Goraksha

National Daily

कोरोनाले बिश्वव्यापी मन्दी ल्याउने सम्भावना : राष्ट्रसंघ

काठमाडौं, चैत १९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना औंल्याएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले भने, ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन ।’ उनले कोरोना भाइरसको महामारीलाई ‘दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती’का रुपमा टिप्पणी समेत गरेका छन् ।

महासचिव गुट्रेसले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् । ‘कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको छ’ गुट्रेसले भनेका छन् ‘कोभिड–१९ हाम्र लागि ठूलो परीक्षा हो ।’

गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरेका छन् । सन् २०१९को डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।