्ष हुँला र यस्तो गरुँला भन्ने कहिल्यै पनि नसोचेको भन्दै कर्मको फल आफूलाई अहिले प्राप्त भएको सुनाए ।

त्यस्तै उनले ४५ वर्ष हुँदा समेत आफू आमाबुवासँग घरमा बस्न पाएकोमा खुसी व्यक्त गरे । उनले घरमा श्रीमतीले पनि समाजसेवामा लाग्दा धेरै सहयोग गरेको र सहयोग पाएकोमा खुसी व्यक्त गरे । ‘मलाई घरपरिवार इष्टमित्रबाट पनि सहयोग प्राप्त भएको छ, साथीभाइ, राजनीतिक दलहरूले पनि त्यत्तिकै विश्वास गर्नुभएको छ, यसमा पनि म निकै खुसी छु’, उनले भनिन् । वि.सं २०६० सालमा वैवाहिक बन्धनमा बाँधिएका जिसीले वि.सं. २०६१ सालमा छोरी जन्मिएको र घरमा लक्ष्मी भित्रँदा पनि खुसी लागेको सुनाए ।

‘छोरी जन्मिएपछि मैले बसाइँसराई पनि गरे, लक्ष्मीको रूपमा छोरी घरमा आएदेखि मेरो प्रगति उन्नति पनि भइरहेको छ, म त्यसमा पनि निकै खुसी छु’, जिसीले भने । उनले एउटा छोरी २ वटा छोराहरूको जन्म भएको र उनीहरूको प्रगतिमा पनि आफू खुसी भएको सुनाए । व्यवसाय पनि सञ्चालन गरेका जिसीले आफू समाज सेवामा लाग्दा घरमा श्रीमतीले घर सम्हालेको भन्दै सबैको साथ सहयोग पाएर नै आफू यहाँसम्म आएकोमा खुसी व्यक्त गरे ।

सधै खुसी र धेरैजसो जनताको घरदैलोमा पुग्ने जिसीले आफू अहिले पनि जनताको घरदैलोमा पुगेर भेटघाटमै बिजी भएको सुनाए । ‘म जनताको सेवक हुँ म अहिले पनि जनताको घरदैलोमा छु, म यसमा पनि खुसी छु, जनताको घरदैलोमा पुग्न पाएको छु ।’ उनले समाजसेवा र गरिब दुःखीको सेवामा लाग्न पाउँदा आफूलाई खुसी मिल्ने भन्दै अव वडाध्यक्ष भएकाले वडाको विकास र जनताको जनजीविकामा परिवर्तन ल्याउन सके अर्को खुसी प्राप्त हुने सुनाए । ‘म अब यो भन्दा धेरै माथिको सपना अहिले नै देखेको छैन, जनतालाई खुसी गराउन सके भने खुसी हुनेछु’, जिसी भन्छन् ।

प्रस्तुती : बालाराम खड्का