निर्वाचन अधिकृतको कार्यालयमै मत गणना

गोरक्ष समाचारदाता
तुलसीपुर, ३० वैशाख । तुलसीपुरमा तीन स्थानमा मत गणना हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमै मत पेटिका भण्डारण र मत गणनाका लागि समेत गरेर चारवटा कोठा निर्धारण गरिएको छ । जसमध्ये साढे तीनसय मतपेटिका अट्न सक्ने क्षमताको एउटा कोठा र मतगणनाका लागि तीनवटा कोठा तयारी अवस्थामा राखिएको साहयक निर्वाचन अधिकृत ढकबहादुर रावतले जानकारी दिएका छन् ।

मत गणना स्थलमा आवाज रेकर्ड हुने आधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको छ भने मतपत्रलाई सुरक्षित राख्न पाँच फिटको ग्याबिन जाली लगाइने साहयक निर्वाचन अधिकृत रावतले बताए । उम्मेदवारका एजेन्टहरू जालीभन्दा बाहिर नै बस्नुपर्ने छ । तुलसीपुरमा भइरहेको मतगणना र कुन मतपत्रमा कुन चिह्नमा छाप लगाएको छ भन्ने कुराको समेत काठमाडौंमा रहेको निर्वाचन आयोगले सिधै हेर्न मिल्ने गरी सिसी–क्यामरा जोडिएको छ ।

तुलसीपुर उपमहानगरालिका क्षेत्रमा एक सय १९ मतदान केन्द्र र ३३ मदान स्थल तोकिएको छ । जहाँ एक लाख सात हजार ६ सय ७७ मतदाता संख्या रहेको छ । जसमध्ये ५२ हजार एक सय ३३ पुरुष र ५५ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् ।