मनोज पौडेल
धेरै भयो नलेखेको ! करिब एक हप्ता भयो लेख्छु भन्छु, फुर्दै फुर्दैन । यो दिमाग पनि त्यही कुरा गर्दो रहेछ जुन नियमित छ र निखार पनि त्यही कुरामा ल्याउँदो रहेछ । जे–जस्तो होस् आज त लेख्छु–लेख्छु, मैले लेख्नै पर्छ । शुभकामना त दिनै प¥यो, होइन र ?
हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो छ बास्ना आउँछ रे ! तर कहिलेसम्म ? समयसँगै त्यो हिङ्गको बास्ना मात्र होइन टालो पनि कुहिन्छ, सड्छ र हामी कहिलेसम्म त्यही कुहिएको टालोको दुर्गन्धलाई नै बास्ना मानेर बस्नु पर्ने हो ? थाहा छैन । इतिहास र इतिहासमा भएका घटनाक्रमहरु इतिहासकै माग थियो । वर्तमान इतिहासभन्दा फरक कुरा हो । यसको माग पनि फरक हुन्छ । विकासका सम्भावनाहरु र आवश्यकता फरक हुन्छ ।
कसैको ऐतिहासिक योगदानको आडमा हामी उसको पछि लाग्छौँ भने हामी पानी मरुवा हौँ । हिजो उसले जानेको ग¥यो, आज हामीले जानेको गरौँ, अगाडि बढौं, कसैको पुच्छर लागेर यहाँ केही हुनेवाला छैन । कतै पढेको थिए ‘संसार बदल्नु छ, सुरु आफैबाट गर ।’ यस पटकको सुरुवात र त्यसको प्रतिफल थोरै भए पनि राम्रो देखियो । केही आशाका किरणहरु प्रष्फुटित भए तर ती किरणहरु घाम बनेर शिशिरको तुषारोलाई चिर्दै न्यानो स्पर्ष दिन भने बाँकी नै छ । हेरौँ के हुन्छ । ती किरणहरु भरपुर आत्मबलका साथ अगाडि बढून् भन्ने मेरो शुभेच्छा छ ।
आदरणीय पाठक ! के लेखेको होला भनेर ताइ न तुइको कुरा सोचिराख्नु भएको होला सायद; म पनि त्यस्तै सोच्दै छु तर पनि मैले लेख्नै पर्छ । कहिले काहीँ कुरा भन्दा माथि, विषयभन्दा माथि कतै भावनामा, कतै सपनामा, कतै कल्पनामा भड्किँदो रहेछ मान्छे । बहुलाउँदो रहेछ मान्छे र म अहिले बहुला भएको छु । आफ्नो विचारमा आफै हराइरहेको छु । अहँ ! अब त भड्किन्न भन्यो भड्किहाल्ने कस्तो नराम्रो बानी छ, मेरो । मेरो नराम्रो बानी अन्य सन्दर्भमा पनि पोखिएका थिए होलान् तर यति विधि म हराएको कहिल्यै थिएन । आफू आफैभित्र हराउनु मज्जा बेग्लै हुन्छ तर जब हराएको ठाउँबाट फर्किइन्छ तब देखिन्छ फेरि त्यही वास्तविकता, त्यही खोक्रोपन, त्यही पुराना छिमेकीका पुराना अनुहारहरु ।
ज्ञानभन्दा विवेक र सीपभन्दा अभ्यास ठूलो कुरा हो । विचार र सिद्धान्त समयअनुसार फेरिन सक्ने र फेरिनु पर्ने कुराहरु हुन् । किनकि वातावरणले विचार र सिद्धान्तको निर्माण हुन्छ । यी सामान्यीकरणका अवयव मात्र हुन् । अस्ति घर गएको बेला विनोद दाइले गज्जबको कुरा सोध्नुभयो । ‘एउटा छाप्रोमा दुई जना बस्थे, एउटा मात्र कोठा थियो । उनीहरुका छोरा–छोरी भए । छोरा–छोरी हुर्कँदै गर्दा त्यो छाप्रोमा तीन वटा कोठा बनाइयो । त्यो विकास हो कि होइन भाइ ?’ मैले भने दाइ त्यो समय हो विकास होइन, दाइले सहमति जनाउनु भयो ।
वास्तवमै समयसँगै आउने विसंगति, विकृति, बेतिथि, पीडा, समस्या, हटाउनु विकास हो न कि समयले ल्याएको प्रभाव । स्वस्थ प्रणाली व्यवस्थापन गर्नु, अनुशासित रहनु, मर्यादित रहनु, जिम्मेवार रहनु, जवाफदेही रहनु, लगनशील र कर्तव्यनिष्ठ रहनु विकास हो । यसपछि माग र आवश्यकताका कुराहरु त द्रुत गतिमा पूरा हुन्छन् । यो कुरा सबैले बुझे समाज कति राम्रो हुन्थ्यो होला । के गर्नु ‘आकाशको फल आँखा तरी मर’ ।
विचार आचरण बन्छ, आचरण अभ्यास, अभ्यास पद्धति र पद्धति परम्परा । म चाहन्छु विचार असल होस्, त्यसबाट सिर्जित आचरण र अभ्यास असल हुन्छन् जसले चलिरहेको परम्परालाई समयको मागसँगै नयाँ मोड दिन सक्छ । तिम्रो सामथ्र्य, तिमी राम्रो हुनु मात्र होइन । तिम्रो वरिपरिको वातावरण राम्रो बनाउनु हो ।
समाज मिलेर बन्छ, हेक्का रहोस् । मैले जानेको कुरा के हो भने नेता त्यो हो जसले समाजलाई बनाउँछ, चाहेको परिवर्तन ल्याउँछ र तत्पश्चात सबैले भन्छन् हामीले हाम्रो बलबुँताले यो कार्य सम्पन्न ग¥यौँ । जनप्रतिनिधि सबैका साझा हुन । त्यसतर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिएर काम गर्न आवश्यक छ । फेरी पनि सवै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना ।