सिमलतारा : एक झलक

युवराज शर्मा
गाउँ–गाउँले भरिएको मुलुक नेपाल हो । अहिले गाउँलेहरु शहर बजारतर्फ आकर्षित भएका छन् । शहर बजारमा बसेर व्यवसायबाट पैसा कमाउने लहर र रहर बढेको छ । गाउँ छोड्नेहरुलाई पछुतो पनि छ । कतिपय गाउँहरु शहर बजारमा परिणत हुँदै गएका छन् ।

मानिसहरुको झुकाव शहर बजारमा मात्र सुविधा छ भन्ने थियो । अब त्यस्तो भएन । सोचाई र हेराईमा फरक आयो । जसरी भारतीयहरुले नेपालीहरुलाई पछौटेपनले हेर्छन्, त्यसैगरी शहर बजारवासीहरुले गाउँवासीहरुलाई गवाँर व्यक्तिका रुपमा हेर्छन् । गाउँलेहरुमा देखिने इमानदारिता, मित्रवत व्यवहार, सद्भावपूर्ण कार्यशैलीजस्ता गुणहरु शहर बजारहरुमा बस्ने मानिसमा पाइन्न । खासगरी शहर बजार बस्नेहरु घमण्डीपन, स्वार्थी भावना र बेइमानी चरित्रहरु देखाएको पाइन्छ ।

गाउँलेहरुको स्वभाव र व्यवहारमा फरक पाइन्न । घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्ने गाउँ सिमलतारा हो । यो उपमहानगरपालिकाको सीमान्त वर्गका मान्छेहरु धेरै भएको गाउँ हो । अहिले यो गाउँ शहर बजारतर्फ लम्केको छ । यहाँको सडक पक्की छ । विद्युत सेवा पुगेको छ ।

यही सडकबाट बिहान चारवटा बसहरु आउँछन् र बेलुकी पालोअनुसार फर्कन्छन् । दिनमा बसहरुको आउजाउ छैन, हुँदैन पनि । एउटा आधारभूत विद्यालय छ । घोराही बजारदेखि करिब १० किमि दूरीमा पर्छ । बा टोका बस्तीहरु घना गाउँहरु छन् । टेक्पोले यातायात सेवा थामेको छ । तर भाडादर भने महंगो छ । यसमा स्थानीय सरकारको ध्यान पुगेको छैन । ध्यान जानुपर्छ, पर्दथ्यो ।

सिमलतार गाउँ माओवादीहरुको द्वन्द्वात्मक युद्धकालमा आधार शिविरको स्थल थियो । त्यहाँ बसेकाहरु बसाई सरेर आएका व्यक्तिहरुको बाहुल्यता छ । उनीहरुमध्ये धेरैजसो व्यक्तिहरुले ऐलानी पर्ति जमिन चर्चेका छन् । कतिपयले खेलकुद विकास समिति दाङको नाममा दर्ता भएको जग्गामा घरबास बनाएर जग्गा चर्चेका छन् । उनीहरुलाई माओवादीले बसालेको सुनाउँछन् । जग्गा खरिद बिक्री आपासमा गरेका छन् ।

त्यहाँ भएका गौरचण, चरित्र क्षेत्रहरु, वन इलाका समेतमा सुकुम्बासी आयोगको आडमा जग्गा चर्चेका व्यक्तिहरुको ठूलो जमात छ । माओवादीको आधार शिविर भएका बखत जग्गा कब्जा गरेको त्यहाँका गाउँहरुले सुनाउँछन् । गरिब र विपन्न वर्गलाई जग्गा लालस देखाएर आश्वासन पाएको भनाइ उनीहरुको छ । यसतर्फ स्थानीय सरकारको ध्यान पनि गएको छैन ।

सुकुम्बासी आयोग खारेज भएपछि उनीहरुलाई चिन्ता बढेको छ । माओवादी एमालेको सरकार भएर नेकपा बनेको समयमा कब्जा गरेको जग्गाहरु अब दर्ता होला भन्ने सोचाई उनीहरुमा थियो । तर ५ वर्ष पनि सरकार टिक्न सकेन र दुबै दलहरु अलग–अलग अस्तित्वमा आए । तैपनि उनीहरुको आशा पलाएन । सित्तैमा जग्गा जमिन पाइने आशा मर्दैछ ।

वडा नं. १ को भौगोलिक विकटतालाई हेर्दा अहिले सुधार भए पनि पक्की सडकहरु, सिचाइका पक्की कुलाहरु एकघर एक धारा खानेपानीको सुव्यवस्था, सबै गाउँहरुमा विद्युत सेवा, स्वास्थ्य सेवा, विद्यालयहरुको स्तरोन्नति गरेर गुणकारी स्तरीय शिक्षाको व्यवस्था गर्न गराउन बाँकी छ । यी कामहरु पूरा भएमा सिमलताराले नयाँ रुप फर्नेछ ।

समृद्धिको बाटो पकड्ने थियौँ भन्छन्– गाउँलेहरु । करिब २० हजार जनसंख्या भएको गाउँवस्ती भए पनि बालबालिका, बृद्धबृद्धाहरुको संख्या ५० प्रतिशत छ । काम गर्न सक्नेहरु भारतीय भूमिमा रोजगारीका लागि जान्छन् । यिनीहरुमा भूमिहीन वर्गको संख्या ७० प्रतिशत हाराहारीमा पर्छ । श्रेष्ता भएका जग्गामा घरबास बनाएका छन् ।

