प्रस्तुती : बालाराम खड्का
उनी विहानदेखि बेलुकासम्म आध्यात्मक चिन्तनसँगै व्यापार व्यवसायमा नै दिन चरिया बिताउने गरेका छन् । रोल्पाको तत्कालीन जुगार गाविमा जन्मिएका टेकबहादुर खड्का तुलसीपुर–८ चन्द्रगञ्जका स्थायी बसोवास गर्ने गरेका छन् । आफूमा जे छ त्यसैमा रमाउन सिक्यो भने मानिस खुसी हुने बताउँछन् । उनका जीवनमा सुख–दुःखका धेरै क्षणहरु छन् ।
उनका खुसीहरु खोज्दै जाँदा उनले आफ्नो पहिलो खुसी छोरी विमला भएको बताउँछन् । गते, मिति पनि उनलाई याद छ २०५४ साल चैत ६ गते मेरो छोरीको जन्म भएको थियो । छोरीको जन्म उनका लागि लक्ष्मीकै जन्मजस्तै भयो । २०५४ सालको चैत महिना ६ गते छोरी विमला जन्मिएको दिन उनको जागिर पनि सुरुवात भयो । त्यस दिन घरमा छोरी जन्मिएको र त्यसैदिनदेखि आफूले तुलसीपुरस्थित डाँगी बस्त्रालयमा काम पाएको उनले सम्झिए ।
बुवाको मृत्युपछि उनको पढाई बीचमै रोकिएका र आफू घरमा खेतीपाती अधिया दिएर आफू कामका लागि जागिरमा लागेको बताए । ‘छोरी विमला मेरो पहिलो खुसी हो, छोरीे घरमा लक्ष्मीको रुपमा भित्रिएकै दिन मैले जागिर पनि सुरु गरेको थिए यही नै पहिलो खुसी लेखिदिनुहोला’ खड्काले भने । उनले त्यतिबेला ९ सय रुपैयाँको जागिर पाएको भन्दै खुसी व्यक्त गरे । ‘त्यो बेला मेरा लागि ९ सय ९ हजार जस्तै थियो मेरो लागि म त्यस दिन निकै खुसी भएको थिए’, खड्का भन्छन् ।
त्यो सँगै करिब २ बर्ष डाँगी बस्त्रालयमा आफूले काम गरेको र त्यसपछि वि.सं. २०५६ सालमा ओम शान्ति सिनेमा हलमा काम गर्न सुरु गरेको सुनाए । सिनेमा हालमा काम पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘मैले त्यतिबेला सिनेमा हलमा माइकिङ गर्ने जागिर सुरु गरे त्यो गरेबाफत मैले महिनामा १५ सय र दिनको २० रुपैयाँ भत्ता पाउथे’, उनले भने । खड्काले त्यति बेला सिनेमा हलमा काम गर्न पाउनु ठूलो कुरा भएको सुनाए ।
‘त्यति बेला सिनेमा हलमा काम गर्न पाउनु सरकारी जागिर खानुभन्दा कम महत्व थिएन किन भने सिनेमाको महत्व धेरे थियो, म त्यो काम पाउँदा पनि खुसी भएको थिए । खड्काले सिनेमा हलमा राम्रो कमाई र काम भए पनि त्यसको दीर्घकालीन फाइदा नदेखेपछि फेरि व्यवसायमा फर्किएको सुनाए ।
वि.सं. २०५८ सालमा मैले फेरि सानो लगानीमा फेन्सी व्यवसाय सुरु गरे आफूले २ बर्षसम्म व्यापार व्यवसायीमा सिकेको कुरालाई आफ्नो व्यवसायीमा लगाउन पाउँदा अर्को खुसी प्राप्त भएको उनले सुनाए । ‘अरुको पसलमा काम गरेर मैले फेरि त्यसको सिको गरेर आफ्नै व्यवसाय सञ्चालन गरे म त्यस दिन पनि निकै खुसी भएको थिए’, खड्काले विगत सम्झदै भने ।
उनले व्यापारसँगै राम्रो आम्दानी गरे पनि श्रीमती र आफू घुडा दुख्ने रोगबाट ग्रसत भएको भन्दै कमाएको सबै रकम औषधिमै सकिने गरेको सुनाए । उनले धेरै ठाउँमा उपचारका लागि धाउँदासमेत उपचार सफल नभएको भन्दै त्यसपछि योगामा लागेको सुनाए । ‘वि.स २०६४ सालमा खड्गबहादुर केसीले योगाको सुरुवात कृष्णमन्दिरबाट गर्नुभयो तर त्यो पनि प्रभावकारी भएन, बीचैमा हामीहरुले योगाको महत्व र विधि अलि बुझेका थिएनौ’, उनले भने ।
