नारायणप्रसाद श्रेष्ठ
वर्तमान समयमा जे–जस्तो कर्म हुँदैछ त्यही कर्म समयको गतिसँगै बदलिरहेको अवस्था छ । समयको परिवर्तनशीलतालाई नयाँ पिढीले परिवर्तनको आशा र विश्वासतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । आज गरेको कर्मले भोलिको लागि सार्थकता नदिने स्थिति आउन सक्छ भन्ने समयले संकेत गरिरहेको छ । दिनपछि रात भनेझैँ खुसी र दुःख पनि आइरहेको छ ।
वास्तवमा यो निरन्तररुपले चलिरहने प्राकृतिक सत्य पनि हो । यदि यसलाई बुझ्न सकिएन र मेरो बाख्राको ६ शेर भन्ने पुरानो उखानलाई वर्तमानमा प्रयोग गरियो भने यसले दूरगामी परिवर्तन ल्याउन सक्छ । अर्को कुरा बोली र व्यवहारले मात्र सच्चा बन्न कोशिस गरियो भने त्यो किमार्थ स्वीकारयोग्य नहुन पनि सक्छ । किनकि रुपले जीवनलाई सार्थकता दिँदैन । कर्मले दिने हो । तर वर्तमानमा त्यस्तो छैन ।
अहिले मानिसको चेतनामा झुठ्ठो आश्वासन र सपना बाँडी प्रभुत्व जमाउने सोच बढेको छ । कुरा र कर्ममा फरक अनुभूति गराई आफूलाई सर्वोपरि ठान्ने चिन्तन अहिलेको उपलब्धिजस्तो देखिएको छ । वास्तवमा यस्तो प्रवृत्तिको विकास हुनु भनेको मानवीय आचरण र व्यवहारमा गलत मानसिकता बढाउनु हो । स्वार्थपरक चिन्तन ल्याउनु भनेको आफूले आफैलाई अद्योगतिउन्मुख गराउनु पनि हो । पद प्रतिष्ठा नै सेवाको मुख्य आधार हो भन्ने सोच गर्नु भनेको आफूले आफैलाई नजान्नु हो ।
जीवनको उद्देश्य नबुझ्नु हो । किनकि व्यक्तिको पहिचान सुन्दरतामा होइन, आचरण र गुणमा लुकेको हुन्छ । जुन गुण र व्यवहारलाई प्रत्यक्षता गर्न समयले पटक–पटक झक्झकाइरहेको छ तर पनि मानवीय स्वार्थले त्यसलाई तिर्ण बराबर सम्झिरहेको छ । त्यसैले परिस्थिति जस्तोसुकै किन नआओस्, यदि समयअनुकूल मानिसले आफूलाई परिवर्तित गर्दै अघि बढ्न जान्दछ भने मात्र उसले चाहेको गन्तव्य भेट्न सक्छ । त्यसैले सधै सोच र चिन्तनमा सुधारात्मक प्रवृत्तिको विकास गरी आफूभित्र रहेको गुण र शक्तिलाई अरुको सेवा र सद्भावमा रुपान्तरण गर्न सक्नुपर्दछ ।
सुध्रनु, सुधार्नु र स्वीकार्नु जीवनले भोग्नुपर्ने सत्य हो । यसै सत्यभित्रको चाहनाले इच्छाएको इज्जत, मान, प्रतिष्ठा सधै तलवारको धारमा रहेको कुरा पनि सत्य हो । मिथ्या अभिमान गरी यदि यसलाई समयको परिवर्तनअनुकूल स्वीकार्न जानिएन भने जीवनको उद्देश्य अधुरै रहन्छ । समयले दिन खोजेको यथार्थलाई बुझ्न नसकेको ठहर्छ । प्रतीक्षाको घडी लामो र नियास्रो पनि हुनसक्छ । तर धैर्यता र संयमता राख्न सके प्रेम र सद्भावले ओतप्रोत जीवनको महत्वपूर्ण क्षण त्यहीभित्र लुकेको सत्य हो भन्ने जान्न सकिन्छ ।