भारतीय भूमिबाट कमाएर ल्याएको पैसाले खाद्य खरिद र लुगाफाटो जोर्ने काममा खर्च गर्छन् । यो अवस्था हेर्दा गाउँलेहरुले खान–लगाउनका लागि भारतीय भूमिमा रोजगारी गर्छन् भन्ने बुझिन्छ । यहाँका गाउँलेहरुको समस्या नै छाक, बास, लुगालत्ता, शिक्षा, स्वास्थ्यमा धेरै कमजोर अवस्था छ । रोजगारीका लागि तड्पिरहन्छन् । भारतीय भूमिबाट कमाएको धन–पैसाले घरखर्चमा सकिन्छ । उनीरुको मुख्य समस्या स्वदेशमा रोजगार बन्न नसक्नु हो ।

सिमलतारा सरकारी र गैरसरकारी पहुँच बाहिर छ । यो गाउँको उत्तर र पूर्वमा बंगलाचुली गाउँपालिका पर्छ । दक्षिणमा बबई नदी र चुरेपहाडका जडाहरु छन् । पश्चिममा वडा नं. २ का गाउँहरु छन् । यस गाउँबाट सडकहरुको विस्तार भएमा घोराही बजारदेखि चैतेडाँडाको प्यूठान जोड्ने सडकले चैतेडाँडा छुने थियो । गाउँलेहरुमा चेतनाकरण हुने थियो ।

सिमलतारा गाउँले शहरी रुप धारण गर्ने थियो । बजारको सुप्रबन्ध हुने थियो । मानिसहरुमा स्वरोजगारको वातावरण बन्ने थियो । खाद्य आपूर्ति गर्न सहज हुने थियो । यहाँ दलित वर्गको जनसंख्या धेरै छ । जुन वर्ग गरिबीको चपेटामा छन् । उद्योग, व्यवसाय र रोजगारको अभावमा भारतीय मालिकहरुका बफादार नोकर बन्न बाध्य भएका छन् ।

सुकुम्बासी आयोग गठनपछि रमाएका सिमलतारा गाउँवासीहरु उक्त आयोग खारेज भएपछि निराश बनेका छन् । त्यस्ता वर्गका मान्छेहरुले भन्छन्– ऐलानी पर्ति बाँझो जमिनमा बसेका मानिसहरुका नाममा जुन दलले जग्गा दर्ता गरिदिन्छ त्यस दललाई पछ्याउने इशारा गर्छन् । शर्त सुनाउँछन् । अर्काथरि नागरिकहरुले हिजोका दिनमा खेलकुद विकास समिति दाङको नाममा दर्ता श्रेष्ता भएको जग्गामा माओवादी दलले कब्जा गराएर बसालेका वर्गले भन्छन्– माओवादीको आधार शिविर खडा गरेर कब्जा गरेको जग्गा पनि माओवादी सरकारमा बस्दा दर्ता श्रेष्ता हाम्रा नाममा भएन ।

हामीलाई भुलाउने र झुलाउने काममात्र भयो । अब दलहरुको विश्वास गर्नु भएन । अहिले सबै नागरिकहरुको भनाइ छ कि खेलकुद विकास समिति दाङका नाममा दर्ता श्रेष्ता भएको जग्गा जमिनलाई व्यक्तिका नाममा दर्ता हुन्छ कि हुँदैन ? जग्गा जमिन मानिसहरुको जीवनसँग जोडिएको छ । उक्त जग्गामा पक्की घर बनेका छन् ।

जग्गाको उब्जनीले जीवन धानेको छ । यसले के देखाउँछ भने राजनीतिक दलको पुच्छरे भएमा व्यक्तिगत फाइदा लिन सकिन्छ । धन कमाउन सकिन्छ । ठूलोठालु मान्छे बन्न सकिन्छ । गणतन्त्रले नागरिकहरुलाई प्रदान गरेका धेरै आधारहरु यस्तै यस्तै छन् । यसैमा नागरिकहरु भुलेका छन्, झुलेका छन् ।

सिमलतारामा दलको पछि लागेर जग्गा कमाउधन्दामा भएका व्यक्तिहरु धेरै छन् । माओवादीहरुको द्वन्द्वकालमा आधार शिविर ब नाएका नागरिकहरु निराश छन् । राजनीतिका नेताहरु स्वार्थी, अवसरवादी र व्यक्तिगत फाइदामा रमाउने हुँदा रहेछन् । नेताहरु सुख, सुविधामा रमाउँछन् । त्यसैका लागि राजनीति गर्दा रहेछन् । सत्तामा पुगेपछि मत्ताहात्ती बन्दारहेछन् ।

आधारविनाको सिद्धान्त, ज्ञानविनाको सीप र व्यक्तित्वविनाको आदर्शता नेपाली नेताहरुमा पाइन्छ । नागरिकहरुलाई शान्ति, सुरक्षा र अपराधीहरुलाई कानुनी उपचार चाहिएको छ । बुद्ध जन्मेको देशमा सिद्धार्थ गौतमले दिएका उपदेशहरुको पालना नेताहरुमा हुनुपर्छ । अहिलेसम्मको अवस्थामा कुन दलको नेताले अनुयायी पाठ पढ्न सक्यो ? र सिकाउन सक्यो ?

नेताहरु आफ्ना दलमा खेल मैदानविनाका भकुण्डो बनेका छन् । नागरिकहरुलाई रमिते ठान्छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सिमलतारालाई हेर्दा रंग खुइलेको कपडाको स्वरुप देखिन्छ । सुन्दर नारीको निधारमा रातो टीका नभएको नारीजस्तो सिमलताराको झल्को छ ।