त्यसपछि फेरि योगा सुरु गरेको र आफू र श्रीमतीको रोगमा क्रमिक सुधार भएको भन्दै खुसी व्यक्त गरे । ‘दर्शनको एउटा सुत्र छ– ‘अध्यास बैराग्या भ्याँ मनमा आउने वृत्तिहरु निरोध गर्ने, आन्दता प्रर्शेन्ता अभ्यासको कारणले हामीहरु सफल भयौँ’ उनले भने । बर्षैदेखि औषधिले निको नभएको रोग अभ्यास र योगाका कारण आफूहरु निको भएको भन्दै खुसी व्यक्त गरे ।
पतञ्जली योग जिल्ला युवा समितिका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका संयोजकसमेत रहेका खड्काले आफूले योग सिकेर पहिलो पटक तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर योग साधना गराउने अवसर मिलेको पनि खुुसी व्यक्त गरे । ‘मैले साढे ३ बजे उठेर कचिला, बालापुरलगायतका स्थानमा ४२ भन्दा बढी कक्षाहरु आयुर्वेदिक दर्शनको बारेमा दिएको र सो दिन पाउँदा पनि खुसी लागेको सुनाए ।
उनले आफूले आहार–विहार र बलिप्रथालाई समेत त्यागेर साहाकारी भएर आफू र परिवारको स्वास्थ्य निकै राम्रो भएको भन्दै खुसी व्यक्त गरे । उनले मावि बयाले पातेटाकुरामा उपयोग क्षिक्षक कक्षा हप्ता दिने तालिम सञ्चालनसँगै धेरैलाई योग शिक्षा र आध्यात्मिक शिक्षा दिई उनीहरु स्वास्थ्यमा सुधार र जीवनमा परिवर्तन ल्याउन सफल भएकोमा पनि खुसी व्यक्त गरे ।
‘धेरै व्यक्तिहरु विभिन्न रोगका कारण समस्यामा हुनुहुन्थ्यो धेरैलाई योग शिक्षा र दर्शन दिएर उनीहरु अहिले पहिलेजस्तै भएका छन्’, उनले भने । पहिले दुई÷चार जनाको अगाडि आफू बोल्दा खुट्टा काप्ने गरेको सम्झदै खड्काले आफूले अहिले १५ ÷१६ सय जनाको अगाडि योग कक्षा सञ्चालन गर्ने भएको भन्दै खुसी व्यक्त गरे ।
‘पहिले २÷४ जनाको अगाडि बोल्दा गाह्रो हुने गरेको थियो अहिले २÷४ हजारको संख्यामा मानिस जम्मा भए पनि झन् उत्साह मिल्ने गरेका छ’, उनले भने । खड्काले योग शिक्षासँगै आफूले विभिन्न सामाजिक सेवा पनि गर्न पाएको भन्दै खुसी व्यक्त गरे । उनले कोरानाको समयमा मेट्रो अस्पतालमा सहयोग, योग साधनको लागि प्राप्त रकमले पनि सामाजिक सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । खड्काले फेन्सी व्यवसायमा पनि आफूले कमाउने सिमा तोकेको बताए । ‘भगवान गीताको भनाइ छ– कर्म गर्दै जाऊ फलको आशा नगर मेरो कतव्य कर्म गर्ने हो’ खड्काले भने ।
उनले गलत तरिकाले कमाएको पैसा १२ बर्षपछि त्यो त्यतिकै जाने भन्दै व्यापार व्यवसायमा पनि धेरै नाफा र कमाईको आशा नगरेको बताए । उनले व्यवसायीमा कमाईको सिमा तोकेको भन्दै व्यवसायको केही कमाई पनि सामाजिक सेवा लगाउने गरेको भन्दै खुसी व्यक्त गरे । उनले घरमा छोराछोरीहरुको पनि प्रगति भएको भन्दै खुसी व्यक्त गरे ।
उनले छोरा अष्ट्रेलिया र छोरी यूरोपमा पढ्नका लागि गएको र उनीहरुको प्रगति देख्दा खुसी लाग्ने गरेको सुनाए । खड्काले श्रीमतीले पनि आफूलाई व्यापार व्यवसाय र अन्य क्षेत्रमा सहयोग गरेकोमा खुसी व्यक्त गरे । खड्काले आफूसँग जे छ त्यसैमा रमाउन सक्यो भने मानिसलाई खुसी मिल्ने सुनाए ।
(खड्का तुलसीपुस्थित खड्का फेन्सी स्टोरका सञ्चालक तथा पतञ्जली योग जिल्ला युवा समितिका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका संयोजक हुन्)