जीवनमा धैर्यता कायम गराउन सक्नु भनेको हरेक समस्याको समाधान गराउनु हो । समय सधै एकैनासको हुँदैन । कहिले खुसी, कहिले दुःख यो जीवनले भोग्नुपर्ने सत्य हो । तर पनि दुःख र सत्यको गहिराईमा पुग्ने हो भने त्यो केवल मानिसको इच्छा र चाहनाले उब्जाएको भ्रम मात्र बन्न सक्दछ । तसर्थ परिस्थिति जस्तोसुकै किन नहोस्, त्यसलाई स्वीकारेर सप्ठेरोमा परिवर्तन गरी जीवनलाई खुसी र उमंग दिन सक्नुपर्दछ । किनकि मानिस स्वयं शान्तिको उद्गमस्थल पनि हो ।
मानवीय चिन्तन र सोचबाट सिर्जित मनको खुराक भनेको शान्ति र खुसी हो । त्यसैले यसलाई सुधार्दै समयको परिवर्तनलाई स्वीकार्नु जीवनको सफलता हो । यही सफलता र खुसी जीवनको इच्छा र चाहनाभित्र लुकेको सत्य पनि हो । त्यसैले शान्ति खोज्न दौडधूप गर्ने मानिसको सोच र चिन्तनलाई ज्ञान र विवेकको मसीले रंग्याउँदै मन चंगा र कठौतीमा गंगा भन्ने उखान चरितार्थ गर्न सक्नुपर्दछ ।
समयको परिवर्तित सत्यलाई स्वीकार्दै अघि बढ्ने संकल्प गर्नु मानिसको बुद्धिमानी विवेक पनि हो । त्यसैले विचारलाई फराकिलो दायरामा अटाउने इच्छाशक्ति बढाई सदाचारी सदा खुसी भन्ने आचरण र व्यवहार गरी शान्तिको संवाहक बन्न प्रण गर्नुपर्दछ । मान, प्रतिष्ठा र इज्जतलाई सदाचारको परिभाषाभित्र परिपोसित गरी चित्त शुद्धीकरण गर्नुपर्दछ । चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी शान्तिको संवाहक बन्नुपर्दछ । घात, अन्तर्घात र प्रतिघात आफैलाई पतन गराउने आचरण हो भन्ने ठानी प्रत्येकले आफूलाई नैतिक र चरित्रवान् भएर जिम्मेवारी वहन गर्नुपरेको छ ।
नैतिकता मानिसलाई उद्देश्य प्राप्तितर्फ लैजाने महत्वपूर्ण आधार हो । जहाँ नैतिकता हुन्छ, त्यहाँ सरलता हुन्छ । सरलताले चरित्रमा मिठासपन ल्याउँछ । सबैको प्रियपात्र बनाउन सक्छ । जब यस्तो परिस्थिति सिर्जना हुन्छ तब कर्म र व्यवहारमा निःस्वार्थपन देखापर्न सुरु गर्दछ । निःस्वार्थले विश्वासको धरातल बलियो बनाउँछ तसर्थ विश्वास र नैतिकताभित्र गतिशील भएको जीवनको उद्देश्यलाई बुझेर मानिसले आचरण र व्यवहार गर्नुपर्दछ ।
कौवाले कान लग्यो भनी कौवाको पछि भाग्नु भनेको लहैलहैमा आफूलाई बर्बाद गराउनु हो । त्यसैले समयले खोजेको परिवर्तनसँगै आफ्नो वचन, कर्म र व्यवहारमा परिस्कृत हुन जरुरी छ । सबैको मन–मन्दिरमा बस्न सक्नुपर्दछ । शान्ति र सद्भावको माध्यमबाट ऊ र ममा केही फरक छैन, ऊ भएर नै म भएको हुँ भन्ने सोच बृद्धि गर्नुपर्दछ । जसका लाठी उसका भैस भन्ने चरित्रले मानिसलाई उद्योगतितर्फ धकेल्छ ।
कर्म र व्यवहारमा अनैतिकताले जकेड्छ र जीवन असफल पनि हुन्छ । जब समयले आवश्यकता महसुस गराई वस्तु, पद, प्रतिष्ठा प्रिय गराउने अवस्था हुन्छ त्यहाँ प्रिय, अप्रिय सबै हुनसक्छ । जब कर्म प्रधान भई नैतिकतामा बुद्धि, विवेक देखापर्दछ, तबमात्र सफलता प्राप्त हुन्छ । मुखमा रामराम बगलीमा छुरा गराउने कर्म भयो भने त्यसले नतिजा असहज हुनसक्छ । यस्तो अवस्था सिर्जना हुनु भनेको असन्तोष बढाउनु हो । असन्तोषले ईष्र्या, ईष्र्याले घमण्डको सहारा लिई मानिसको बुद्धि, विवेक धमिलो बनाउनु हो ।
यस्तो अवस्था आउनु भनेको मानिसलाई असत्यतर्फ उन्मुख गराई क्रोध, ईष्र्यालाई बढाउनु हो । तसर्थ मनलाई शान्त र एकान्तपनको महसुस गराई बाह्य आवरणमा देखापर्ने क्रोध र ईष्र्यालाई हटाई संयम र धैर्यता कायम गर्न सक्नुपर्दछ । जीवन पारस हो भनी वास्तविकतासँग पहिचान हुन सिक्नुपर्दछ । मानव जीवन आसैआसले भरिएको प्रतिमूर्ति पनि हो । यसले केही न केही प्राप्ति र चिन्तनभित्र आफूलाई प्रस्तुत गर्न खोजिरहेको हुन्छ । त्यसैले इमानदारी र नैतिकता नै जीवनलाई सबल र सक्षम बनाउने आधार हो भनी सुधार्न र स्वीकार गर्नु र आफूलाई शुद्धीकरण गर्न जरुरी छ ।
समयले परिवर्तन खोजिरहेछ । सोच र चिन्तनमा आउने स्वार्थलाई हटाई सबैको आशा र भरोसाको केन्द्र बन्न सबैलाई घच्घचाइरहेको पनि छ । मकै रोपे मकै, धान रोपे धान उम्रेझैँ जस्तो व्यवहार र सत्कार गर्न मानवीय चेतनाले जिम्मेवारी वहन गर्दछ त्यसको प्रतिफल सोहीअनुसार हुन्छ । रंगी–बिरंगी भएर पनि तरभुजाको भित्री गुण जसरी मानवीय आवश्यकताले पहिचान गर्न सफल भएको छ, त्यसरी नै गर्मीको शीतलता र शिशिरको जाडोभित्रको न्यानो वस्तु बन्नु सबैको जिम्मेवारी हो ।
तबमात्र सफलताउन्मुख हुन सकिन्छ । अन्यथा क्षणिक स्वार्थमा रुमलिने हो भने यसले क्षणिकताबाहेक अरु केही दिन सक्दैन । जीवनमा त्यही व्यक्ति सफल हुनसक्छ, जसले अन्तर्मनको सत्यलाई बुझी व्यवहारिक जीवनशैलीमा आफूलाई प्रस्तुत गर्न सक्दछ । धन, सम्पत्ति र मान–प्रतिष्ठा भनेको क्षणिक आशक्तिभित्रको मोहमात्र हो ।
धन–सम्पत्तिले सुख, सुविधा र अश–आराम त दिनसक्छ तर जीवनलाई सही र स्पष्ट दिशानिर्देश गर्न सक्दैन । किनकि सम्पत्ति भनेको क्षणिक मोह र मायाभित्र लुकेको सत्य हो । यसले मानिसलाई अहंकार र घमण्डले परिपोषण मात्र गर्दछ । बदलाको भावना जगाउँछ, जसको कारण मानवीय चेतनामा प्रतिशोधको भावना जागृत हुनपुग्दछ ।
प्रतिशोधले बुद्धि र विवेकमा शून्यता बढी, साँचोलाई झुठ र झुठलाई सत्यतर्फ भागदौर गराउन सक्दछ । अर्को कुरा विषयवासनाभित्र रुमलिन भनेको मानिसले आफ्नो स्वविवेकीय शक्तिलाई क्षीण गराउनु हो । तसर्थ प्रशंसामा होइन खुसीमा रमाउन सिक्नुपर्दछ ।